सशस्त्र प्रहरी र अज्ञात समूहबीच झडप

२०७७ श्रावण ५ सोमबार ०८:३८:०० मा प्रकाशित

झापा : नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिका-५ धन्द्राखोला नजिक शनिबारराति सशस्त्र प्रहरी र अज्ञात समूहबीच झडप भएको छ। 

झडपका क्रममा प्रहरीले चार राउण्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बल नम्बर १ बाहिनीका डीआईजी नगेन्द्रबहादुर थापाले जानकारी दिए। 

सशस्त्रको बीओपी गौरीगञ्जमा वरिष्ठ हवल्दार ज्ञानबहादुर तामाङको नेत्रृत्वमा रहेको छ जनाको गस्ती टोलीमाथि अज्ञात समूहले राति करिब साढे ९ बजेतिर आक्रमण सुरु गरेको थियो। 

उनका अनुसार गस्ती टोली १५२ नम्बरको सीमास्तम्भ छेउमा पुगेपछि ४०/५० जनाको संख्यामा रहेको समूहले ढुंगामुढा गर्दै आक्रमण सुरु गरेको थियो। 

प्रहरीमाथि भाटा, लाट्ठी र चिर्पटले पनि प्रहार गरेको बताइएको छ। उनीहरुले ड्युटीमा रहेका प्रहरीको पोसाक समेत च्यातिदिएको थापाले बताए। आक्रमणमा परेर सशस्त्रका जवान विदुर खत्री र रोमन बस्नेत घाइते भएका छन्। 

उनीहरुको टाउको र ढाडमा चोट लागेको छ। जवाफी फायरपछि तितरवितर बनेको उक्त समूह भारततिर भागेको थियो। उक्त समूहको खोजी भइरहेको प्रहरीले बताएको छ। 
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर