अवरुद्ध सडक खुलाउन पहल जारी

२०७७ श्रावण ८ बिहीबार १०:३९:०० मा प्रकाशित

काठमाडौं । निरन्तर वर्षासँगै आएको बाढीपहिरोबाट क्षतिग्रस्त विभिन्न सडकखण्डको अवरोध अझै हटेको छैन । बाढीपहिरोबाट राष्ट्रिय राजमार्गमा मात्रै सयभन्दा बढी स्थानमा क्षति पुगेको छ । बाढीपहिरोका कारण अन्य सडकखण्डमा पनि अवरोध सिर्जना भएको छ ।

सडक विभाग सम्भार महाशाखाका अनुसार राष्ट्रिय राजमार्गमा १ सय ८ भन्दा बढी स्थानमा क्षति पुगेको छ । कतिपय ठाउँमा मर्मत सम्भार गरेर सवारी आवतजावत खुलाइएको छ भने दर्जनौं ठाउँमा अझै अवरोध जारी छ । सडक विभागका अनुसार अरनिको हाइवे, सडक डिभिजन चरिकोटअन्तर्गत सिरिशेमा गत ३० असारदेखि अवरोध जारी छ । अवरोध हट्न अझै १० दिन लाग्ने अनुमान छ ।

अरनिको हाइवेअन्तर्गत खग्दोलमा एकतर्फी सडक सुचारु गरिएको छ भने जम्बुको अवरोध हटेको छैन । गत २५ असारदेखिको अवरोध हट्न अझै १५ दिन लाग्ने अनुमान छ । अरनिको हाइवेअन्तर्गत झ्याले, डाकलांगका तीन ठाउँको अवरोध पनि हटेको छैन । त्यहाँको अवरोध हट्न १५ दिन लाग्ने विभागले जनाएको छ ।

माथिल्लो भोटेकोशी ड्याम, कोप्लुङ, घट्टेखोलामा भने आंशिक एकतर्फी आवातजावात खुलाइएको छ । गत २६ असारदेखि अवरुद्ध सडक डिभिजन साँफेबगर अछामअन्तर्गत अम्कोट द्ववारी खण्डको अवरोध पनि जारी छ ।

बेनी जोमसोम कोराला सडक योजना, जोमसोमअन्तर्गत म्याग्दीको दाना र गलेश्वरको अवरोध पनि हटेको छैन । ती सडकखण्डको अवरोध हटाउन १५ दिन बढी लाग्नसक्ने अनुमान गरिएको छ ।

कान्ति लोकपथअन्तर्गत घट्टेपख, बाघधारा, शिलालेख र छपेलीको अवरोध एकपटक हटाइए पनि पुनः समस्या भएको छ ।
बेनी जोमसोम कोरोना सडक योजनाअन्तर्गत म्याग्दी काभ्रेभिर र घोप्टेभिरको अवरोध पनि हटेको छैन । त्यहाँ सडक माथिबाट पहिरो आएको र बेलिब्रिज नदीले बगाएको छ ।

सडक डिभिजन चन्द्रनिहापुरअन्तर्गत बाँके धन्सार सडकखण्डको अवरोध पनि जारी छ । पुलको एप्रोच सडक बगाएपछि मलेखु मुग्लिङअन्तर्गत मौवाखोलामा पनि सडक अवरोध हुन पुगेको छ । डुम्रे बेसीशहर चामे सडक योजनाअन्तर्गत पुवा खोला, तारिकुना, घोप्टेभीर, रामबजार, स्याँगे, घट्टेखोला, च्याम्चे, म्यार्दीमा पनि सकड अवरुद्ध छ ।

सडक डिभिजन सा“फेबगर अछामअन्तर्गत बल्दे खण्ड, अम्कोट खण्ड, ताप्रीसेरा घट्टखोलामा पनि सडक अवरुद्ध रहेको छ । महेन्द्र राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक आयोजना, नवलवपरासीको चोरमारा बजारनजिकको पनि बुधबार सडकमा क्षति पुगेको छ । त्यस सडक खण्ड भने बुधबार नै खुलाइएको छ ।
(राजधानी दैनिकबाट)

ताजा खबर