बाढी कहर : घर छाडेर विद्यालयमा आश्रय

२०७७ श्रावण ७ बुधबार ०९:४५:०० मा प्रकाशित

सुन्दरसिंह धामी। दार्चुला/ सन्तोष गौतम। बेनी/ राजकरण महतो। जनकपुरधाम/ अनिल ढकाल। चितवन : पहिरोमा परेर सोमबार राति दार्चुलामा थप २ जनाको मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका— ८ शंकरपुर पस्तीका अरुण दर्जी र मिलन दर्जीको मृत्यु भएको हो। मृतक दुवैजना दाजुभाइ हुन्।

सोमबार नौगाड गाउँपालिका–६ की ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी रेवतीको मृत्यु भएको थियो। २ दिनमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोले घरभित्रै थुनिएका अरुण र मिलनकी दिदी लक्ष्मी परियार, उनका ९ वर्षका छोरा शुवम परियार र छोरी सोनियाको भने जीवितै उद्धार गरिएको छ। मृतक दुवै जना लेकम गाउँपालिका— ५ का हुन्। उनीहरू र पस्तीस्थित दिदीको घरमा आएका थिए।

निरन्तरको वर्षासँगै खसेको पहिरोले महाकाली लोकमार्गअन्र्तगतको गोकुलेश्वर–दार्चुला सडक खण्डका विभिन्न ठाउँ अवरुद्ध भएको छ। ठूलठूला ढुंगा खसेर मंगलबार बिहानदेखि यातायात अवरुद्ध भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ। पहिरोले महाकाली नगरपालिका–३ डुङरेमा बिहानैदेखि सवारी आवागमन रोकेको छ। महाकाली लोकमार्गको महाकाली नगरपालिका ५ धौलीगाड खोलामा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र जोशीले जानकारी दिए। सडक अवरुद्ध भएपछि जिल्ला भित्रिने र बाहिरिने सवारीसाधन र यात्रुबीच बाटोमै अलपत्र परेका छन्। सडक सुचारु गर्न केही दिन लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लोकमार्ग जोड्ने मापदण्ड विपरीतका शाखा सडकका कारण धेरै ठाउँमा पहिरो गएको हो।

भेटिएनन् बेपत्ता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेमा बाढीले बगाएर १ जना बेपत्ता भएका छन्। काभ्रेको भजेनी खोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई वेपत्ता बनाएको वडासदस्य हस्तबहादुर पुनले बताए।

सोमबार साँझ बेपत्ता गर्बुजाको मंगलबारसम्म पनि भेटिएका छैनन्। निरन्तरको भीषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, ३ वटा मोटरेबल र २ वटा झोलुंगे पुलसहित दुई ठाउँमा मन्दिर बगाएको छ। बेनी–जोमसोम सडक अन्र्तगत अन्नपूर्ण –३ दानाको रूपसेखोलाको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल पुरेको छ। घाँस खोलामा निर्माणाधीन अर्को मोटरेबल पुल पनि पुरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए। बाढीले रूपसे झरना परिसरसँग रहेको मन्दिर र गडल्याड वाटरफल रेष्टुरेन्ट पनि बगाएको छ।

त्यसैगरी मोटरेबल पुल निर्माणमा प्रयोग भएको एउटा डोजर र पार्किङ गरिएको बस बगाएको छ। कालीगण्डकीको बाढीले अन्नपूर्ण गाउँपालिकाको दाना र गाडपार जोड्ने झोलुंगेपुल बगाएको छ। दानाका जितबहादुर पुनका अनुसार सुकेबगर र घराप जोड्ने अर्को झोलुंगे पुल र रूपसे ब्लक उद्योग पनि बगाएको छ। वर्षाका कारण दानामा निर्माणाधीन २२० केभी क्षमताको विद्युत् सबस्टेसन र क्रसर उद्योग जोखिममा परेको छ। अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा कालीगण्डकीले बस्तीतर्फ कटान गर्न थालेपछि सीमा प्रहरी चौकी, रेडक्रस भवनलगायत ३० भन्दा बढी घर जोखिममा छन्। नदी किनारमा लगाइएको पर्खाल नाघेर बाढीले बस्तीतर्फ कटान गरेको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए। कालीगण्डकी र रघुगंगा नदीको दोभानस्थित जलजला गाउँपालिका–२ को धार्मिकस्थल राममन्दिरको धर्मशाला बाढीले बगाएको छ। बाढीले मन्दिरको गौशाला, धर्मशाला र १०० ग्राम तौल भएको शालीग्राम शिलाको स्तम्भ बगाइसकेको छ। कटान निरन्तर भएकाले मन्दिर, पुजारी निवास र गलेश्वरदेखि राममन्दिर जोड्ने झोलुंगेपुल जोखिममा परेको छ।

