ओलीसँग मिलेर जाने दाहालको संकेत

२०७७ श्रावण ६ मंगलबार ०८:३०:०० मा प्रकाशित

नेकपाको आन्तरिक विवाद नयाँ चरणमा प्रवेश गरेको छ। अध्यक्ष पुष्पकमल दाहालले निकटका स्थायी कमिटी सदस्यहरूसँग सोमबार बिहान आफ्नै निवासमा छलफल गर्दै प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जाने संकेत गरेका हुन्। प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद ओलीले छाड्नुपर्ने अडान राख्दै आएका दाहाल ओलीसँग मिलेर अघि बढ्ने पक्षमा पुगेपछि नेकपाभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद नयाँ चरणमा प्रवेश गरेको हो।  

ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन वरिष्ठ नेता माधवकुमार नेपालसहित लागि परेका दाहाल एकाएक ओलीसँग मिलेर जाने संकेत गरेका हुन। वैचारिक रुपमा पूर्वएमालेहरु एक ठाउँमा उभिएको र आफूहरु पनि वैचारिक रुपमा एकै ठाउँमा हुनुपर्ने धारणा राख्दै दाहालले अहिलेको अवस्थामा ओलीसँग नजिक हुँदा बढी लाभ लिन सकिने संकेत गरेको भेलामा सहभागी एक नेताले बताए।  

वरिष्ठ नेता नेपालले महाधिवेशन गर्ने हो भने जनताको बहुदलीय जनवाद (जबज) लाई बहसका लागि खुला गर्नुपर्ने धारणा आइतबार सार्वजनिक गरेका थिए। नेपालले आफू जबजको पक्षमा रहेको र महाधिवेशनअघि जबज खुला गर्नुपर्ने बताएपछि दाहालले पूर्वमाओवादीका नेतालाई आफ्नो निवासमा बोलाएर पूर्वएमालेहरु सैद्धान्तिक रुपमा एक भए आफूहरु पनि एक हुनुपर्ने धारणा राखेका थिए। ‘दाहालले बोलाएर महाधिवेशन हुने भयो भने आफ्नो वैचारिक धारणालाई तलसम्म लैजानुपर्ने र आफू पनि एकजुट भएर लाग्नुपर्ने बताउनुभयो’, दाहाल निकट नेताले भने। उनका अनुसार सोमबारको भेलामा उपस्थित भएका अधिकांश सदस्यले ओलीको दम्भ तोडिनुपर्ने तर तत्कालका लागि उनीसँगै मिलेर जानुपर्ने सुझाव दिएका थिए।

प्रधानमन्त्री ओलीले एकता महाधिवेशनबाट नेतृत्व विवाद टुंग्याउनुपर्ने भन्दै सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्न प्रस्ताव राखेपछि दाहालले पनि सहमति जनाएका थिए। सोमबारको भेलामा पार्टी एकता जोगाउन प्रधानमन्त्रीलाई सहयोग गर्नुको विकल्प नभएको दाहालले स्पष्ट पारे। दाहालले स्थायी कमिटी बैठक धेरै दिन नलम्ब्याउने पनि बताएका थिए।  

भेलामा सहभागी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आपूmहरुले पार्टी एकता बचाएर जान दाहाललाई सुझाव दिएको बताए। ‘हामी सबैले अहिलेको अवस्थामा पार्टी एकता बलियो बनाउने र प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने साथै जनताको अभिमतको पनि रक्षा गर्नुपर्ने सुझाव दिएका छौ’, स्थायी कमिटी सदस्य गजुरेलले भने।

पछिल्लो समयमा दाहालले धोका दिएको महसुस गरेको नेपाल पक्षले जबजमा बहस हुनुपर्ने प्रस्ताव अघि सारेको छ।  दाहलले ओलीले सघाउने संकेत गरेपछि नेपाल समूह एक्लिएको छ। शनिबार ओलीको प्रस्तावमा दाहालले सहमति जनाएपछि बैठकमै नेपालले दुवै अध्यक्षले चोचोमोचो मिलाएर सहमति गरे आफू विधिको विषयमा देशव्यापी कार्यकर्तामाझ जाने बताएका थिए।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर