देउवालाई प्रश्न– ब्ल्याकलेवल मीठो कि कालो चिया ? 

२०७७ श्रावण ६ मंगलबार १६:०१:०० मा प्रकाशित

 लाज छैन ?

छ नि ! कसरी नहुनु ? त्यै लाजको पोको त बाँकी छ नि अहिले !

    हो ! पहिले चैं थिएन ! जतिबेला तपाईं सुदुर पश्चिमबाट आएको सोझो विद्यार्थी हुनुहुन्थ्यो ! ‘बा’ हैन ‘पा’ लेख्नुहुन्थ्यो ! पञ्चायत विरुद्ध संघर्ष गर्दैहुनुहुन्थ्यो ! प्रजातन्त्रप्रति तपाईंको निष्ठा, पञ्चायत विरुद्धको जोस जाँगर, साथिभाईबीच प्रेमभाव !! गाउँले सोझो युवक रोटिलाई समेत रोटा भन्ने ! 

          हो ! त्यसबेलासम्म नि लाज थिएन !

   लोकल चुस्की लाउन समेत शुक्रबार कुरेर भोटेबहालको साथीको डेरा धाएको मौका पारेर सर्ट पाईन्टमा आईरन दल्न भ्याउँदासम्म पनि लाज सरम थिएन ! मायाँ नै थियोे, प्रेम थियोे !

     पञ्चायत छिर्ने संकेत पाएपछि किशुनजीले पढ्ने बहानामा बेलायत पठाईदिनु भो ! लाज लाग्नै पाएन ! (उसबेला किशुनजीले आईडिया नलाउनु भएको भए आज कमल थापाको घर  तपाईंको डेरा हुन्थ्यो) !

   बहुदल आयो ! तपाईं फर्किनु भो ! काङ्ग्रेसबाट टिकट पाउनु भो ! सुदुर पश्चिमका १९ मध्ये १८ सिट काङ्ग्रेसका पोल्टामा पार्ने श्रेय बापत गृहमन्त्रीको पदक पाउनु भो ! ‘शेरे पश्चिम’ पनि भन्न थाले कसै कसैले !

    साँच्चै भनेको ! त्यसबेलासम्म पनि लाज थिएन ! निर्लज्ज नै थिएँ, बेसरम थिएँ !

      तर जब गृहमन्त्री हुनु भो ! बिनोद शमशेरको ज्वाईं हुनु भो ! रोटाबाट ब्रेडमा पुग्नु भो ! लोकलको लेबल ब्लाक लेबलमा उक्लियो (अब लाज सुरु भो ! झन प्रधानमन्त्री भएपछि त काङ्ग्रेसको नेता भन्दा बढी राणाको ज्वाईं देखिन थालेपछि तपाईंको राजनैतिक उत्थान सँगसँगै मेरो लाजको उत्थान पनि हुँदै गयो ! पजेरो संस्कृती तपाईंकै देन हो ! सांसद खरिदबिक्रीको पसल खोल्ने पहिलो ब्यापारी तपाईं नै हैन र ?

         हो ! त्यसबेला पनि लाज लाग्यो !

 तपाईंको निकम्मापनका कारण ‘तेरो काङ्ग्रेस’ भनेर कुनै ठेट्नाले धारेहात लाउँदा समेत निर्लज्ज हाँसो हाँस्न बाध्य मलाई त्यसबेला लाज लाग्यो जुनबेला ज्ञानेन्द्रले तपाईंलाई निकम्मा साबित गरेर जेल हाले !

       सत्ते ! धरोधर्म त्यसबेला पनि लाज लाग्यो ! 

    बीचबीचमा लाज लाग्दै गयो ! चुनावताका मेडमलाई लोकल बनाउन कैलालीमा करोडौंको महल किनेको सुन्दा पनि लाज लागेकै हो ! झन् राजदूत काण्ड, आईजिपी काण्ड, प्रधानन्यायाधीश काण्ड पछि त मलाई लाज नहुने कुरै भएन !

     यति बिघ्न लाजको भारी सहेर बसेको मलाई तपाईं कसरी हप्काउन सक्नुहुन्छ– लाज छैन ? भनेर !

       मसँग लाज छ ! प्रशस्तै छ ! प्रचूर मात्रामा छ !

   तपाईंले हप्काउनु भो– नेबिसंघ कहाँ छ ? भनेर ! तपाईंसँगै छ त नेबिसंघ जसलाई तपाईंले आफ्नो भित्री बस्त्र बनाउनु भएको छ ! बाथरुम पस्दा खोल्नुहुन्छ ! बाहिर हिँड्दा लाउनु हुन्छ ! तपाईंको लाज छोप्ने जिनिस बनेको छ नेबिसंघ ! आफू निर्लज्ज बनेर !

    दूरि कायम नगरेको, संगठन नभएको, गाउँ नगएको ! के के हो, के के ?

   दूरि कायमै छ ! काङ्ग्रेस र नेबिसंघको भेट नभएको जुगौं भैसक्यो ! भेटघाट छैन !

   अब म तपाईंलाई सोध्छु है त- 

          काङ्ग्रेस कता छ ? संगठन किन ? के का लागि ? कुनै दिन तपाईंको छोरालाई नेबिसंघको सभापतिका रूपमा जय नेपाल भन्नुपर्ने होला हामीले ! मेडमलाई माननीय भन्नु परे झैं ! जतिसुकै संगठन गरेपनि काङ्ग्रेसको नियती भनेको प्रचण्डकै छोरीलाई भोट हाल्नु त होला नि ! तपाईंकै सास राजदूत ! तपाईंकै स्वास्नी सांसद ! छोरालाई जिम्मा दिँदा भैगो नि नेबिसंघ ! किन हप्काउनु बित्थामा ? ओलीले पार्टी फोरे सत्तामा जान लगौंटी कस्दै हुनुहुन्छ ! तपाईंको सत्ता सुरक्षित छ ! अनि किन चाहियो संगठन ?

   गाउँ नगएको भनेर चर्को स्वरमा हप्काउने तपाईं कुन कुन गाउँ पुग्नु भएको छ ? झापा आउँदा चिया बगानभित्रको महलमा पटकपटक ‘ब्ल्याक लेबल’ पिउन पस्दा तुर्सा हेमरेमको झुप्रोमा कति पटक ‘ब्ल्याक टि’ पिउन पस्नु भो ? तुर्सा हेमरेमको गाउँ कुन हो ? थाहा छ ? मास्टर भैया टुडु सुन्नु भएको छ ? बिश्वनाथ घिमिरे कुन गाउँका हुन् ? बताउन सक्नुहुन्छ ?

   सक्नुहुन्न ! थाहा छैन ! तपाईंलाई बिनोद शमशेरको महल र बुढानिलकण्ठ दरबार मात्रै याद होला ! 

    अँ ! कैलालीको महल पनि याद होला कि ? डँडेल्धुराको असिग्रामको झुप्रो छ कि पहिरोले पुर्यो ?

       तपाईं चार पटक प्रधानमन्त्री भएँ भनेर कुर्लिदा लाजले पानी पानी हुँदै तपाईंका चार राम्रा काम बताउन नसकेर लज्जित भएको म ज्योतिषीले सात पटक प्रधानमन्त्री हुन्छ भनेको छ भन्दा मुलुक अझै साढेसातमै अल्झिने त्रासले त्रशित छु !

        महासय,
                  नेबिसंघसँग लाज छ ! प्रशस्तै छ ! उसैले लाज धानिदिएका कारण आज तपाईं निर्लज्ज घुम्न पाउँदै हुनुहुन्छ !

कुनै समय पञ्चायतको नाङ्गो पिठ्युँ देखेर मुर्दावाद चिच्याउने हैसियत राख्ने नेबिसंघ आज तपाईंको नाङ्गो चाक हेरेर जिन्दावाद भट्याउने हैसियतमा किमार्थ झर्दैन !
     त्यसकारण–
                 नेबिसंघको लाजको चिन्ता छोडेर आफ्नो लाजको नर्सरी स्याहार्नतिर लाग्नुस् ! नेता तपाईं नै हो तर सुध्रिनु पर्यो !

            शुभकामना !

ताजा खबर