पर्वतमा क्वारेन्टाइनभित्रै बिरामीको मृत्यु, कोरोना परीक्षणको रिपोर्टपछि दाहसंस्कार गरिने

२०७७ श्रावण ७ बुधबार ०९:५२:०० मा प्रकाशित

कुश्मा : दक्षिण पर्वतको पैयुँ गाउँपालिकास्थित सामुदायिक क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।

पीसीआर रिपोर्ट नेगेटिभ आएपछि गाउँको क्वारेन्टाइनमा पठाइएका ५२ वर्षीय  यामबहादुर भारतीको मृत्यु भएको हो । पैयुँ गाउँपालिका–६ का भारतीको शुक्रबार राति गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार राति उनलाई अस्पताल पु¥याइएको थियो । उनलाई राति नै चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमका अनुसार असार पहिलो साता भारतबाट फर्किएका उनको असार २३ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना रोकथाम जिल्लास्तरीय कमाण्ड पोष्टको निर्णयअनुसार रिपोर्ट नेगेटिभ आएकोले उनलाई दुई साताका लागि पैयुँ–४ स्थित जनसेवा संस्कृत माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्नेगरी पठाइएको थियो । २४ गते उक्त क्वारेन्टाइनमा पठाइएका उनको बसाइ आइतबार सकिँदै थियो ।

तर क्वारेन्टाइनमा बसेको बेला मृत्यु भएका उनी उच्च रक्तचापको बिरामी भएको पाइएको छ । मृतक भारती पहिलेदेखिनै उच्च रक्तचापको बिरामी भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले बताए ।

‘नियमित औषधि सेवन समेत नगरेको देखिएका कारण उच्च रक्तचापले गर्दा हृदयघात भएको हुन सक्छ,’ डा. देवकोटाले भने । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएपछि उनलाई मृत घोषित गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिए । मृतक भारती भारतबाट असार १६ गते कुस्मा आएका थिए र पुलिङ क्वारेन्टाइनमा बसेका थिए । कोरोना रिपोर्ट परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र गाउँ पठाइएको थियो ।

कोरोनाको लक्षण नदेखिएको भए पनि उनको दाहसंस्कारमा सहज बनाउन स्वाबको नमुना लिइएको डा. गौतमले बताए । ‘क्वारेन्टाइनमै रहेको हुँदा एक पटक स्वाब लिएर रिपोर्ट आएपछि मात्रै दाहसंस्कार गर्न सल्लाह दिएका छौँ,’ गौतमले भने ।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर