बस त गुडे, तर यात्रु छैनन्

२०७७ श्रावण ९ शुक्रबार ०७:३९:०० मा प्रकाशित

पोखरा उपत्यकाभित्र विहीबारदेखि सार्वजनिक यातायातका साधन संचालनमा त आए, तर, यात्रु नपाउँदा व्यावसायीले बिचमै सेवा रोकेर गाडी नै ग्यारेजमा थन्काउनुपरेको छ। कोरोना संक्रमणको चारमहिने लकडाउनपछि पोखरामा विहीबारदेखि सार्वजनिक बस चल्न थालेपनि ती सवारीले पहिलो दिन प्रर्याप्त यात्रु पाउन सकेनन्।  

यात्रु नपाउँदा कतिपय व्यावसायीले दिउँसै गाडी लगेर ग्यारेजमा थन्काएको व्यावसायीले बताएका छन्। पोखरामा सबैभन्दा बढी संख्यामा सार्वजनिक यातायातको रुपमा गाडी चलाउने पोखरा यातायात प्रालिका प्रबन्ध निर्देशक अमृत शर्माले गाडी चलाएपनि यात्रु अभाव भएको बताए। उनका अनुसार बिहान १५ वटा गाडी मात्र सडकमा निकालिएकोमा दिउँसो बढेर ४० वटा गाडीबाट सेवा दिइएको थियो।

‘बिहानभर मौसम पनि खराब भयो। लगातारको वर्षासँगै यात्रु पनि पाइएन,’ उनले भने, ‘दिउँसो मौसम खुलेपछि केही यात्रु त थपिए तर सोचे अनुसार आम्दानी भएन।’ यात्रु नपाएपछि बिहान सडकमा निकालिएका केही गाडी दिउँसो ग्यारेजमा थन्काएको उनले बताए। पोखरा बसका ३७८ वटा गाडी छन्। ती गाडी समानुपातिक रुपमा सहरभित्रका १४ र ग्रामिण भेगमा १४ गरि २८ रुटमा संचालन भएको उनले बताए। ‘अरुबेला खचाखच यात्रु हुने रुटमा पनि विहीबार ५–६ जना मात्र थिए। कतिपय रुटमा त गाडी रित्तै रहे,’ उनले भने, ‘रुट अनुसार यात्रु धेरथोर हुन्छन। तर, विहीबार खासै यात्रु कतै पनि पाइएन।’  

व्यावसायीले यात्रुलाई स्यानिटाइज गर्ने, चालक र सहचालकलाई मास्क र पञ्जा लगाउन अनिवार्य गर्दै सडकमा सवारी निकालेका छन्। सहचालकलाई फेस सिल्ड पनि दिने तयारी छ। मध्यमदुरीका गाडी चल्न थालेपछि बल्ल राहत मिल्ने उनले बताए। ‘बजारभित्रका मान्छेमध्ये अधिकांशका निजी सवारी छन्। त्यसैले हत्तपत्ति सार्वजनिक सवारी चढ्दैनन,’ उनले भने, ‘गाउँ गएका बासिन्दा अझै सहर फर्केका छैनन। शैक्षिक संस्था पनि बन्द छन। त्यसैले यात्रु अभाव भएको हो।’ 

उनका अनुसार अरुबेला सामान्य अवस्थामा एउटै बसले दिनमा ३ सय हाराहारीमा यात्रु बोक्ने गर्दथे। पोखरामा दिनमा ३५ हजार हाराहारीमा यात्रु सार्वजनिक सवारीमा यात्रा गर्ने अनुमान व्यावसायीको छ। ‘संक्रमणको त्रासले सकेसम्म यात्रु सार्वजनिक बस चढ्न पनि रुचाउँदैनन। बरु नजिकको दुरीमा त हिडेरै पुग्ने पनि छन,’ शर्माले भने।

पोखरा क्षेत्रमा सार्वजनिक बस सेवा दिईरहेको अर्काे कम्पनि बेगनासताल पोखरा यातायात प्रालिका अध्यक्ष श्रीप्रसाद तिवारीले पनि यात्रु अभाव भएको बताए। यस्तै गतिमा यात्रु अभाव भएमा व्यावसायीले बस संचालन गर्न नसक्ने पनि उनले बताए। ‘दिनहुँ घाटा खाएर त व्यावसायीले पनि सवारी गुडाउन सक्दैनन,’ उनले भने, ‘केहीदिनको घाटा सबैले बेहोर्छन। व्यावसायी तयार पनि छन। तर लामो समय यस्तै गति रहेमा समस्या आउनेछ।’  

१३० वटा गाडी रहेकोमा बेगनासले विहीबार ३२ वटा गाडी मात्र सडकमा निकालेको थियो। तर यात्रु अभाव भएको भन्दै केही गाडी दिउँसै घर फर्काएको भएपनि पुन सडकमा फिर्ता पठाएको तिवारीले बताए। ‘६ वटा गाडी त दिउँसै घर फर्काएका थिए। तर मैले केहीदिन रित्तै भएपनि चलाउनुपर्छ भनेर पुन सडकमा पठाए,’ उनले भने, ‘तर चालक र सहचालकलाई दिने खर्च पनि जुटेको छैन।’ 

यस्तै अवस्था आए शुक्रबारदेखि केही संख्या घटाउने पनि उनले बताए। ‘५/७ जना यात्रु बोकेर गाडीको खर्च पनि उठ्दैन। बरु कम संख्यामा बस चलाउने हो,’ उनले भने,‘केहीदिन पर्खिने हो, यात्रु अभाव भएमा त सवारी चलाउने अवस्था रहन्न।’ मध्यम दुरिमा सवारी संचालन नभएसम्म सहरभित्रका गाडीमा यात्रु अभाव हुने उनले बताए।  
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर