कालीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सारियो

२०७७ श्रावण ६ मंगलबार ०८:१७:०० मा प्रकाशित

म्याग्दी — कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । भारी वर्षापछि म्याग्दी, राहुघाट, रुप्से र मुस्ताङका कैकु र घाँसा खोलामा पानीको बहाव बढ्दा कालीगण्डकी नदीले सतर्कता तह पार गरेको छ । कालीगण्डकीको सतर्कता तह ४ मिटर हो । सोमबार राति १० बजे बहाव ४ दशमलव ३१ मिटर पुगेको हो ।

 

जल सतह बढ्दै गएकाले कालीगण्डकीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सोमबार साँझदेखि माइकिङ गर्दै सुरक्षित स्थानतर्फ सारिएको छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीस्थित सीमा प्रहरी चौकीसहित बस्ती, दाना बस्ती र सदरमुकाम बेनीमा जोखिम बढेको भन्दै ती क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आह्वान गरिएको हो । नदी क्षेत्रका विभिन्न खण्डमा बाढीको निगरानी गर्न सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । म्याग्दी नदीमा पनि जल सतह बढेपछि पश्चिम दरवाङ बजारदेखि बेनीसम्मका तटीय बस्ती कटानको जोखिममा परेका छन् । नदी किनारका कालीपुल, पारिवौर, पारिबेनीको सुकुम्बासी बस्तीका स्थानीयलाई सुरक्षितस्थलतर्फ सारिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

राहुघाट खोलाको बाढीले कालीगण्डकी नदीको धार परिवर्तन गरेकाले पारि मल्लाजतर्फ रहेको राममन्दिरको आश्रम बगाएको छ । भारी वर्षापछि धौलागिरि हिमालको फेदीबाट झर्ने रुप्से झरनाले एक होटलमा पार्किङ गरिएको एक्स्काभेटर र बस बगाएको स्थानीय इन्द्रसिं शेरचनले बताए ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से छहरा नजिकैको ठाडो खोलाको बाढीले एक जनालाई बगाएको स्थानीय रीता बरुवालले दाबी गरिन् । तर प्रहरीले बाढीमा कोही बेपत्ता भएको बारे कुनै जानकारी नपाइएको बताएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार तल्लो घाँसाको ठाडो खोलाको बाढीले बेनी–जोमसोम सडकमा निर्माणाधीन पुल बगाएको छ ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर