बाढी पहिरोले ८८ हजार बढी हेक्टरमा कृषिबालीमा क्षति

२०७७ श्रावण ९ शुक्रबार ०९:५७:०० मा प्रकाशित

काठमाडौं । यो हप्ता आएको बाढी पहिरोले ८७ हजारभन्दा बढी हेक्टर कृषिबालीमा क्षति गरेको छ । खासगरी बाढीपहिरोले नेपालको प्रमुख बालीका रूपमा रहेको धान र मकै बालीमा ठूलो क्षति पु-याएको हो ।

कृषि पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिवहादुर केसीका अनुसार हालसम्म पाँचवटा प्रदेशबाट प्रारम्भिक क्षतिको बारेमा जानकारी आएको छ । प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट प्रारम्भिक क्षतिको जानकारी आएको प्रवक्ता केसीले जानकारी दिए ।

प्रवक्ता केसीका अनुसार सबैभन्दा धेरै प्रदेश नम्बर २ मा बाढीले कृषिबालीमा क्षति गरेको छ । प्रदेश २ मात्र ८७ हजार हेक्टर क्षेत्रफलमा रोपेको धान मकैबाली डुवानमा परेको छ भने १ हजार ९१ पशुपक्षी मरेका छन् । गण्डकी प्रदेशमा १ हजार हेक्टर क्षेत्रफलमा रोपेको धान डुवानमा परेको छ भने ३ सय ९२ वटा पशुपन्छी मरेका छन् । प्रवक्ता केसीले प्रदेश–५ मा १ सय ६५ हेक्टर क्षेत्रफलमा रोपेकोे धानमा र मकै डुबानमा परेको गरी ३ सय ८९ पशुपन्छी मरेको जानकारी आएकोे बताए ।

कर्णाली प्रदेशमा २ सय ५० रोपनी क्षेत्रफलमा लगाएको धान मकैबाली क्षति गरेको छ । यसैगरी कर्णाली प्रदेशमै बाढी र पहिरोले पाँचवटा गाईसमेत मरेको प्रवक्ता केसीले बताए । सुदूरपश्चिम प्रदेशमा ३ सयवटा बोइलर कुखुरा बाढीले क्षति गरेको छ । प्रवक्ता केसीले भने, ‘निरन्तर वर्षाका कारण आएको बाढी पहिरोले कृषि क्षेत्रमा पारेको क्षतिको विवरण अझै आउन बाँकी छ, । ‘विभिन्न जिल्लाबाट क्षतिको विवरण संकलन गर्ने कार्य मन्त्रालयले गरिरहेको छ । अहिले सामान्य विवरण मात्र आएको छ । उनले भने, ‘बाढी र पहिरोले कृषि क्षेत्रमा अहिले ठूलो क्षति भएको विवरण भने आएको छैन ।

सबै क्षेत्रको विवरण संकलन गरी सकेपछि मात्र यकिन क्षति कति भयो थाहा हुन्छ । मन्त्रालयले विभिन्न जिल्लाबाट क्षतिको विवरण संकलन गरी रहेको छ । प्रवक्ता केसीले भने, ‘बागमती प्रदेशमा बाढीले कृषि क्षेत्रमा ठूलो क्षति गरेको सम्भावना छ तर विवरण भने आएको छैन । कर्णाली प्रदेशमा २ सय ६५ हेक्टर क्षेत्रफलमा लगाएको मकैमा सलहले क्षति गरेको विवरण आएको उनले बताए ।

प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले गुल्मीको मुसिकोट नगरपालिकामा ७७ हेक्टर क्षेत्रफलमा रोपेको धानमा बाढीले क्षति गरेको बताए । अन्य क्षेत्रमा बाढीले गरेको क्षतिको विवरण संकलन भइरहेको उनले बताए ।

सुदूरपश्चिम प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता देशी चौधरीले बाढीपहिरोले कृषि क्षेत्रमा अहिले ठूलो क्षति नभएकाले सम्भावना धेरै नै रहेको बताइन् । तराईका विभिन्न ठाउँका खेतका आली कटान गरेको तर ठूलै नोक्सानी भने नपु-याएको उनको भनाइ छ ।

पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम दार्चुलामा बाढीपहिलो कृषि तथा पशुपन्छीमा क्षति गरेको उनले बताइन् । बाढी पहिरोले कृषि तथा पशुपन्छीमा गरेको क्षतिको विवरण संकलन मन्त्रालयले गरिरहेको मन्त्री चौधरीले जानकारी गराइन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर