बिपी सानो देशको अग्लो मान्छे: देउवा

२०७७ श्रावण ७ बुधबार ०९:१२:०० मा प्रकाशित

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बिपी कोइराला सानो देशको अग्लो र दूरदर्शी राजनेता भएको बताएका छन्। बिपी कोइरालाको ३८औं स्मृति दिवस अवसरमा मंगलबार प्रचार विभागद्वारा आयोजित भर्चुअल कार्यक्रममा सभापति देउवाले बिपीले कहिल्यै पनि पदलाई महत्व नदिएको स्मरण गरेका हुन्।  

सिद्धान्त र मुलुकलाई नै बिपीले सधैं प्राथमिकतामा राखेको सुनाउँदै देउवाले प्रजातान्त्रिक समाजवादको विचार अहिले पनि सान्दर्भिक रहेको बताए। नेपाली हिँड्ने आजको मूलबाटो पनि बिपीकै विचार र विश्वासले खनेको धारणा राख्दै देउवाले भने, ‘उहाँको बाटो इमानदार ढंगले पछ्याए मात्र हामी सबै सम्मान र समृद्धिको लक्ष्य हासिल गर्न सक्छौं।’

राष्ट्रमा संकट आउँदा आफ्नो जीवनको परवाह नगरी २०३३ सालमा बिपी स्वदेश फर्किएको स्मरण गर्दै देउवाले भने, ‘आज राष्ट्रियताको प्रश्नमा मुलुकमा विशेष छलफल भइरहेका बेला बिपीको विचार र विश्लेषणकै माध्यमबाट हामीले राष्ट्रिय एकता र मेलमिलापको भावनाका साथ समाधान पहिल्याउनु पर्दछ।’

कार्यक्रममा समाजवादी चिन्तक एवं कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरीले बिपी कोइरालाको सामाजिक र राजनीतिक विषयमा चर्चा गरेका थिए।  

नेविसंघ केन्द्रीय समितिद्वारा सुन्दरीजलमा आयोजित कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले बिपी कोइराला युगान्तकारी नेता भएको स्मरण गरे। उनले मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्थाको सूत्रपात बिपी कोइरालाले नै गरेको बताउँदै त्यसकै निरन्तरताका लागि आफ्नो जीवन समर्पण गरेको धारणा राखे। पार्टीका कार्यकर्ताले नेताको मूल्यांकन गर्ने समय आएको भन्दै पौडेलले नेताको पछि नलाग्न पनि आग्रह गरे।  

पार्टी नेतृत्व कमजोर हुँदा कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले गरेको गलत कामको भण्डाफोर गर्न नसकेको धारणा राख्दै सरकारले गरेका गलत कामलाई जनतासमक्ष पु-याउन नेता तथा कार्यकर्तालाई पौडेलले निर्देशन दिए। त्यस्तै, झुटको थुतुनु मात्र चलेको धारणा राख्दै सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेसले गरेको काम पनि जनतालाई बुझाउन नसकिएको धारणा राखे।  

त्यस्तै, अर्को फरक कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढेको गुनासो गरे। बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले आयोजना गरेको कार्यक्रममा कोइरालाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादमा राष्ट्रपतिको सक्रियताले अहिलेको शासन व्यवस्थाप्रति नै वितृष्णा जगाउने काम गरेको बताए।  

कोइरालाले कांग्रेस र मुलुक अब बिपी कोइरालाले देखाएको राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनको बाटोमा हिँड्ने पनि बताए। त्यस्तै, केन्द्रीय सदस्य दीलबहादुर घर्ती, बद्री पाण्डे र गगन थापाले बिपी कोइरालाको योगदानको चर्चा गरेका थिए।

कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै पार्टी केन्द्रीय कार्यालयले औपचारिक कुनै कार्यक्रम आयोजना नगरे पनि कांग्रेसभित्र विद्यमान गुट र समूहहरूले कोइरालाले नेपालको राजनीति र साहित्यमा पु¥याएको योगदानको चर्चा गर्नुका साथै स्मरण गरेका छन्। पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी केन्द्रीय समिति, प्रजातान्त्रिक विचार समाज, बिपी विचार राष्ट्रिय समाज, सामाजिक लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालसहित संस्थाले विभिन्न माध्यममार्फत राजधानीमै कार्यक्रम गरेका थिए।
(नागरिक न्युजबाट)

ताजा खबर