काठमाडौं–तराई द्रुतमार्गको दूरी अझ घट्ने

२०७४ कार्तिक १६ बिहीबार ०७:१९:०० मा प्रकाशित

नेपाली सेनालाई बनाउन जिम्मा दिइएको काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को दूरी घट्ने भएको छ। 

विगतमा ७६ दशमलव २ किमि लामो बनाउने गरी प्रारम्भिक अध्ययन भएकोमा सैन्य टोलीले केही किमि छोट्याउने गरी प्रतिवेदन बनाउन लागेको हो। ‘केही किलोमिटर पक्कै घट्छ। अहिले यति नै भन्न सकिन्न, केही दिनमै प्रतिवेदन बुझाउँछौं,’ अध्ययनमा संलग्न एक अधिकारीले भने।

यसअघि निजी क्षेत्रले तयार पारेको अध्ययन प्रतिवेदनमा लम्बाइ बढाइएको र सुरुङ खन्दा हुने स्थानमा पनि सडक घुमाउने र पुल राख्न प्रस्ताव गरिएको भन्दै सेनाका प्राविधिकले यसमा पुनर्विचार गर्नुपर्ने जनाएको उच्च सैन्य स्रोतले बतायो।

मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने दु्रुत मार्गको काम लिएसँगै सेनाले विभिन्न १० स्थानमा सुरक्षा बेस राखेर ट्रयाक अध्ययन अघि बढाएको छ। भारतीय कम्पनी आईएल एन्ड एफएसले तय गरेको लम्बाइ सेनाका प्राविधिकले अध्ययन गर्दा घट्ने भएको हो। ट्रयाक सेनाले नै खोलेकाले आफ्ना प्राविधिकले गरेको स्थलगत अध्ययन निर्णायक हुने सेनाको दाबी छ। निजी कम्पनीले ‘गुगल म्याप’ लाई आधार बनाएर गरेको प्रारम्भिक अध्ययनमा सुधार गर्नुपर्ने सैन्य टोलीले ठहर्‍याएको छ। टोलीले केही दिनमै यस्तो सुझाव दिने अधिकारीहरूले बताए।

दक्षिणकाली नगरपालिकाको मख्खुबेसीमा एउटा शिविर तयार गरिसकेको सेनाले अन्य ९ स्थानमा पनि काम अन्तिम चरणमा पुर्‍याइसकेको छ। ती स्थानमा हेलिप्याड र सुरक्षा टुकडी व्यवस्थापनको काम सकिनै लाग्दा सेनाले भारतीय कम्पनीबाट तयार प्रारम्भिक प्रतिवेदनमाथि अध्ययन अघि बढाएको हो। यसअघि दुवैतिर रेलिङसहित ३१ मिटर फराकिलो सडकको बीचमा एक मिटर चौडा डिभाइडर रहने गरी तय गरिएको मोडल भने त्यही रहने भएको छ।

‘समय कम भएकाले डीपीआर खरिद गरी काम अघि बढाउने प्रक्रिया थालिसकिएको छ। डीपीआरमा सुधार गर्नुपर्ने भए प्राविधिक टोलीले अध्ययन गर्नेछ,’ सेनाका प्रवक्ता सहायक रथी नयनराज दाहालले भने, ‘सेनाले समयमै काम सक्न कुनै कसर बाँकी राख्दैन। राष्ट्रिय गौरवको परियोजना भएकाले यही तबरमा लिइएको छ।’ लम्बाइ घट्नेबारे भने प्रतिवेदन नआएसम्म केही भन्न नसकिने जनाउँदै उनले बाटोको समग्र पक्षबारे नै छलफल भइरहेको प्रस्ट्याए। दु्रतमार्गमा करिब २ किलोमिटर लामो सुरुङ र ९२ वटा पुल रहनेछन्।

‘मन्त्रिपरिषद् निर्णयअनुसार फास्ट ट्रयाक निर्माणका लागि निर्देशक समिति गठन भएर काम अघि बढेको छ। फिल्ड रिपोर्ट पनि आइसकेकाले यसमा अध्ययन हुँदा लम्बाइ केही घट्ने भएको हो,’ एक प्राविधिकले भने। सेनाको युद्धकार्य महानिर्देशक, इन्जिनियरिङ महाशाखा प्रमुख, भौतिक पूर्वाधार तथा यातायात, अर्थ र रक्षा मन्त्रालयका सहसचिवसमेत सदस्य रहने समितिबाट अनुगमन, सुझावसँगै प्राविधिक अध्ययन पनि भइरहेको अधिकारीले बताए। परियोजना प्रमुख तथा सेनाका उपरथी योगेन्द्र खाँडले काम समयमै सक्ने गरी डीपीआर अध्ययन भइरहेको जानकारी दिए। कान्तिपुर दैनिकबाट ।

ताजा खबर