झन्डै १६ अर्ब रुपैयाँ राजस्व छली मुद्दा

२०७७ श्रावण ६ मंगलबार १०:००:०० मा प्रकाशित

काठमाडौं । राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्ष २०७६-७७ मा राजस्व छली र विदेशी विनिमय अपचलनसम्बन्धी कसुरका गरी १६ अर्ब रुपैयाँभन्दा बढीको मुद्दा दायर गरेको छ । विभागले एक वर्षको अवधिमा १५ अर्ब रुपैयाँभन्दा बढीको राजस्व छली र करिब ८० करोड रुपैयाँको विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा सम्लग्न विभिन्न फर्म, कम्पनी तथा व्यक्तिविरुद्ध मुद्दा दायर गरको हो ।

एक वर्षको अवधिमा १ हजारभन्दा बढी फार्म, कम्पनी तथा व्यक्तिविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर भएको थियो । गत आर्थिक वर्षको अन्त्य एवं असारको अन्तिम साता मात्रै विभागले ७ अर्ब रुपैयाँभन्दा बढी राजस्व छलीमा संलग्न फार्म तथा व्यक्तिविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूविरुद्ध बिगो दाबी असुल्न र विगोको दोब्बर जरिमाना एवं कैद सजायको माग दाबी गर्दै विभिन्न उच्च अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार राजस्व छलीमा संलग्न हुनेहरूले राजस्व चुहावट गर्ने क्रममा आफ्नो कम्पनीले तिर्नु नपर्ने खरिदको लागत देखाउने, मालवस्तु बिनाबिल र बिजक बिक्री गर्ने, मौज्दात खातामा मालवस्तु देखिने तर गोदाममा मालवस्तु नदेखाउने, झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर(भ्याट) बिजक प्रयोग गर्ने गरेको भेटिएको थियो ।

यसैगरी, कमजोर आर्थिक अवस्था भएका मजदुरहरूको नाममा नक्कली फार्म खडा गरी झुटा विवरण पेस गर्ने, अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने, फल्सबटम बनाउने, विदेशी विनिमय अपचलन तथा अवैध हुन्डी कारोबारमा संलग्न, नक्कली बिजक प्रयोग गर्नेदेखि लिएर भ्याट बिलको नक्कली कारोबारमा संलग्नलगायतका तरिका अपनाएर राजस्व छल्ने गरेको भेटिएको थियो ।

सो अवधिमा गैरकानुनी रूपमा नेपाल भिœयाइएका चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सार नाकाबाट ठूलो परिमाणको तयारी मासु समेत काठमाडौं ल्याएको भेटिएको थियो । राजस्वमाराहरूले अपनाइरहेका विभिन्न तरिकासँगै सो अवधिमा विभिन्न बैंकका एटीएम ह्याक गर्नेदेखि नक्कली चेक बनाएर बैंकबाट करोडौं रुपैयाँ निकाल्ने काम र बैंकिङ चोरीका घटनासमेत भएका थिए ।

गत आवको अन्त्य एवं असारमा मात्रै विभागले करिब ७ अर्ब रुपैयाँभन्दा बढी राजस्व छलीमा संलग्न फार्म तथा व्यक्तिहरूविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरेको थियो । राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन संशोधन भएसँगै अहिले विभागले उच्च अदालतमा मुद्दा दायर गर्न थालेको छ ।

२३ फागुन २०७४ मा विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत ल्याएदेखि अहिलेसम्म राजस्व चुहावटको कसुरमा हजारौं व्यक्ति तथा फार्मविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

यस अवधिमा राजस्व छलीका अनेक रूप अपनाउनेहरूले अहिले नियन्त्रित वस्तुहरूको आयात गर्दा, बढी भन्सार दर भएका मालवस्तु एवं धेरै मूल्यका सवारी साधन भिœयाउँदा विभिन्न तरिका अपनाएर राजस्व छली गर्ने गरेको पाइएको पनि विभागले जानकारी गराएको छ । सरकारले विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत ल्याएदेखि अहिलेसम्म राजस्व चुहावटको कसुरमा ८ जना राष्ट्र सेवक कर्मचारीसहित कुल ५ सय २१ जनाविरुद्ध करिब १३ अर्ब रुपैयाँभन्दा बढी बिगो कायम गरी बिगोको दोब्बर जरिमाना र ३ वर्षसम्म कैद माग दाबीसहित विभिन्न जिल्ला अदालतमा मुद्दा दायर भएको पनि विभागले जानकारी गराएको छ ।

के भन्छन् महानिर्देशक मैनाली ?
विभागका महानिर्देशक दीर्घराज मैनालीले अनुगमन एवं विशेष सुराकीका आधारमा विभागले एक वर्षमा राजस्व छली र विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा संलग्न विभिन्न फार्म, कम्पनी तथा व्यक्तिहरूविरुद्ध करिब १६ अर्ब रुपैयाँको मुद्दा दायर भएको बताए । उनले अझै विभिन्न जिल्लामा भएका राजस्व छलीका सम्पूर्ण विवरण छुट्याएर निकाल्नै बाँकी रहेको बताए ।

अब केही दिनमा सबै विवरणसहितको तथ्यांक सार्वजनिक गरिने जानकारी गराउँदै उनले विभिन्न गोप्य सूचना एवं संयन्त्रबाट आएका प्रमाणका आधारमा अनुसन्धान गर्दा राजस्व छलीमा संलग्नहरूको अवैध धन्दा फेला पारेको बताए । उनले लकडाउनको अवधिमा पनि राजस्व छल्न खोज्नेहरूविरुद्ध यस विभाग निकै सक्रिय भएको बताए ।

आफूहरूले कुनै टार्गेट पु-याउन नभएर नियमित प्रक्रियाअनुसार नै विभिन्न कसुरका मुद्दा विभिन्न अदालतमा दायर गरेको जानकारी गराउँदै विभागका महानिर्देशक मैनालीले भने, ‘हाम्रो अनुसन्धान र मुद्दा दायर गर्ने आफ्नै प्रक्रिया र पद्धति हुन्छन्, त्यसैअनुसार मुद्दा लैजानुपर्ने हुन्छ ।’ उनले कुनै लक्ष्य पु¥याउन मात्र नभएर प्रक्रियासम्मत मुद्दा विभिन्न अदालतमा दायर गरिएको बताए ।

उनले विभागले अनुसन्धान अधिकृत तोकेको बढीमा ९ महिनाभित्र विस्तृत अनुसन्धानसहित सरकारी वकिलमार्फत अदालतमा मुद्दा लगिसक्नुपर्ने प्रावधानअनुरूप आफूहरूले कानुनी प्रक्रिया अघि बढाउने गरिएको बताए ।

मैनालीले राजस्व अनुसन्धान विभागको महानिर्देशक भएर आएयता मूल्य अभिवृद्धिकर (भ्याट) को नक्कली बिजक बनाउने र त्यसैअनुसार कारोबार गर्नेमाथि अनुसन्धान अघि बढाएका छन् । विगतका वर्षको तुलनामा अहिले ठूलो रकमको मुद्दा विभिन्न अदालतमा गएका कारण कुनै लक्ष्य पु-याउन मुद्दा लगेको छ कि जस्तो लागेको हुन सक्ने बताउँदै महानिर्देशक मैनालीले भने, ‘हामी रकम कति छ भन्ने हेर्दैनौ । अनुसन्धानबाट जे देखिन्छ, त्यसैअनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने हो ।’

विभागले मूल्य अभिवृद्धि करको नक्कली बिजक बनाउने, कारोबार लुकाउने र राजस्व अपचलन गर्नेमाथि थप अनुसन्धानको तयारीसमेत गरेको उनले जानकारी दिए । उनले राजस्वमाराहरूले योजनाबद्ध रूपमा गरेको यस्तो कार्यविरुद्ध अहिले यस विभाग कडा रूपमा प्रस्तुत भइरहेको जानकारी गराए ।
(राजधानी दैनिकबाट)

ताजा खबर