प्रधानमन्त्रीको अभिव्यक्तिपछि ठोरीबारे अनुसन्धान गर्न संसदीय समितिमा माग

२०७७ श्रावण ९ शुक्रबार ०७:२७:०० मा प्रकाशित

काठमाडौँ — राम जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर संसदीय समितिमा प्रश्न उठेको छ । त्यसको आधार के हो भन्नेबारे सांसदहरूले प्रश्न उठाएका हुन् । 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा सांसदहरूले अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति के को आधारमा आएको हो भनेर प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा राम नेपाली भएको र उनको जन्मभूमि भारतमा रहेको अयोध्या नक्कली भएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको सत्यतथ्य पत्ता लगाउनुपर्ने सांसदहरूले बताएका हुन् ।

कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले अयोध्या र ठोरीका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई व्यक्तिगत रूपमा लिन नहुने बताए । उनले ठोरीको अनुसन्धान लागि के व्यवस्था भएको छ भनेर प्रश्न गरेका थिए । ठोरीमा राम जन्मभूमि हो भन्ने यकिन गर्नका लागि कति अनुसन्धान भइरहेको छ ? भन्ने उनको प्रश्न थियो । 'प्रधानमन्त्री ओलीले के आधारमा भन्नुभएको हो ? अहिले अनुसन्धान कुन चरणमा पुगेको छ ? त्यसको विषयमा जानकारी हुनुपर्छ,' उनले भनेका थिए ।अनुसन्धान र सत्यतथ्य प्रमाणित नभएको विषयमा प्रधानमन्त्रीले बोलेपछि बहस सुरु भएको कांग्रेस सांसद पुष्पा भुसालको भनाइ थियो । 'मुलुकको कार्यकारी प्रमुखले रामको जन्म नेपालमा भयो भनेपछि अहिले मिडियामा बोल्नेहरू नै विशेषज्ञ जस्तो गरी छलफलमा सहभागि भइरहेका छन्,' उनले भनिन्, 'यस्ता विषयलाई हल्का छलफलको विषय बनाउन हुन्न । नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन खोज्दा यस्ता विषयवस्तुहरूमाथि सरकार प्रमुखले धारणा राख्नु हुँदैन ।'

नेकपाका सांसद नारदमुनि रानाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि ठोरीको विषय राष्ट्रिय बहसको विषय बनेको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भारतमा जन्मेका हुन भन्दै अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै रामको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका विषयमा पुरातत्त्व विभागले अनुसन्धान अगाडि बढाउनुपर्ने बताए ।

सांसद सरलाकुमारी यादवले प्रधानमन्त्रीले कुरा उठाएपछि त्यसलाई पुरातत्त्व विभागले उत्खनन गर्दै अध्ययन अगाडि बढाउनुपर्ने बताइन् ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर