अक्सफोर्डले बनाएको कोरोना भ्याक्सिन सुरक्षित

२०७७ श्रावण ६ मंगलबार ०८:२५:०० मा प्रकाशित

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनो भाइरसविरुद्धको भ्याक्सिन सुरक्षित र प्रतिरक्षा प्रणालीलाई मजबुत पार्ने खालको देखिएको छ।  

एक हजार ७७ जनामा परीक्षण गरिएको सो भ्याक्सिनले भाइरसविरुद्ध ‘एन्टीबोडी’ निर्माण र रोगसँग लडने ‘टी–सेल’ बनाउन सहयोग गरेको पाइएको बिबिसीले जनाएको छ। यो परीक्षणको निष्कर्ष आशाजनक रहेको तर यसले भाइरसबाट पूर्ण रूपमा सुरक्षित पार्न सक्ने वा नसक्नेबारे भने थप बृहत् परीक्षण आवश्यक रहेको बताइएको छ। बेलायत १० करोड भ्याक्सिनको डोज निर्माणका लागि अर्डर दिइसकेको बिबिसीले जनाएको छ। चिम्पान्जीलाई रुघाखोकी लगाउन जिम्मेवार रहेको तथा अनुवांशिक रूपमा ‘इन्जिनियर्ड’ गरिएको भाइरसबाट यो भ्याक्सिन बनाइएको पनि बिबिसीले जनाएको छ। यसलाई बृहत् रूपमा परिमार्जित गरिएको, मानिसलाई संक्रमण नगर्ने र कोरोना भाइरसजस्तै देखिने बनाइएको बताइएको छ। यो भ्याक्सिन सुरक्षित भएको तर केही साइड इफेक्ट रहेको बताइएको छ। तर परीक्षण गरिएकामध्ये ७० प्रतिशत मानिसलाई ज्वरो आउने अथवा टाउको दुख्ने लक्षण देखिएको छ। तर, अनुसन्धानकर्ताले सामान्य सिटामोलको सेवनले यो साइड इफेक्टको असर नियन्त्रण गर्न सकिने बताएका छन्।

विश्वविद्यालयका प्राध्यापक सराह गिलवर्टले प्रारम्भिक नतिजा अत्यन्त उत्साहजनक रहेको बताइन्। आगामी चरणमा थप १० हजारजनामा यो भ्याक्सिनको परीक्षण गरिने तयारी रहेको बताइएको छ।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर