आज साउनको पहिलो सोमबार : उपत्यकाभरका शिवालय सुनसान

२०७७ श्रावण ५ सोमबार ०९:१२:०० मा प्रकाशित

ललितपुर । कोरोना कहरका कारण साउनको पहिलो सोमबार प्रभावित बन्न पुगेको छ । विगतमा पहिलो साउने सोमबारका दिन शिवालयमा व्रतालुको उल्लेख्य भिड लाग्ने गरिए पनि यो वर्ष कोरोना संक्रमण बाधक बन्न पुगेको हो ।

अघिल्ला वर्ष पशुपतिनाथलगायत उपत्यकाका शिवालयमा भक्तजनको भिड लाग्ने गरे पनि यसपाली ती मन्दिर सुनसान देखिएका छन् । सरकारले कोरोना महामारीका कारण मठमन्दिरलगायत पूजाआजास्थल खुला गर्ने निणर्य गरिसकेको छैन । जसका कारण सोमबार पशुपतिनाथ मन्दिरसहितका शिवालयमा भक्तजन जान पाएनन् । ती मन्दिरमा नित्यपूजा भने रोकिएका छैनन् ।

केही मन्दिरमा सामाजिक दुरी र सावधानी अपनाएर भक्तजनले ल्याएका फूलप्रसाद पुजारीमार्फत चढाउने व्यवस्था मिलाइएको छ । काठमाडौं पशुपतिनाथ, कोटेश्वर, गोपालेश्वर, गोकर्णेश्वर, त्रिपुरेश्वर, नागेश्वर तथा भक्तपुरको डोलेश्वर, अनन्तलिंगेश्वर, साँगा महादेव, सुवर्णेश्वरलगायत मन्दिरमा खासै चहलपहल देखिएको छैन ।

यता, ललितपुर पाटनस्थित कुम्भेश्वर, सुनाकोठीको भृंगारेश्वर, ठेचो ढल्केश्वर, लेले तिलेश्वर र पशुपतिनाथ, झरुवाराशीको सन्तानेश्वर, चापागाउ“को जीवनेश्वर, लुभु गोब्राटेश्वर र गोटीखेल कालेश्वरमा नित्यपूजामात्र हुने भएको छ ।

पशुपतिनाथ नखुल्ने
सरकारले लकडाउनको मोडल खुकुलो गरे पनि मठमन्दिरलगायत भीडभाड हुने धार्मिकस्थल खोल्ने निर्णय नगरेकाले पशुपतिनाथ मन्दिर नखोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

‘सरकारले नै संक्रमण खतरा मध्यनजर गर्दै मठमन्दिर नखोल्नु भनेकाले पूजाआजा र दर्शनका लागि मन्दिर खोली हाल्न मिलेन,’ कोषका सदस्यसचिव डा. प्रदीप ढकाल भन्छन्, ‘साउने सोमबार अत्यधिक भक्तजनको उपस्थिति हुने समय भए पनि के गर्नु ? संक्रमण झन् फैलिरहेको छ ।’

कसैको आस्था, विश्वासमा ठेस या आघात पु¥याउने आशय नभए पनि परिस्थितिले बाध्य बनाएको ढकाल बताउ“छन् । यद्यपि, पशुपतिनाथ मन्दिरमा भट्टलगायतका पूजारीबाट नित्यपूजा भने भइरहेको उनले जानकारी दिए ।

‘पूजारीमा संक्रमण देखियो भने भक्तजनमा फैलनसक्ने जोखिम भएकाले अहिल्यै मन्दिर खुल्दैन,’ कोषका ढकालले राजधानीसँग भने, ‘केही समयका लागि दर्शन गरेर फर्कने गरी प्रोटोकल बनाएर लागू गर्ने तयारीमा छौं ।’

साउने सोमबारका दिन भक्तजनले शिव भगवानको भजनकिर्तन र स्तुति गर्दै व्रत बसेर बोलबम भर्ने चलन पनि छ । यसदिन बिहानैदेखि पहेंलो वस्त्र लगाएर शिव भगवानको व्रत बसेर घल्चा या घैलामा भरेको पानी टाउकोमा राखेर शिवालयसम्म बोलबम भर्ने चलन छ ।

तर, संक्रमणकालीन अवस्थाका कारण काठमाडौं सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउन सम्भव नभएको कोषले जनाएको छ ।

यसपाली ५, १२, १९ र २६ साउन गरी ४ वटा सोमबार परेका छन् । यसदिन व्रत बसेर भगवान शिवको ध्यान गरी पुजाअर्चना गर्ने चलन छ । हिन्दू धर्मावलम्बी महिला व्रत बसेर पतिको सुस्वास्थको कामना गर्ने गर्छन् भने अविवाहित सुयोग्य वर प्राप्तिका लागि व्रत बस्ने जनविश्वास छ ।

साउने सोमबारको व्रत बस्नाले चिताएको पुग्ने धार्मिक विश्वास छ । हातभर मेहन्दी, हरियो र पहेंलो चुरा र हरियै वस्त्र लगाउने चलन पनि बढ्दै गएको छ । तर, कोरोना प्रभाव भएकाले यी वस्तु प्रयोगमा समेत कमी आउने आँकलन गरिएको छ ।

परम्परादेखिकै व्रत भए पनि पछिल्लो समय साउने सोमबारको व्रत धर्म र आस्थाका लागिभन्दा फेसन र देखावटी होडबाजीतर्फ गएकोप्रति संस्कृतिविद् एवं धर्मका अनुयायी चिन्तित देखिएका छन् ।

सन्तानेश्वरमा संकल्पसहित पूजा
कोरोना संक्रमण ध्यानमा राख्दै झरुवारासी श्रीसन्तानेश्वर महादेव संरक्षण तथा सम्बर्धन सेवा संघले भक्तजनलाई मन्दिरमा प्रवेश गरी पूजा गर्न रोक लगाएको छ ।

संघ अध्यक्ष विनोद खड्काका अनुसार कसैको धर्म संस्कृति र आस्थामाथि ठेस पु¥याउने काम नहुने, बरु संक्रमण खतरा मध्यनजर गर्दै सरकारको अनुरोध पालना गरिने छ ।

‘सरकारले तत्काल मठमन्दिर खोल्न भनिसकेको छैन, संक्रमण पनि देखिइरहेको अवस्थामा सरकारले भनेको मान्नुपर्छ,’ उनले भने, ‘व्यवस्थापन समितिको निर्णयअनुसार सामूहिक भक्तजनको संकल्प र पूजारीले जलसहित पूजा गरिदिने निर्णय भएको छ । सुरक्षा निकायको सुझावका आधारमा यस्तो गरिएको हो ।’

उपत्यकाको सहरी भेगनजिकैको सन्तानेश्वर मन्दिर झरुवारासी फेदीबाट सय मिटर उचाईमा छ । भगवान शिवले मृतावस्थाकी सतिदेवीको शरीर बोकेर हि“ड्नेक्रममा नेपालको ऊँकारेश्वरमा सतिदेवीको उपल्लो ओठ पतन भएको थियो । त्यहाँ कल्पवृक्ष आइ तपस्या गरेर चिताएको फलाउनसक्ने वरदान पाएको श्रीस्वस्थानी व्रतकथामा उल्लेख छ ।

सन्तानेश्वरमा पुजाआजा गरी दर्शन गरे पनि पुण्य मिल्ने जनविश्वास छ । सन्तानेश्वर महादेवमा गएर सन्तान प्राप्तिको कामना गरे पूरा हुने धार्मिक विश्वास छ । ‘निःसन्तान दम्पति सन्तानको कामनासहित आउँछन्,’ इन्जिनियरसमेत रहेका संघ अध्यक्ष खड्काले भने, ‘कतिजनाले त सन्तान भएपछि यहाँ आएर लाखबत्ती र हवन तथा रुद्री गर्ने गरेका छन् ।’
(राजधानी दैनिकबाट)

ताजा खबर