अफगानिस्तानको भीडन्तमा २४ भन्दा धेरै मारिए, १० घाइते

२०७७ श्रावण ६ मंगलबार ०९:१८:०० मा प्रकाशित

काबुल : अफगानिस्तानको कुन्दुज प्रान्तमा सुरक्षाकर्मी र तालिबानबीच भएको भीडन्तमा २४ जना भन्दा धेरै मारिएका छन् ।

प्रहरीले तालिबानी आक्रमणको प्रतिकार स्वरुप गरेको कारवाहीको क्रममा एक दर्जन बढी तालिबानी मारिएको जानकारी दिएको छ । साथै १२ जना सुरक्षाकर्मी पनि मारिएको जनाइएको छ ।
सरकारी अधिकारीहरुका अनुसार सोमबार बिहान उत्तर कुन्दुजस्थित प्रहरी चौकीमा तालिबानी समूहले हमला गरेको थियो ।

उक्त आक्रमणपछि सुरक्षाकर्मी र तालिबानीबीच दोहोरो गोली हानाहान भएको थियो । जहाँ १० जना घाइते समेत भएका छन् । सुरक्षाकर्मी र लडाकुतर्फ कतिको क्षति भयो भन्ने यकिन विवरण भने आइसकेको छैन । यद्यपि प्रहरीले १२ जना सुरक्षाकर्मीको ज्यान गएको जनाएको छ ।

यसवाहेक १२ भन्दा बढी लडाकुको ज्यान गएको स्थानीय मिडियाले जनाएका छन् । सोही क्षेत्रमा अफगान सेनाको कारवाहीको क्रममा २५ भन्दा धेरैको मृत्यु भएको थियो । अफगानिस्तानमा तालिबानीसँगको वार्ता विफल भएपछि तालिबानी समूह पछिल्लो समय आक्रामक बन्दैआएको छ ।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर