उधारो सही गराउनेदेखि टेन्डर भराउनेसम्मको काम

२०७७ श्रावण ८ बिहीबार १०:०४:०० मा प्रकाशित

कर्मचारी गिरोहकै कारण महानगरमा टिक्दैनन् कार्यकारी

पोखरा महानगरपालिकामा कर्मचारीतन्त्रको हावी छ । महानगरभित्र कर्मचारी गिरोह सक्रिय हुँदा प्रमुख कार्यकारीको केही चल्दैन र कुनै पनि प्रमुख प्रशासकीय अधिकृत टिक्न सक्दैनन् । कार्यकारीले सम्पूर्ण जिम्मा आफैं लिन खोज्छन् जुन निजामती कर्मचारीले हुन दिँदैनन् । जसले त्यो सिस्टम परिवर्तन गर्न खोज्यो ऊ त्यहाँबाट सरुवा हुन्छ ।

त्यस्तै कारणले नै पोखरा महानगरपालिकाको प्रत्येक महिनामा प्रशासकीय प्रमुख परिवर्तन हुने गर्छन् । देश संघीयतामा गएपछि स्थानीय तहको निर्वाचनपश्चात पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी हुनुहुन्छ । उहाँकै कार्यकालमा ६ जना प्रशासकीय प्रमुख परिवर्तन भएका छन् । उक्त समयावधिमा एक जना प्रमुख प्रशासकीय एक वर्षबाहेक अरु भने महिना दिनमै परिवर्तन हुने गरेका छन् ।

२०७५ साल जेठ १४ गते महानगरका प्रमुख प्रशासकका रुपमा आउनुभएका शेषनारायण पौडेलबाहेक अन्यले धेरै समय पाएका छैनन् । जेठमा आउनुभएका पौडेल ०७६ भदौ ६ गतेसम्म प्रमुख प्रशासकीय भएर काम गर्नुभयो । त्यसलगत्तै आउनुभएका गंगालाल सुवेदीले ५ महिना मात्र काम गर्दै सरुवा हुनुभयो । भदौ १० गते कार्यभार सम्हाल्नुभएका उहाँको माघ २४ गते सरुवा भयो ।

त्यस्तै ०७६ माघ २६ गते नयाँ प्रशासकीय प्रमुखका रुपमा बद्रिनाथ अधिकारी आउनुभयो । उहाँ एक महिनामा नै सरुवा हुनुभयो । माघमा आउनुभएका उहाँ फागुनमै जानुभयो । त्यसलगत्तै चैत्र ५ गते प्रमुख अधिकृतका रुपमा आउनुभएका धु्रवकुमार पोखरेल ०७७ असारमा सरुवा हुनुभयो । ०७६ चैत्र ५ गतेबाट ०७७ असार २४ गतेसम्म प्रमुख हुँदै सरुवा हुनुभयो । असार २४ गते नै आउनुभएका हेमप्रसाद आचार्य प्रमुख भएको १४ दिनमै सरुवा हुनुभयो । उहाँ साउन ४ गतेसम्म प्रमुखका रुपमा रहनुभयो । त्यस्तै साउन ५ गतेबाट भने प्रशासकीय प्रमुखको रुपमा महेश बराल आउनुभएको छ ।

महानगर कर्मचारी स्रोतका अनुसार बाहिरी अनुभव हेर्दा कर्मचारी गिरोह निकै सक्रिय रहेको छ । कार्यकारीलाई नटेर्ने हुनाले नै महिना दिनमै परिवर्तन हुने कर्मचारी स्रोतको दाबी छ । ‘जनप्रतिनिधिभन्दा अरुलाई नटेर्ने कर्मचारी हावी छन् । जनप्रतिनिधि पनि आफ्नो पक्षको हुने र सोहीअनुसार मनपर्ने कार्यकारी ल्याउन लगाउँछन्’ –एक कर्मचारीले भने ।

आफूले मन परेको गर्ने तर कार्यकारीले भनेको केही नमान्ने र आफ्नो पक्षको बिल्ला लगाएर काम गर्ने गरेको उनको भनाइ छ । आफ्नो मनपरी गर्न कार्यकारीले नदिने भएपछि कार्यकारीलाई निकै समस्या पर्ने गरेको उनले बताए । कागजपत्रमा पनि सबै अधिकार आफ्नो सहायकहरुलाई दिने निजामतीमा आएकाहरु आफ्नो अधिकार प्रत्यायोजन गर्ने कारणले नै कार्यकारी नटिक्ने स्रोतको दाबी छ ।

हाल केही प्रशासनिकलगायतको समूह नै उक्त चलखेलमा रहेको बताइएको छ । संयुक्त रुपमा सहयोग मिले कार्यकारीलाई काम गर्न हौसला मिल्ने तथा सिस्टममा लान खोजे केही कार्यकारीलाई बढुवा गर्दै मन्त्रालय पठाउने र केहीलाई सरुवा गर्ने चलखेल चलिरहन्छ ।

जनप्रतिनिधि र कार्यकारीबीच तालमेल नमिलेकै कारण पनि समस्या आउने गरेको पाइन्छ । ‘भित्री गिरोहकै कारण उधारो सही गराउनेदेखि टेन्डर भराउनेसम्मको कार्य भएको छ’ –स्रोतले भन्यो । व्यक्तिगत स्वार्थमा कर्मचारी बढी तल्लीन भएकाले कार्यकारीलाई सास्ती भएको छ ।

कर्मचारी र राजनीतिबाट टिक्न नसक्दा कार्यकारी फेरिने खेल चलिरहेको, सिस्टमअनुसार चल्न नसक्नु नै समस्याको जड देखिएको छ । कर्मचारी र जनप्रतिनिधिको मिलेमतोकै कारणले कार्यप्रणाली बदल्ने आँट पनि गर्न नसकेको बताइएको छ ।

पुनः कार्यकारी हुनुभएका बरालको पनि कति समय हो यकिन भने छैन । बराल प्रमुख अधिकृत भएर आउनुभएको यो दोस्रोपटक हो । यसअघि उहाँ तत्कालीन पोखरा उपमहानगरपालिका हुँदा ६ महिना कार्यभार सम्हाल्नुभएको थियो । उहाँले २०७१ सालमा प्रमुख अधिकृत भएर काम गर्नुभएको थियो ।

दोस्रोपटक प्रमुख भएर आउनुभएका उहाँ अब भने केही लामो समय बस्ने आशा छ । तर महानगरको कुनै ग्यारेन्टी छैन । दोस्रोपटक आउनुभएका प्रमुख प्रशासकीय अधिकृत बराल भन्नुभयो– ‘पोखरा महानगरमा कार्यकारीका रुपमा २०७१ सालमा ६ महिना कार्यभार सम्हालँे । पहिले र अहिलेको कार्यकारीमा केही स्थिर भएको छ, आशा गर्छु मेरो बसाइ लामो हुनेछ ।’ सहसचिवमा बढुवा हुँदै उहाँले पहिलो जिम्मेवारी बहन गर्नुभएको छ । ‘मेरो बढुवा भएको छ । म सहसचिव भएर आएको छु, सहसचिव भएपछिको यो मेरो पहिलो जिम्मेवारी हो’ –प्रमुख बरालले भन्नुभयो ।

आयोजना कार्यान्वयन गराउने र नगरपालिकाको छवि उँचो बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बरालको भनाइ छ । उहाँले जनप्रतिनिधिसँग समन्वय गर्दै सहमतिमा ल्याई काम गर्ने बताउनुभयो । कर्मचारीको नेतृत्वकर्ता भएकाले र जनप्रतिनिधिको तर्फबाट समेत आफैंले प्रतिनिधित्व गर्ने भएकाले पुलको भूमिकामा आफू रहेको बरालको भनाइ छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर