कम्युनिस्ट नेतृत्व सरकार संविधान र प्रणाली नै समाप्त पार्न लागि परे : उपसभापति निधि

२०७७ श्रावण १० शनिबार ०८:०५:०० मा प्रकाशित

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार संविधानसभाबाट जारी नयाँ संविधान, स्थापित राजनीतिक प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त गर्न लागि रहेको बताएका छन् । नयाँ संविधान, राजनीतिक तथा शासन प्रणाली र लोकतान्त्रिक गणतन्त्रसहित परिवर्ततनको संरक्षणका लागि आगामी निर्वाचन कांग्रेसले जित्नैपर्ने बताएका हुन् । 

आगामी निर्वाचन पनि कम्युनिस्ट पार्टीले जिते संविधान, राजनीतिक प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्ने बताउँदै निधिले भने, ‘संविधान, राजनीतिक प्रणाली र बहुदलीय लोकतन्त्रको रक्षा कम्युनिस्ट पार्टी र सरकारबाट हुनसक्दैन । त्यसको रक्षाका लागि पनि कांग्रेसले चुनाव जित्नुपर्छ ।’ कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार अहिले भएका सबै प्रणाली र संविधान भत्काउन र खारेज गर्न सक्रिय रहेको उनले भने,‘जनताले फेरि उनीहरूलाई नै जिताए भने अहिलेको प्रणाली र संविधान समाप्त हुन्छ ।’ 

पार्टीको १४औं महाधिवेशन संविधानको रक्षा, राजनीतिक प्रणालीको स्थायीत्व र संघीय लोकतान्त्रिक गणतन्त्रसहितको बहुलको संरक्षालाई मुख्य कार्यसूची बनाउनु पर्ने पनि उनले बताए । ‘गुटउपगुट भन्दा माथि उठेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने र प्राप्त उपलब्धीहरूको संरक्षण गर्न महाधिवेशन केन्द्रीत हुनुपर्छ,’ निधिले भने, ‘अहिलेको मुख्य कार्यभार कांग्रेसको यही हो ।’ 

पार्टी नेतृत्वका लागि अहिले नै को उम्मेदवार बन्ने नबन्ने भन्ने समय आइनसकेको बताउँदै निधिले मुलुक र बहुदलीय शासन प्रणाली माथि आइपरेको चुनौतिलाई सामना गर्न महाधिवेशनबाट सर्वसहमतिले नेतृत्व चयन होस् भन्ने आफ्नो चाहना रहेको बताए । त्यस्तो परिस्थिति भएन भने सभापति शेरबहादुर देउवासँगको छलफल गरेर आगामी महाधिवेशनमा आफ्नो भूमिका र्निधारण गर्ने पनि उनले बताए । 

देउवाको विकल्पमा आफुलाई पार्टी सभापतिको स्वभाविक दावेदार भएको बताउँदै आएका निधिले भने, ‘मेरो चाहना पार्टीको आगामी महाधिवेशनबाट सर्वसहमतिले नेतृत्व चयन हो भन्ने नै हो । त्यस्तो परिस्थिति भएन भने शेरबहादुर देउवासँग छलफल गरेर निर्णयमा पुग्छु । अहिले नै बेला भएको छैन ।’
(नागरिक न्युजबाट)

ताजा खबर