एक जना बेपत्ता

निरन्तरको वर्षासँगैको बाढीले बगाउँदा प्रदेश २ मा १ जना बेपत्ता भएका छन्। बाढीले बगाएर महोत्तरीको भंगहा नगरपालिका–६ बस्ने ४० वर्षीय वीरेन्द्र कापर बेपत्ता भएका प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता मकेन्द्रकुमार मि श्रले जानकारी दिए।

रातु खोलामा आएको बाढीले बलवा नगरपालिका—११ स्थित सग्रामपुरबाट उनलाई बगाएको हो। बागमती नदीको बाढीले सर्लाहीमा बगाएका २ जनाको गाउँले र प्रहरीले उद्धार गरेका छन्। घाँसदाउरा गर्न गएका बागमती नगरपालिका—१२ का २४ वर्षीय डेटमान गोले र निरज पिटुङलाई बाढीले बगाउँदै गर्दा उद्धार गरिएको हो। बाढीले प्रदेश २ का २९ घरमा क्षति पुर्‍याएको छ। सबैभन्दा बढी पर्सामा २२ घरमा ध्वस्त प्रत्यक्ष प्रभावित भएका छन्। बाढीको कटान र डुबानमा परेर २ सय ११ घरका ८ सय ४५ जना विस्थापित भएका छन्। मंगलबारसम्म बाढीमा परेर ८ वटा चौपाया मरेका छन्। बाढीबाट जनधनको क्षति हुन नदिन प्रदेश प्रहरी कार्यालयले प्रदेशका ८ वटै जिल्लामा २ हजार ८ सय १० प्रहरी परिचालन गरेको छ।

विद्यालयमा बास

बस्तीमा पानी छिर्न थालेपछि भरतपुर २६ भगडीकी संगीता गुरुङलाई काखे छोरा जोगाउनको पिरालो भएको छ। अविरल वर्षासँगै नारायणीको सतह बढेर घरभित्र पसेपछि काखे छोरा र छोरी च्यापेर उनले मंगलबार दिउँसो बस्ती छोडिन्।

गुरुङका ११ महिने छोरा र ३ वर्षकी छोरी छिन। दिउँसोमा भन्दा राति बाढी आउने डरले घर छाड्न बाध्य भएकी उनी स्थानीय साझापुर माविमा आश्रय लिइरहेकी छिन्। ‘नारायणीको पानी पस्न थाल्यो भन्ने सुनेपछि निद्रा लाग्न छोड्यो’, गुरुङले भनिन्, ‘आफू त बाँचिएला तर यी लालाबाला बगाउला भन्ने डरले रातभर निदाउन सकेको छैन।’ ३ वर्षअघि भगडीमा ऐलेनी जग्गा किनेर उनीको परिवार नदी किनारमा बसेका थिए।

नारायणी नदी किनार नजिक बस्नेहरू अहिले बाढीको उच्च जोखिममा छन्। संगीता जस्तै भगडीकै विमती गुरुङले पनि काखेबच्चा लिएर घर छाड्न बाध्य भइन्। आइतबार घर छोडेकी उनले भोलिपल्ट भएको सम्पत्ति डुबेको खबर पाइन्। घरमा भएको धान र चामल बाढीले बगाएपछि के खाने कहाँ बस्ने चिन्ता थपिएको छ। ‘ठूला मान्छे त निस्किम्ला बच्चालाई के गर्ने रातभर सुतेको छैन’, उनले भनिन्, ‘अर्को कोठामा बच्चा राखेर खाना पकाउनसमेत डर छ।’ साझापुर माविमै आ श्रय लिएकी उनका पनि २ सन्तान छन्।

पानीको बहाव बढेपछि पश्चिम चितवनको भगडीबाट नारायणी नदी बस्तीमा पसेको छ। भरतपुर महानगरपालिका— २६ स्थित कोइला, हीरापुर, सिसैमा कटान गरेर नारायणी नदी बस्तीतर्फ पसेको हो। भगडीमा भने पानीको सतह बढेर क्षति भएको छ।

भगडीका करिब ७० परिवारलाई सोमबार राति मध्यरातमा उद्धार गरेर नजिकका विद्यालयमा राखिएको छ। बाढीले वस्ती जोखिममा रहेको वडाध्यक्ष ज्ञानप्रसाद खनालले बताए। ‘नारायणी पसेर बस्ती र बाली जलमग्न छ’, उनले भने, ‘डुबानमा परेकाको उद्धार गरेका छौ पानी रोकिएन भने अवस्था खतरनाक छ।’

भरतपुर महानगरपालिका— १६ को झन्झनेमा करिब एक सय घरधुरी डुबानमा परेका छन्। सो स्थानका १ जना बाढीले बगाएर बेपत्ता भएका छन्। गाईबस्तु फुकाउने क्रममा स्थानीय ४० वर्षीय कर्णबहादुर सुनार बेपत्ता भएका हुन्। चितवनका करिब डेढ सय घरधुरी डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नारायणीको बहाव बढेसँगै नदी किनारमा त्रास फैलिएको छ। इच्छाकामना गाउँपालिका ५ र ६ मा सोमबार पहिरोले ३ वटा पक्की घर भत्काएको छ।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर