स्वास्थ्य सामाग्री खरिद र सेक्युरिटी प्रिन्टिङ प्रेसबारे छानबिन भइरहेको छ : अख्तियार प्रमुख आयुक्त

२०७७ श्रावण १२ सोमबार ०६:४५:०० मा प्रकाशित

काठमाडौँ — कोभिड- १९ नियन्त्रण, रोकथाम तथा उपचारका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले जानकारी दिएका छन् । स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी बिजनेस प्रालीलाई दिएको विषयमा अख्तियारमा उजुरी परेको र त्यसबारे विस्तृत छानबिन भइरहेको उनले जनाएका हुन् । 

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख आयुक्त घिमिरेले भने, 'ओम्नीबारेको विषय विस्तृत अनुसनन्धानमा गएको छ । बयान सुरु गरिएको छ ।' यसबारेमा छानबिन र अनुसन्धान गर्ने क्रममा लकडाउनको समय परेकाले अप्ठ्यारो भएको पनि उनले बताए । 'लकडाउनका कारणले तथ्य संकलनमा बाधा भएको थियो,' घिमिरेले भने । अख्तियारले लकडाउनका क्रममा कार्यालय बन्द नगरे पनि काममा अप्ठ्यारो आएको उनको भनाइ थियो । पछिल्लो समय नियमित रूपमा कार्यालय अगाडि बढेको र भ्रष्टाचार तथा आर्थिक अनियमितताका उजुरीमाथि छलफल भइरहेको जानकारी दिए ।

ओम्नीलाई स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेर आर्थिक अनियमितता भएको तर अख्तियारले भने मौनता साँधेको सांसदहरूको भनाइ थियो । नेकपा सांसद पम्फा भुसालले महामारीका बेला स्यानिटाइजर र मास्कमा कमिसन खानेलाई कारबाही गर्नुपर्ने बताइन् । ओम्नीलाई स्वास्थ्य सामग्री खरिदका लागि मन्त्रीले स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई दबाब दिएको उनको भनाइ थियो । विभागका तत्कालीन महानिर्देशक ओम्नीले स्वास्थ्य सामग्रीको पहिलो लट ल्याएपछि ठेक्का रद्द गरेको र धरौटी जफत गर्ने भनेको तर संसदको सार्वजनिक लेखा समितिमा भने मन्त्रिपरिषद्ले भुक्तानी दिने निर्णय गरेको भनेर बताएकाले अख्तियारले उक्त विषयमा छानबिन गर्नुपर्ने बताइन् ।

कांग्रेस र नेकपाका अन्य सांसदहरूले पनि महामारीका बेला स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको तर अख्तियारले त्यसमा छानबिन गरिरहेको छ कि छैन भन्ने जानकारी नभएको भन्दै जिज्ञासा राखेका थिए ।

प्रमुख आयुक्त घिमिरेले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा पनि अनुसन्धान जारी रहेको जानकारी दिए । 'सेक्युरिटी प्रेसको बारेमा हामीले बयान लिइरहेका छौं,' घिमिरेले भने ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालीन संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनुपरेको थियो । उनले खरिदकर्ता कम्पनीका एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको थियो । कांग्रेस सांसद देवेन्द्रराज कँडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा मन्त्रीले नै राजीनामा दिएको अवस्थामा पनि अख्तियारले के गरिरहेको छ भन्ने सार्वजनिक नभएको भन्दै प्रश्न गरेका थिए ।

'साना माछा मात्रै समातेको' भनेर अख्तियारको आलोचना भइरहेको भन्दै प्रमुख आयुक्त घिमिरेले उजुरी परेमा कसैलाई नछोड्ने बताए । उनले राज्यको एक रूपैयाँ पनि अनियमितता गर्ने व्यक्ति अख्तियारको नजरमा भ्रष्टाचारी भएकाले कसैलाई नछोड्ने बताए । उनले मन्त्री र सचिवले घुस लिएको भन्ने उजुरी परेमा अख्तियारले छानबिन गर्ने बताए ।
(कान्तिपुर अनलाइनबाट)

 

ताजा खबर