राप्रपाका ३१ नेताको संयुक्त राजीनामा : कांग्रेस प्रवेश गर्ने तयारी !

२०७७ श्रावण ११ आइतबार ०८:४६:०० मा प्रकाशित

शनिबार साँझ संयुक्त रुपमा राजीनामा दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताले नेपाली कांग्रेस प्रवेश गर्ने तयारी गरेका छन्। यही साता कांग्रेस प्रवेश गर्नेगरी तयारी भइरहेको राप्रपा छोडेका नेता किरण गिरीले जानकारी दिए।  नेता गिरीले कांग्रेस प्रवेश गर्ने विषयमा लामो समयदेखि छलफल भइरहेको स्वीकार गरेका छन्। 

कांग्रेसका एक नेताले मंगलबार नै राप्रपा छोडेका नेतालाई पर्टीमा स्वागत गर्ने बताए। ‘राप्रपाबाट राजीनामा दिएका  नेताहरु मंगलबार कांग्रेस प्रवेश गर्नुहुन्छ’, कांग्रेसका ति नेताले भने, ‘पार्टी कार्यालयमा विशेष कार्यक्रम गरेर स्वागत गर्छौँ।’ 

यता राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको छोराले आफ्नै बुवाले स्थापना गरेको पार्टी छोडेर गम्भीर भूल गरेको बताए। उनले पार्टीले राष्ट्रवादी शक्ति निर्माणको पहल गरिरहेको र त्यसमा असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्ने बताए। 

‘यो सन्दर्भमा पार्टीमा छलफल हुन्छ। उहाँहरुले ठूलो राजनीतिक भूल गर्नुभएको छ। देशमा राष्ट्रवादी शक्ति निर्माणका लागि हाम्रो पार्टी लागि परेको छ’, नेता श्रेष्ठले भने, ‘राष्ट्रवादी शक्ति निर्माणका निम्ति असन्तुष्ट पक्षलाई पनि समेटेर अघि बढ्छौँ।’  

शनिबार पार्टीका तीन अध्यक्षलाई संयुक्त राजीनामा पत्र लेख्दै राप्रपाका नेताहरुले संयुक्त राजीनामा दिएका हुन्। ३१ नेताले राजीनामा दिएको बताइए पनि राजीनामा पत्रमा भने १९ नेताको मात्र नाम समेटिएको छ। 

संयुक्त राजीनामा पत्रमा पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको निधनपछि पार्टीले सवल नेतृत्व, सैद्धान्तिक र वैचारिक मान्यता गुमाएको आरोप लगाइएको छ। 

‘पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको निधन पश्चात् पार्टीले सवल नेतृत्व मात्रै गुमाएन, पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा पनि विचलन देखा परेको  छ’, राजीनामा पत्रमा भनिएको छ, ‘संविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि  संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको छ। ’ 

स्वार्थ र परिस्थिति अनुकुल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको उनीहरुको भनाइ छ। 

‘संस्थापकहरुको सपनामा पनि आघात पुगेको छ’, राजीनामा पत्रमा थप भनिएको छ, ‘राप्रपाको द्वेध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले निराशाजनक पराजय भोग्नुपरेको थियो।’

पार्टीको प्रतिबद्धता र आम जनमत विपरित पार्टी गएकोमा हामीले विगतमा निरन्तर खबरदारी गर्दा पनि सुनुवाइ नभएपछि पार्टी छोड्नु परेको राजीनामा पत्रमा उल्लेख छ। 

‘हामीले यस सन्दर्भमा आफ्ना धारणा निरन्तर राख्दै आयौँ र नेतृत्व जनमतको प्रतिकुल दिशामा सहभागी भइरहेपछि हामी जनमतको अपमान हुने कार्यमा साथ दिन नसक्ने निष्कर्षमा पुगेका छौँ’, राजीनामा पत्रमा थप भनिएको छ, ‘उदार प्रजातन्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्दतिका पक्षमा निरन्तर रहने गरि हामी आजका मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गर्दछौं।’ 

श्रीमान् त्रय अध्यक्षज्यू
राष्ट्रिय प्रजातन्त्र पार्टी
केन्द्रीय कार्यालय, काठमाडौं

