युवा नेताको बोली, 'गुटले कांग्रेस कमजोर, हामी पनि उस्तै भयौं'

२०७७ श्रावण ११ आइतबार ०७:२४:०० मा प्रकाशित

युवा नेताले साथ दिने हो भने म सभापति लड्न तयार छु : गगन थापा

घर-समाजका लागि पद र पदका लागि गुटमा लाग्नुपर्ने अवस्था छ : सुरेन्द्र पाण्डे

काठमाडौँ — कांग्रेसका युवा नेताहरुले बदलिँदो समाजको चाहना अनुसारको एजेण्डा पार्टी नेतृत्वले समयमै बोक्न नसक्दा कांग्रेस राष्ट्रिय राजनीतिबाट खुम्चिँदै गएको बताएका छन् । पार्टीको महाधिवेशन आउँदै गर्दा संगठन, विचार र एजेण्डामा नभएर पार्टीको नेतृत्वको बिषयमा मात्रै छलफल हुने गरेको उनीहरुको भनाई छ ।

कांग्रेसलाई नेपाली राजनीतिमा भरोसायोग्य पार्टी बनाई राख्नका लागि भन्दै प्रजातान्त्रिक विचार समाजले शनिबार कांग्रेसका १३ जना युवा केन्द्रीय सदस्यहरुलाई एउटै मञ्‍चमा राखेर अर्न्तक्रिया गरेको थियो । जसमा युवा नेताहरुले पार्टीको भूमिका कमजोर बन्दै जानुमा आफूहरुमाथि पनि प्रश्न उठ्ने बताएका थिए ।

कार्यक्रममा नेताहरु चन्द्र भण्डारी, एनपी सावद, गगन थापा, नविन्द्रराज जोशी, सुरेन्द्र पाण्डे, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, धनराज गुरुङ, पुष्पा भूषाल, बद्री पाण्डे, कमला पन्त, जीवन परियार, किरण यादव सहभागि थिए ।

केन्द्रीय सदस्यहरूअघि प्राध्यापक एवं विश्लेषक कृष्ण खनालले कांग्रेसलाई डिलमा बसेर हेर्ने हो भने राष्ट्रिय राजनीतिमा कांग्रेसको सान्दर्भिकता नभएको महशुस हुने बताएका थिए । यस्तो अवस्था आउनुमा २००७ र २०१५ सालकै पुरातन शैलीमा पार्टी चल्नुलाई उनले मुख्य कारण मानेका छन् । परिवर्तित समाजको एजेण्डा र बिचार बोक्न नसकेको पार्टीको रुपमा कांग्रेसलाई उनले चित्रण गरे । सरकारका अर्कमण्यता र भ्रष्ट्राचारविरुद्ध बोल्ने नैतिक धरातलसमेत नेतृत्वको गुमाएकाले पनि कांग्रेसको अस्तित्वको संकट आएको खनालको भनाई थियो ।

‘ठूलो पार्टी, ठूलो नेता भनेर भाषण गर्दैमा अघि पुगिदैन, जनतासँग जोडिन सकेन भने त्यो पार्टी असान्दर्भीक हुन्छ,’ खनालको भनाई थियो,‘कांग्रेस २०१५ र २०१७ सालकै सनातनी शैलीबाट अघि बढ्न नसक्दा कांग्रेसको भूमिका खुम्चिँदै गएको छ ।’

खनालको टिप्पणीपछि धारणा राख्न सुरु गरेका युवा नेताहरुले एजेण्डा, विचार र कार्यक्रमलाई बोक्ने सक्षम नेतृत्व पार्टीमा नभएको टिप्पणी गरेका थिए । कार्यक्रममा नेपाल शिक्षक संघका पूर्व अध्यक्ष समेत रहेका मोहन ज्ञवालीले कांग्रेसको पहिचान गुमेको भन्दै एउटा नाडीमा पूर्व एमाले, अर्को नाडीमा पुर्व माओवादी र मुटुमा राप्रपाको गन्ध आउन थालेको बताएका थिए । अहिले भएजस्तै बिचार र नीतिबिनै पार्टी चलाउने गरी नेतृत्वको मात्रै कुरा गर्ने हो भने शेरबहादुर देउवा र गगन थापा जो सभापति भए पनि फरक नपर्ने टिप्प्णी उनको थियो ।

बोल्ने युवा नेताहरुले पार्टी कमजोर बन्नुका पछि गुटबन्दीलाई प्रमुख कारण मानेका थिए । गुटलाई भत्काउनका लागि युवाहरुको भूमिका समेत कमजोर भएको उनीहरुले स्वीकारेका थिए । ‘राजनीतिमा ट्याक–टुक मिलाएर पार्टीमा हावी हुने तर विचार, संगठन र कार्यक्रमतिर पटक्कै ध्यान नदिने प्रवृति पार्टीमा विकास भएको छ,’ जोशीले भने, ‘नेकपाले मुलुक नै कब्जा गरिसक्दा पनि हामी र हाम्रा नेताहरु आपसमा लडिरहेका छौं ।’

पार्टी कमजोर हुनुका पछि युवा नेताहरुको भूमिकामाथि प्रश्न उठाइएको थियो । युवा नेताहरु पनि नेताहरुकै फेर समातेर गुटबन्दीको शिकार बन्न थालेको भन्दै कार्यक्रममै आपसमा घोचपेच समेत भएको थियो ।

कार्यक्रममा उपस्थित युवा नेताहरुले साथ दिने भए आफू सभापतिकै लागि उम्मेदवार बन्न तयार भएको गगन थापाले बताए । ‘हामीमध्ये तपाईंहरु कसैले हिम्मत गर्नुहुन्छ भने पनि ठीक छ, म सहयोग गर्छु । मलाई सहयोग गर्ने हो भने म अघि बढ्न तयार छु,’ थापाले भने,‘१३ औं महाधिवेशनका बेलाको जस्तै हुन भएन ।त्यतिबे ला पनि यस्तै छलफल हुन्थे । सहयोगको कुरा हुन्थ्यो । तर, पछि रत्नपार्कमा एक्लै भोट माग्दै हिँड्न पर्‍यो ।’ थापा १३ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार थिए ।

उनले १४ औं महाधिवेशनमा जो सभापति भए पनि आगामी निर्वाचनमा पार्टी पराजित भएमा राजीनामा दिने परम्परा बसाल्न घोषणापत्रमा लेख्न सकिए ठूलो उपलब्धि हुने बताए ।

नेता भण्डारीले राष्ट्रियताको मुद्दा आउदा पार्टी केन्द्रीय कार्यसमितिको बैठक नै मौनधारणाजस्तो हुने गरेको प्रसंग उल्लेख गरे । ‘राष्ट्रियता र भारतको एजेण्डामा बैठकमा कोही बोल्न खोज्दैन्, अनि कसरी कांग्रेसले जनता र समाजको एजेण्डालाई बोक्न सक्छ ?’ उनले भने,‘अहिले सबै पार्टीमा युवा नेताहरुको भूमिका कमजोर बनेको छ ।’

कार्यक्रममा नेता सुरेन्द्र पाण्डेले विवेकको राजनीतिले समाज, परिवार र पार्टीमा सुरक्षित हुन नसकिने अवस्था रहेको बताए । ‘पद विना घर, समाज र पार्टीमै पनि बाँच्न गाहो छ । पदका लागि गुटमा लाग्नुपर्ने अवस्था छ,’ उनले भने,‘हाम्रो राजनीतिक संस्कार नै नेताले थमाइदिएको चिटअनुसार मत हालेर नेतृत्व छानेका छौं । यसको अन्त्य नभएसम्म विवेकको राजनीति चल्न गाह्रो छ ।’

कांग्रेस प्रवक्तासमेत रहेका युवा नेता विश्वप्रकाश शर्माले सभापति कसलाई बनाउने भन्नेबारे चर्चा हुने तर संगठन कस्तो बनाउने भन्नेबारेमा छलफल नहुने प्रवृतिको विकास हुँदासम्म धेरै आशा गर्न नसकिने बताए । अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरले युवा नेताहरुमा पनि समस्या र प्रश्न रहेको बताए । ‘हामी युवाहरु पनि एउटा गुट समातेका छौं । अर्को गुटलाई कसरी उल्लु बनाएर माथि जाने भन्ने सोच हामीमा पनि छ,’ उनले भने,‘नेताहरुमा भन्दा पहिला हामी आफैं पनि सुध्रिनुपर्ने अवस्था छ ।’
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर