‘घर खोसियो, न्याय पाऊँ’

२०७७ श्रावण ५ सोमबार ०९:२७:०० मा प्रकाशित

काठमाडौं । बालुवाटार टुडालदेवीस्थित गुरुमा मार्गमा ४२ वर्षदेखि स्थायी बसोबास गर्दै आएकी ८२ वर्षीया ज्येष्ठ नागरिक ठूलीमाया सुनुवार (परौठा आमा)लाई क्षतिपूर्तिसहित पूनस्र्थापित गर्न माग गरिएको छ ।

टोल सुधार समिति अध्यक्ष श्रीनारायण प्रजापति र घरजग्गा कारोबारी राजकुमार थपलियाले जबर्जस्ती विस्थापित गरेकोप्रति आपत्ति जनाउँदै पञ्चकन्या युवा क्लबले ‘परौठा आमामाथि ठूलो ज्यादती र अन्याय भएको’ बताउदै यस्तो माग गरेको हो ।

४२ वर्षदेखि ८० हजार रुपैयाँमा किनेर भोगचलन गर्दै आएको घरजग्गा आज आएर जबर्जस्ती र ललाइफकाइ र डर, धम्की देखाएर लकडाउनकै समय विस्थापित गरिएको उनको गुनासो 

राजधानी आइतबार पत्रकार सम्मेलन गर्दै क्लब अध्यक्ष सुमन लिम्बुले परौठा आमाले चार दशकभन्दा बढी समयदेखि जग्गा भोगचलन गर्दै आएको र २०४५ सालको नक्सामा कित्ता नम्बर १२८ मा पुरानो माटोको घर देखिएको दावी गरे । ‘आमाको नागरिकता पनि वडा नम्बर ४ कै छ, मतदाता परिचयपत्र पनि यही वडाको छ,’ उनले भने, ‘यी परिचयपत्रमा १०७९ भनेर घर नम्बर पनि उल्लेख छ ।

बिजुली बत्ती र खानेपानी बिलमा पनि यो घर उहाँकै नाममा दर्ता छ । सरकारबाट खाइपाइ आउनुभएको वृद्धभत्तालगायत सुविधा पनि यही वडाबाट प्राप्त गर्दै आउनुभएको छ । यी सबै कुराले यो उहाँकै घर जग्गा हो भन्ने प्रमाणित हुन्छ ।’

‘परौठा आमा’लाई न्याय दिलाउने अभियानमा आफूहरू होमिइसकेकाले न्याय नदिलाएसम्म अभियान समाप्त नहुने उनले बताए । ‘परौठा आमाका छोराछोरी सबैले यही वडा ४ कै नागरिकता छ,’ क्लब अध्यक्ष लिम्बले भने, ‘अचम्मको कुरा, ४२ वर्षदेखि स्थायी रूपमा घरजग्गा किनेर बसोबास गर्दे आउनुभएको सुनुवार परिवारको जग्गा उपभोग र भोगचलन गर्ने अधिकार छैन भने सोही जग्गाको पछाडि नया“ घर निर्माण गर्ने राजकुमार थपलियाको सो जग्गासहित बाटोकोसमेत जग्गा उपभोग गर्न अधिकार कसरी भयो ?’

पीडित भनिएकी ठूलीमाया सुनुवार (परौठा आमा)ले आफूमाथि ठूलो अन्याय भएको गुनासो पोखिन् । ४२ वर्षदेखि ८० हजार रुपैयाँमा किनेर भोगचलन गर्दै आएको घरजग्गा आज आएर जबर्जस्ती र ललाइफकाइ र डर, धम्की देखाएर लकडाउनकै समय विस्थापित गरिएको उनको गुनासो छ ।

आफूलाई ‘टोल सुधार समितिको मान्छे र भूमाफिया मिलेर विस्थापित गरिएको’ उनले भन्दै न्यायका लागि राज्यसँग अपिल गरेकी छन् । ‘मलाई आज आफ्नै घरजग्गाबाट विस्थापित गरियो । मेरो छोरोसमेत घरमा नभएको बेला यसरी विस्थापित् गरिएको हो,’ उनले भनिन्, ‘अब म खुल्ला आकाशमुनि सुत्न बाध्य भएकी छु । परौठा बनाएर बेच्ने सानो पसल थियो । त्यो पनि अहिले बन्द भयो । अब मेरो जाने ठाउँ कहीँ पनि छैन । जनप्रतिनिधिकै घरमा गएर ओछ्यान लगाएर सुत्न बाध्य हुनेछु ।’

सामाजिक अभियन्ता किशोर सुनुवारले परौठा आमालाई न्याय दिनुपर्ने माग गरे । नागरिकता, घर नम्बर, मतदाता नामावली सबै यही वडाबाट हासिल गरेकी परौठा आमालाई अहिले आएर भुमाफिया र टोल सुधार समितिको मिलेमत्तोमा सुकुम्बासी बनाएको उनले आरोप लगाए । परौठा आमालाई स्थानीय सरकारले तत्काल पुनस्र्थापना गर्नुपर्ने उनको माग छ । देशव्यापी रूपमा आमालाई साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि अझै धेरै सहयोग र साथ गरिदिनुहुन आग्रह गरे ।
(राजधानी दैनिकबाट)

ताजा खबर