रौतहटको सबैभन्दा ठूलो उद्योग बन्द

२०७७ श्रावण १२ सोमबार ०७:४२:०० मा प्रकाशित

रौतहटको सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेड बन्द भएको छ । आइतबार उद्योगको तर्फबाट सूचना प्रकाशित गरी उद्योग व्यवस्थापनको साउन ९ को निर्णय अनुसार साउन ११ बाट स्थायी रुपमा उद्योग बन्द गरिएको जनाएको छ । निरन्तर घाटामा गएको भन्दै ११ साउनदेखि स्थायी रुपमा उद्योग बन्द गरिएको जनाएको छ ।

दुई दशक पहिले स्थापना भएको उद्योग संचालन भएको सुरुका केही वर्ष नाफामा रहे पनि त्यसपछिको समयमा निरन्तर घाटामा गएको र आ.व.२०७५/०७६ सम्म उद्योगले २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७६ रुपैयाँ घाटामा गएको जनाएको छ ।

अरबौँ रुपैयाँ घाटामा गएको, उखु किसानलाई पनि करोडौँ तिर्न बाँकी रहेको तथा उद्योगमा कार्यरत श्रमिक–कर्मचारीको तलब भुक्तानीमा समस्या रहेको भन्दै उद्योग जर्जर अवस्थामा पुगेर बन्द गर्नु परेको उद्योग व्यवस्थापनको तर्क रहेको छ । हरेक वर्ष करोडौँ घाटामा रहेको उद्योगले श्रमिक–कर्मचारीलाई न्युनतम तलब–भत्ता दिन पनि अभाव रहेको व्यवस्थापनको सूचनामा जनाइएको छ ।

उद्योगमा चरम आर्थिक अभाव रहेकोले उद्योगको चल अचल सम्पत्ति बिक्री गरेर श्रमिक–कर्मचारीको बाँकी तलब–भत्ता भुक्तानी गर्ने र कम्पनीको नाममा रहेको श्रीसम्पत्ति बिक्रीको लागि सरकारसित अनुमति लिने प्रक्रियामा उद्योग गरेको पनि जनाइएको छ । उद्योगको श्रीसम्पत्ति बेचेर उखु किसानलाई पनि भुक्तानी दिइने व्यवस्थापन पक्षको भनाइ रहेको छ ।
(नागरिक न्युजबाट)

ताजा खबर