सप्तकोशीले पूर्वी तटबन्धको दुईवटा स्पर निरन्तर कटान

२०७७ श्रावण ८ बिहीबार ०८:१२:०० मा प्रकाशित

सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेर क्रमशः घट्दै गएपनि पूर्वी तटबन्धको सुनसरी बराहक्षेत्र वडा नं. ६ को दुईवटा स्परमा कटान थालेको छ । बराहक्षेत्र वडा नं. ६ को ठाकुरबारीमा रहेको स्पर नं. ९ र १० स्परमा कटान गरेको हो ।

पछिल्लो २४ घण्टादेखि निरन्तर स्परमा कटान गरेकाले अहिले रोकथामका लागि सुरक्षा निकाय र भारतीय कामदारको टोली खटिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलका अनुसार कटान नियन्त्रणका लागि ठूलै जनशक्ति परिचालन भएकाले गर्दा बुधबार रातभरमा सम्भव हुने बताए । ‘युद्दस्तरमा तीनवटै सुरक्षा निकायको टोली र भारतीय कामदार खटिएकाले गर्दा कटान नियन्त्रणमा आउनेछ,’ उनले भने ।

स्थानीयबासी समेत रहेका पत्रकार बाबुराम कार्कीका अनुसार स्पर कटानले अहिलेसम्म कुनै खतरा छैन । तर, निरन्तर कटान गरेर बेलैमा नियन्त्रण गर्न नसक्दा भने समस्या हुन सक्छ । सप्तकोशीमा मंगलबार बिहान ८ बजेको मापन अनुसार पानीको बहाव तीन लाख ४२ हजार ९७० प्रतिसेकेन्ड क्युसेक पुगेकोमा बुधबार साँझ एक लाख ९९ हजार ४९५ प्रतिसेकेन्ड क्यूसेकमा झरि सकेको छ । पानीको बहाव घटबढ हुँदा पूर्वी तटबन्धको माथिल्लो भागमा समस्या हुन सक्ने खतरा रहन्छ ।  

२०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका चारवटा मानव बस्तीमा पसेको थियो । त्यतिबेला सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काउदा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका थिए ।  

२०६५ सालअघि कोशी पूर्वको बराहक्षेत्र क्षेत्रका थुप्रै परिवार कोशीबाट पीडित भएका छन् । २०२२ सालयता वराहक्षेत्र क्षेत्रका मात्र ३ हजार नौ सय परिवार पीडित भएको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार आठ हजार ६ सय विघा खेतीयोग्य उर्वर भूमि कोशीले कटान गरेको छ ।
(नागरिक न्युजबाट)

ताजा खबर