कोरोना जोखिम : जनस्वास्थ्यका मापदण्ड उल्लंघन बढ्दो

२०७७ श्रावण ७ बुधबार १०:०८:०० मा प्रकाशित

काठमाडौं । जनस्वास्थ्य मापदण्ड उल्लंघन हुँदा कोरोना भाइरस जोखिम थप बढ्ने भन्दै चिकित्सकले सतर्क रहन आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९ महामारी र व्यवस्थित लकडाउन जनस्वास्थ्य मापदण्ड २०७७’ जारी गरे पनि कार्यान्वयनमा आउन सकेको छैन ।

– संक्रमित १७,९०० नाघे

सबैखाले जमघट र भेलामा कम्तीमा दुई मिटर दुरी कायम गर्नुपर्ने, घरबाहिर निस्क“दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने बुँदा मापदण्डको अनिवार्य सर्त मानिएको छ ।

त्यस्तै, अनावश्यक वस्तु तथा सतह नछुने, अनुहारको टी क्षेत्र (आँखा, नाक र मुख) अनावश्यक रूपमा नछुने, सार्वजनिकस्थलमा जथाभावी नथुक्नेलगायत बुँदा मापदण्डको आधारभूत सर्तमा समेटिएका छन् । तर, अधिकांशले जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्दै आएका छन् । जसका कारण कोभिड–१९ संक्रमणको थप जोखिम बढ्ने जनस्वास्थ्यविज्ञ बताउँछन् ।

सार्वजनिक यातायातमा बस्दा एक पंक्तीको सिटमा एकजना क्रस गरेर बस्ने व्यवस्था मिलाउने, सम्भव भएसम्म पैसा कारोबार गर्दा विद्युतीय माध्यम अपनाउने, हात धुने साबुन र पानी पर्याप्त व्यवस्था गर्नुपर्ने विषय पनि मापदण्डमा उल्लेख छ ।

सेवाग्राहीको व्यक्तिगत विवरण खुल्नेगरी पूरै दैनिक अभिलेख राख्ने, सार्वजनिकस्थल तथा कार्यालयले आफ्नो परिसरमा हात धुने साबुनपानी र स्यानिटाइजर व्यवस्था गर्नुपर्ने भनिएको छ । मापदण्ड उल्लघंन गरेमा संक्रामक रोग ऐन, २०२० र जनस्वास्थ्य सेवा ऐन २०७५ बमोजिम सजाय हुने उल्लेख छ ।

सरुवा रोग विशेष डा.शेरबहादुर पुनले जोखिमबाट बच्न नियमित हात धुने, भौतिक दुरी कायम गर्ने र हातले मुखनाक र आँखा छुन नहुने बताए ।

यसैगरी, नेपालमा हालसम्म कोरोना भाइरस संक्रमित संख्या १७ हजार ९ सय ९४ जना पुगेको छ । पछिल्लो २४ घन्टामा थप १ सय ५० जनामा संक्रमण देखिएस“गै संक्रमित संख्या १७ हजार ९ सय ९४ जना पुगेको काठमाडौं उपत्यकामा मंगलबार थप ९ जनामा कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ र ललितपुरमा १ जना संक्रमित भेटिएका हुन् । मंगलबारसम्म नेपालमा ४० कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म आरटीपीसीआर प्रविधिबाट ३ लाख २३ हजार ८ सय ३५ जनाको कोरोना परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमित संख्या ५ हजार ४ सय ७७ जना रहेको छ । उनीहरू अधिकांश लक्षणबिहीन छन् । संक्रमण सबै जिल्लामा देखिइसकेको छ ।
(राजधानी दैनिकबाट)
 

ताजा खबर