‘यमराजले चाँडै लगेनन् भने कलाकारितामै रमाईन्छ !’- कलाकार दिपकराज गिरी 

२०७४ असार ५ सोमबार १२:५६:०० मा प्रकाशित

 निकै दौडधुपमा हो कि कसो व्यस्त देखिनुहुन्छ नि ?


छक्का–पञ्जा २ को छायाङ्कन अन्तिम चरणमा पुगेको छ । अहिले त्यसको तयारीमा छु । अब तीन महिना मात्र बाँकी छ । अहिले सम्पादनमा लागेको छु । त्यहि हतार छ । त्यसैको व्यस्तता हो । 


तपाई यो क्षेत्रमा मज्जाले जम्नुभयो, कसको प्रेरणाले यता पस्नुभयो ?


मैले बाल्यकालदेखि हेरेका चलचित्रहरु नै मेरा प्रेरणाका स्रोत हुन् । खासमा सानो फुच्चे जसले फिल्ममा हाम फाल्ने हिरो देख्यो । यसो हेर्यो यो त म पनि बन्न सक्छु जस्तो लाग्यो । प्रेरणा पनि त्यसैबाट मिल्यो । स्कूलबाट भाग्ने बहाना पनि त्यसैबाट मिल्यो । कलाकारितामा समर्पित हुने चाहना पनि त्यसैबाट प्राप्त भयो । यसमा प्रवेश गरेको पनि भएछ २५ वर्ष !


यो अवधिमा सन्तुष्टी र असन्तुष्टी पनि भए होलान् ?


यहाँ मेरो लेभलको कलाकार पनि असन्तुष्ट भयो भने सन्तुष्ट चाहिँ को हुने नि ? अब यो क्षेत्रमा सानातिना असन्तुष्टि हुने भनेको जायज कुरा हो । जहाँसम्म आप्mनो पेशागत सन्तुष्टि छ त्यो त आज देशको सर्वस्व पद भनेको प्रधानमन्त्रीको हो, प्रधानमन्त्रीले पनि ‘हैट कस्तो दिनमा राजनीतिमा लागिए छ’ भनेका अवसरहरु धेरै नै होलान् । सम्पूर्ण सन्तुष्टि भनेको त समाप्ती नै हो । केही दुःख, केही खुशी र केही पिडा तर समग्रमा आनन्द भयो भने मात्र मान्छे त्यहाँ जम्छ । मलाई लाग्छ प्रगति भएको मान्छेलाई यदि हेर्यो भने उसले त्यो क्षेत्रमा अवश्य नै रमाईलो गरेको हुन्छ । यदि उसले रमाइलो गरेन भने त्यसको प्रगति पक्कै हुँदैन । एउटी नर्सले बिरामी जाँच्दा हतार गरिन् भने उनको प्रगति कहिले हुँदैन । 


तपाईँ समाजमा कसरी चिनिनु भएको छ, आफैंले मूल्यांकन गर्नुभएको छ कहिल्यै ?


कसैले मलाई खरो वक्ताको रुपमा चिन्छन् । कसैले मलाई खरो टिप्पणीकारका रुपमा चिन्छन् । कतिले यसले एकदमै व्यवहारिक कुरा गर्छ भनेर चिन्छन् । यो त हसाउँने मान्छे हो भनेर मात्र पनि चिन्छन् ।  यसले काम सोचेर गर्छ । यो प्रभाव जमाउन सक्ने मान्छे हो भनेर पनि चिन्छन् । कतिले मित्रको रुपमा  चिन्छन् त कतिले यो सालेको अनुहार नै हेर्न मन लागेको छैन पनि भन्छन् । थरीथरी मान्छेहरुमा मलाई हेर्ने दृष्टिकोण धेरै छ । यही हो मेरो मूल्यांकन । 


तपाईँले त नाम कमाउनु भयो तर तपाईंको अभिनयबाट समाजले चैं के पायो त ?


म मेरो अभिनय मात्र भन्न चाहन्न । मैले भन्नु पर्दा मेरो कलाकारिताबाट भन्नु पर्यो । मेरो कारणले यस्तो भयो । समाज भयङर परिवर्तन भयो भनेर म आफैं आत्मरतीमा रमाउन चाहन्न । किनभने म एकदमै व्यवहारिक छु र मलाई फोस्रो प्रशंसा फिटिक्कै मन पर्दैन । तर यति हो जस्तो के लाग्छ भने जुन क्षेत्रमा मैले योगदान दिएको छु त्यो क्षेत्रमा बाह्य सांस्कृतिक आक्रमण हुने ठाउँमा चाहिं कमसेकम नेपाली संस्कृति नेपाली भाषालाई मर्न  र घुँडा टेक्न नदिनको लागि मैले पनि अलिअलि पसिना बगाएको छु जस्तो लाग्छ । 


तपाईँले बुझेको हाँस्य कलाकारिताको अर्थ के हो ? हाहा हुहु मात्र त हो कि हाँस्य कलाकारिता  ?


हाँस्य मात्र भयो भने त्यो हा..हा हु..हु मात्र हो । हाँस्य भनेको मासु मात्र हो भने त्यसको व्यङग्य नङले छोप्नुपर्छ अनि सुरक्षित हुन्छ । नङ र मासुको सम्बन्ध पछि मात्र बल्ल औंला बन्छ । हाम्रो जस्तो समाजमा तपाईहरु पत्रकारिता गर्नुहुन्छ भने हाँस्यव्यङग्य पनि एउटा स्वस्थकर पत्रकारिता हो जसले यस्तो हुनुपर्छ समाज भनेर भन्दैन तर यस्तो बिकृति छ भनेर प्रष्ट गरिदिन्छ । जसलाई रमाइलो पाराले प्रष्ट गरिन्छ । त्यसकारणले गर्दा यो हा..हा हु..हु मात्र नभईकन एउटा गम्भिर चिज पनि हो । म मेरो पेशालाई उच्च सम्मान गर्छु । संसारको सबैभन्दा उत्कृष्ट पेशा भनेकै हास्यव्यङग्यको पेशा हो । बिशेष गरेर नेपालमा त झन सर्वोत्कृष्ट पेशा हो । अहिले मनोरञ्जनको सतप्रतिशत क्षेत्रमा उपलव्धिको हिसाबमा ७० प्रतिशत हाँस्यले ओगटेको छ । अनिमात्र केही गीत, संगीत र केही मनोरञ्जनका साधनहरु र अरु होलान । 


हाँस्यव्यङग्यले समाजलाई के दियो र के पायो ?


हेर्नुस् , आमाको मायाले के पाइन्छ ? बाबुको मायाले के पाइन्छ ? आमाको मायाले भात पाइएला भने बाबुको मायाले स्ूुल फि । त्यतिमात्र हैन यहाँ अदृश्य चिजहरु धेरै छन् । अदृश्य प्राप्ति, आनन्दित सुख हो । आमासँगको वार्तालाप, बुबासँग बस्दाको सुरक्षितपन भनेको जस्तै केही तत्वहरु छन् जो अदृश्य हुन्छन् र प्राप्त भइरहेका हुन्छन् । हामीलाई सास फेर्न हावा चाहिन्छ । हावाबाट के के चिज पाइन्छ त्यो हामीले देखेका छैनौं । हावा त अदृश्य छ । त्यसैगरी यो हाँस्यव्यङग्य पनि अदृश्य छ । यसले पलपलमा रमाइलो गराइरहेको हुन्छ । समाजमा पिडा छ र त्यो पिडा भएपनि हामीले हसाईदिइ रहेका छौं । भूकम्प भएर मान्छेहरु त्रसित थिए हामीले गाउँगाउँ गएर उनीहरुलाई बिना पैसा हँसाई दिइरहेका थियौं । हामीले उत्तरदायित्व वहन गरेका छौं । त्यसको प्राप्ति सिधा दृश्यको रुपमा नभएर अदृश्य रुपमा हुन्छ । 


तपाईका कार्यक्रम प्रायः युवा केन्द्रित नै लाग्छन्, अहिलेका युवाहरुलाई कसरी हेर्नुहुन्छ ?


युवा भन्दा पनि मेरा दर्शक ती हुन् जो पौढ अवस्थातिर जाँदैछन् । हुन त नेपालमा युवाको परिभाषा नै अनौठो छ । हाम्रो परिभाषामा प्रधानमन्त्री शेरबहादुर देउवा पनि युवा नेता नै हुन् । तर म चाहिँ ३० वर्ष देखि माथीका मान्छेहरुलाई बढि प्रतिनिधित्व गर्छु । अहिलेको युवा पुस्ता सिर्जना, बौद्धिकता र व्यवहारिकताको हिसाबले एकदमै सशक्त छ । एकशव्दमा भन्नु पर्दा अहिलेसम्मकै नेपालको असल पुस्ता हो यो । यो पुस्ताले ठूल्ठूला मै हुँ भन्नेलाई पनि माथ् खुवाउँछ ।   

एउटा व्यक्तिको जीवनमा मनोञ्जनको के अर्थ छ ? 


कसैको जीवन सम्पूर्ण मनोरञ्जनमय हुन्छ भने कसैको जीवन ५० प्रतिशत मनोरञ्जनले ओगटेको हुन्छ । उसको आर्थिक अवस्था, उसको घरपरिवारको अवस्था यी सब चिजमा एउटा व्यक्तिले गर्ने मनोरञ्जनमा भर पर्छ । घरमा त्यस्तो कुनै अप्रिय घटना घटेको छ भने कोही हाँस्न जादैन र मनोरञ्जन गर्दैन । त्यसकारणले मनोरञ्जन भनेको एउटा यस्तो चिज हो जसले सबैभन्दा पहिला मान्छेले आफ्नो जीवनमा राखेको हुन्छ । 


तपाईँले दिने मनोरञ्जन कुन वर्गको हो ?


मेरो सर्वहारा वर्ग हो । हाम्रो लागि खुशीको कुरा के छ भने दिपक—दिपाको टिमलाई बच्चादेखि बुढासम्मले माया गरेका छन् । त्यसकारणले हामीले मनोरञ्जन दिने एउटा वर्ग मात्र छैन । सबै वर्गले हामीलाई माया गर्छन । हामी युवाहरुमा अझ बढि जम्ने कोशिस गरिरहेका छौं ।  


  राजनीति र नेतालाइ धेरै घोचपेच गर्नुहुन्छ, साँच्चै हाम्रो देशमा खराब नेताहरु मात्र छन् र ? राम्रा पनि त होलान् नी ?


हामीले त्यस्तो पनि भनेका छैनांै । एउटा कार्यक्रममा पूर्व स्वस्थ्यमन्त्री गगन थापाजी र म अतिथिका रुपमा परेका थियौं । उहाँले त्यहाँ मलाई भन्नु भयो कि हाम्रा राम्रा कुराहरु पनि देखाईदिनु पर्यो । अनि मैले उहाँलाई भने, तपाई बाहेक अरु नेताहरुलाई पनि राम्रो काम गर्देउ भन्नु न । हामी राजनीति सुध्रियोस् भन्ने चाहन्छौं । हाम्रो कार्यक्रममा नेताहरुका राम्रा कुराहरु पनि देखाइएका हुन्छन् । 


  कलाकारिता क्षेत्रबाट आयाराम, गयाराम हुने धेरै छन् नि ?


यो क्षेत्रमा लागेको २५ वर्ष भयो । अब माथि (मृत्यु) नै गइयो भने त केही भन्न सकिन्न । यत्रो वर्ष काम गरेको हुनाले अब ‘आयाराम गयाराम’ होइँदैन होला । कुनै पनि कलाकार १० वर्ष पुगेपछि आयाराम गयाराम नै हो । मैले २५ वर्ष त खेपिसकें अब भगवानको के चाहना छ कसलाई के थाहा । यमराजले चाँडै लगेनन् भने कलाकारितामै रमाईन्छ !
प्रस्तुति: सुकृत नेपाल 

 
   

ताजा खबर