विषय : संयुक्त राजीनामा ।

 महोदय,
तीन दशकअघि मुलुकमा राप्रपा स्थापना हुँदा राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा एउटा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने र राजनीतिक परिवर्तनलाई आत्मसात गरेर मुलुक र जनताको आकांक्षा सम्बोधन गर्ने लक्ष्यका साथ हामी राप्रपामा आबद्ध रही क्रियाशील रहँदै आएको सर्वविदितै छ । पार्टीले संस्थापक अध्यक्ष स्व. सूर्य बहादुर थापाको नेतृत्वमा उदार प्रजातान्त्रिक दृष्टिकोण एवं परिवर्तनलाई आत्मसात् गर्ने नीतिको अनुशरण गर्दा राप्रपा कुनै समय देशको तेस्रो ठूलो दल तथा सही अर्थमा बैकल्पिक प्रजातान्त्रिक शक्ति भएको तथ्य पनि हाम्रा सामू जग जाहेरै छ ।

राप्रपाले मुलुकमा समय समयमा भएका परिवर्तनलाई सहजताका साथ आत्मसात् गर्दै अग्रगामी मार्ग अवलम्बन गर्दै आएको थियो । राप्रपा समय समयका टुटफूट र गूटका निरन्तर श्रृंखलाहरु पार गर्दै  पहिलो तथा दोस्रो संविधानसभा निर्वाचनमा निशर्त सहभागी बन्यो । दोस्रो संविधानसभाले निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा पार्टी सक्रिय सहभागी भएको र त्यसको अपनत्व र स्वामित्व लिँदै संविधान कार्यान्वयनका लागि गणतान्त्रिक संविधान अन्तर्गत गठित सरकारहरुमा सहभागी हुँदै आएको हो । यसरी राप्रपा परिवर्तनको प्रबाहमा समाहित हुँदै प्रजातान्त्रिक मूल्य र मान्यताको अडानमा स्पष्टरुपमा उभिँदै आएको सर्व विधितै छ ।

तर, पार्टीका संस्थापक अध्यक्ष सूर्य बहादुर थापाको निधन पश्चात् पार्टीले सवल नेतृत्व मात्रै गुमाएन, पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा पनि विचलन देखा परेको  छ । जसका कारण पार्टी दिशाहिन बनेको छ । संविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि  संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको छ । स्वार्थ र परिस्थिति अनुकुल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हँुँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको मात्र छैन, संस्थापकहरुको सपनामा पनि आघात पुगेको छ । राप्रपाको द्वेध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले निराशाजनक पराजय भोग्नुपरेको थियो ।

भागबण्डा मिलाएर पार्टी एकता पछि पनि त्यही अस्पष्ट दृष्टिकोण कायम छ भने एकतापछिको सचिवालय कार्य व्यवस्था समिति सहित विभिन्न निकायको गठनमा समावेशीतालाई पुरै वेवास्ता गरिएको छ । पार्टीको सबैभन्दा महत्वपूर्ण समितिमा महिला, मधेशी, थारु र दलितको प्रतिनिधित्व हुन सकेको छैन । मधेशी समुदायको प्रतिनिधित्वलाई उपेक्षा गरिएको छ । एकता पश्चात बनेको केन्द्रिय कार्य समितिमा लामो समयदेखि केन्द्रीय कार्य समितिमा रही योगदान पु¥याएका महत्वपूर्ण साथीहरुलाई समेत समावेश नगरिएको तथ्यले समितिहरुको गठनमा क्षेत्रगत असन्तुलन र विभेद प्रष्टै देखिएको छ । देशको संविधान, कानुन र पार्टीको विधानले निर्दिष्ट गरेको समावेशी सिद्धान्तको पालना भएको छैन भने कैयौं जिल्लालाई केन्द्रिय प्रतिनिधित्वबाट नै वञ्चित गरिएको छ ।

पार्टी, संस्थापकहरुले देखाएको सपना, परिवर्तनप्रति पार्टीको प्रतिबद्धता र आम जनमत विपरित पार्टी गएकोमा हामीले विगतमा निरन्तर खबरदारी गर्दै आएको पार्टी पंक्ति जानकार नै छ । तर पार्टी नेतृत्व पुनः ढुलमुले दृष्टिकोणमा अघि बढिरहँदा पार्टी एकीकरणपछि पनि आम आकर्षण नबढेको यथार्थ हो । हामीले यस सन्दर्भमा आफ्ना धारणा निरन्तर राख्दै आयौँ र नेतृत्व जनमतको प्रतिकुल दिशामा सहभागी भइरहेपछि हामी जनमतको अपमान हुने कार्यमा साथ दिन नसक्ने निस्कर्षमा पुगेका छौँ । उदार प्रजातन्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्दतिका पक्षमा निरन्तर रहने गरि हामी आजका मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गर्दछौं ।

अन्त्यमा, नेतृत्व वर्ग र समग्र पार्टी पंक्तिबाट विगतमा प्राप्त भएको सद्भाव प्रति हामी कृतज्ञता जनाउन चाहन्छौँ । लामो समयसम्म पार्टीका विभिन्न तह र तप्कामा रही प्रतिकुल तथा अनुकुल समयमा हामीलाई साथ र सहयोग गर्नुहुने सम्पूर्ण साथीभाइहरुमा हार्दिक आभार व्यक्त गर्दछौं । धन्यवाद,
सि.नं.
नाम, थर  जिल्ला हालको पद  हस्ताक्षर
१ सुनिल बहादुर थापा  धनकुटा उच्च स्तरिय कार्य सम्पादन समिति सदस्य एवं पूर्व महामन्त्री, राप्रपा, (पूर्व मन्त्री उद्योग वाणिज्य)
२ विष्णु विक्रम थापा  सिन्धुपाल्चोक  उच्चस्तरिय कार्य सम्पादन समिति सदस्य, राप्रपा, पूर्व गृह राज्य मन्त्री   
३ बाबुराम बस्नेत भोजपुर उच्चस्तरिय कार्य सम्पादन समिति सदस्य एवं सचिवालय सदस्य, राप्रपा
४ बृजलाल यादव बारा उच्चस्तरिय कार्य सम्पादन समिति सदस्य एवं पूर्व सहायक महामन्त्री  
५ पदम बहादुर बस्नेत धनकुटा केन्द्रीय सदस्य, पूर्व जिल्ला सभापति धनकुटा  
६ किरण गिरी  काठमाडौं  केन्द्रीय सदस्य एवं प्रवक्ता, राप्रपा  
७ दिलिप राई  झापा  केन्द्रिय सदस्य
८ आशाराम चौधरी कैलाली केन्द्रीय सदस्य
९ चन्द्र कुमार घुण्डे गुरुङ संखुवासभा  केन्द्रीय सदस्य, राप्रपा  
१०  श्रीमती राज्य लक्ष्मी श्रेष्ठ नुवाकोट संविधान सभा सदस्य 
११  चतुरमान विश्वकर्मा  झापा  केन्द्रीय सदस्य
१२  राम पदारथ शाह  सर्लाही केन्द्रीय सदस्य
१३  बिरेन्द्र लाल कर्ण  धनुषा  पूर्व केन्द्रिय सदस्य   
१४  नारायण राउत  भोजपुर पूर्व केन्द्रिय सदस्य   
१५  इन्द्र बहादुर तामाङ्ग सिन्धुपाल्चोक  पूर्व जिल्ला अध्यक्ष, जिविस उपसभापति
१६  राज कुमार भट्टराई सिन्धुपाल्चोक  पूर्व जिल्ला अध्यक्ष, शिक्षक परिषद  
१७  डम्बर बहादुर राई भोजपुर महाधिवेशन प्रतिनिधी 
१८  माधव पौडेल सिन्धुपाल्चोक  जिल्ला कार्य समिति सदस्य  
१९  अर्जुन विक्रम थापा  सिन्धुपाल्चोक  पूर्व गाविस अध्यक्ष

एउटा निर्मम राजनीतिक निर्णय :-
बिगत - ३० बर्ष देखिको त्याग ,तपस्या लगानी र योगदानका तिलान्जली दिदै अध्यक्ष त्रयको रबैयाको कारण ,सैधान्तिक ,नितिगत , बैचारिक बिमतिका साथ  राप्रपाको सबै तहको पद र जिम्मेवारी बाट अलग रहने घोषणा गर्दछु । यो विषम परिस्थिति ल्याउन सक्रिय भुमिका खेल्नु भएका  अध्यक्ष त्रयमा धन्यवाद ।। 
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर