नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्‍चालन

२०७७ श्रावण ८ बिहीबार ०७:३४:०० मा प्रकाशित

चितवन — नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्‍चालनमा आएको छ । १६ किलो भन्ने ठाउँमा ठूलो चट्टानसहित खसेको पहिरो सफा गरेर बुधबार साँझ ७:४५ बजेबाट एकतर्फी सवारी सञ्‍चालनमा आएको नारायणगढ-मुग्लिन सडक आयोजनाले जनाएको छ ।

 

मंगलबार राति ८:३० बजे भरतपुर महानगरपालिका २९ को लामोबालुवा पुल नजिकै १६ किलो भन्ने ठाउँमा ठूलो चट्टानसहित खसेको पहिरोको कारण सडक अवरुद्ध भएको थियो । पहिरो हटाउन ब्रेकरसहितको एउटा एक्स्काभेटर र दुईवटा लोडरको प्रयोग गरिएको थियो ।

आयोजनाका अनुसार नारायणघाट-मुग्लिङ-मोवा खोला सडक खण्ड सुचारु छ भने मोवा खोलामा बगाएको एप्रोच सडकको काम तीव्र गतिमा भइरहेको छ ।

मौसम अनुकूल रहेमा सम्भवत बिहीबार साँझ वा शुक्रबार दिउँसोसम्ममा मोवा खोलाको मर्मत कार्य सम्पन्न गरी मुग्लिङ-मलेखु-नौबिसे सडक पनि सुचारु गर्ने योजना रहेको आयोजनाले बताएको छ ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर