बर्खा लाग्यो कि त्राहिमाम्

२०७७ श्रावण ५ सोमबार ०८:२९:०० मा प्रकाशित

लक्ष्मणपुर बाँधको ढोका बन्द हुँदा राप्ती किनारका बस्तीमा पस्छ भेल

लक्ष्मण पोखरेल। बुटवल/शंकरप्रसाद खनाल। नेपालगन्ज/हरि शर्मा। नवलपरासी : प्रदेशसभा बैठकमा सांसद अष्टभुजा पाठकले केही अघि भनेका थिए, ‘भारतले सीमा क्षेत्रमा नहर र सडकका नाममा ठूलो बाँध बनाइरहेको छ।’ प्रदेश ५ सरकार त्यसप्रति गम्भीर बनेन। बर्खा लागेपछि सीमावर्ती क्षेत्रमा तिनै संरचना अभिशाप बन्न थालेका छन्।

रूपन्देहीको मर्चवार क्षेत्रका सांसद पाठकका अनुसार भारतले दसगजानजिकै ठूलो नहर बनाइरहेको छ। जसको उचाइ २५ फिट र चौडाइ सय मिटर छ। मर्चवारी गाउँपालिका–१ समेरा र सम्मरीमाई गाउँपालिका–१ यसकै कारण डुबानमा पर्दै छन्। मर्चवारका लागि खुर्दलोटन बाँध समस्या थियो। त्यसकै कारण अझै धान बाली डुबाउँछ। त्योभन्दा पनि नयाँ संरचनाले मर्चवार डुबाउने सांसद पाठक बताउँछन्। ‘मेरो खेत पनि डुबानमा परिरहन्छ’, उनी भन्छन्, ‘भारतले नयाँ नहर र सडकका नाममा सीमामा ठूलो पर्खाल लगाइरहेको छ। यसले मर्चवार क्षतविक्षत गर्छ।’

भारतले नवलपरासीबाट बाँकेसम्म सडक बनाइरहेको छ। रुपन्देहीको रोहिणी गाउँपालिकामा दसगजाको सयदेखि ३० मिटरनजिक अग्लो सडक बनाएका कारण नेपाली भूभाग डुबानमा पर्ने स्थानीय बताउँछन्। ‘अहिले धेरै पानी नपरेकाले आहाल मात्रै छ’, मर्चवारका ५२ वर्षीय उमेश कुर्मी भन्छन्। २०७४ मा उनको ७ बिगाहामा लगाइएको धान बाली नष्ट भएको थियो। खुर्दलोटनबाटै आजित उनीहरू नयाँ संरचनाले झन् डुबान पर्ने चिन्तामा छन्। कपिलवस्तुका किसान महलीसागर बाँधका कारण प्रताडित छन्। यशोधरा–६ बैदौलीको कैयौं हेक्टर जमिन डुबानमा पर्छ। महलीसागर बाँधमा निकास नहुँदा बाली डुबान हुने गरेको स्थानीय मोहम्मद सफिद पठान बताउँछन्। गत वर्ष उनकै ४० बिगाहाको धान नोक्सान भएको थियो। यो वर्ष पनि धान खेत डुबानमा छ।

यशोधरा गाउँपालिका अध्यक्ष बृजेशकुमार पाण्डेय ७ सय बिगाहा जमिन डुबानमा रहेको बताउँछन्। ‘गत वर्षजस्तै अहिले पनि धान खेत पूरै डुबेको छ’, उनी भन्छन्। डुबानले बाली नष्ट भएपछि यहाँका किसान तीनपटकसम्म रोपाइँ गर्न बाध्य छन्। महलीसागरमा पानी छेकिँदा कपिलवस्तुका भगवानपुर, बैदौली, रंगपुर, भैसहिया, परडरिहवा, लोहरौली, पर्सैया, रोजाहपुर, बगाहालगायत गाउँ जोखिममा छन्। ‘दुई घण्टा मात्रै पानी आउँदा पनि खेत र एउटा गाउँ डुब्यो। रातभर पानी आए त बिजोग हुन्छ’, स्थानीय राधेश्याम पाठक भन्छन्। भारत सिद्धार्थनगर जिल्लाको क्षेत्रग्रामको डोहा गाउँ र नेपालको भगवानपुर गाउँबीच बाँध निर्माण भएको छ। बाँधका कारण नेपाल–भारत सीमास्तम्भ ५५३ र ५५४ समेत डुबानमा छन्।

सधैंको सास्ती लक्ष्मणपुर बाँध

गत वर्ष एकै दिन १६० मिलिलिटर वर्षा हुँदा बाँकेको नरैनापुरका चार वडा जलमग्न भए। भारतले सीमा क्षेत्रमा अग्लो सडक बनाएकाले पानीको निकास नभएपछि नरैनापुरका बनियाँ गाउँ, रोशनपुर, बालापुर र घोडदौडिया क्षेत्रका केही घर डुबानमा परेकोे गाउँपालिका अध्यक्ष इतियाक अहमद शाह बताउँछन्।

सशस्त्र प्रहरी बलका अनुसार बाँकेको सीमा क्षेत्र जोडिएको ६५ किलोमिटरमध्ये भारतले ४४ किलोमिटरमा बाँधजस्तो सडक बनाएको छ। जसका कारण नेपाली बस्ती डुबानमा पर्छन्। बाँकेभन्दा पनि पहाडी जिल्लामा बढी वर्षा हुँदा राप्ती नदीमा बाढी आउँछ। त्यही बेला भारतले लक्ष्मणपुर बाँधको ढोका बन्द गरिदिँदा राप्ती किनारका बस्तीमा भेल पस्छ।

भारतले एकलौटी रूपमा निर्माण गरेको लक्ष्मणपुरस्थित राप्ती ब्यारेज (लक्ष्मणपुर बाँध) र कलकलवा तटबन्धले बाँकेका नरैनापुर, डुडुवा र राप्ती सोनारी तीन गाउँपालिकाका धेरै गाउँ (साबिकका नौ गाविस) हरेक वर्ष डुबानमा पर्दै आएको अध्यक्ष थारु बताउँछन्। राप्तीमा बाढी आउँदा भारतले लक्ष्मणपुर बाँधका १४ वटा गेट लगाइदिन्छ। जसका कारण राप्ती नदी, गन्धेली, सोतिया र डुडुवा नालाको पानी निकास नभएर नेपाली भूमि डुबानमा पर्छन्। सयौं बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीका अनुसार राप्ती सोनारीका १ देखि ७ वडाका बैजापुर, बिनौना, कचनापुर, फत्तेपुरलगायत गाउँ, डुडुवा गाउँपालिकाका ३ वडाका कम्दी, बेतहनी र होलिया अनि नरैनापुर गाउँपालिका–५ मटेहिया र ६ गंगापुरका बासिन्दा राप्ती नदीमा बाढी आउँदा प्रभावित हुन्छन्। हरेक वर्ष यी तीन गाउँपालिकाका २५ हजारभन्दा बढी बासिन्दा राप्तीको बाढीबाट प्रभावित हुन्छन्। ‘बाढी आउनुपूर्व नै सबै तयारी गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरीलगायतको सुरक्षा निकाय उद्धारका लागि तयारी अवस्थामा नै छन्’, उनी भन्छन्।

गण्डकका कारण डुब्छ गाउँ

हरेक वर्ष वर्षायाम सुरुसँगै पश्चिम नवलपरासीको दक्षिणी भेगका स्थानीय त्रासमै बस्ने गरेका छन्। गण्डक नहरमा बढेर आउने पानीका कारण बस्ती नै डुबानमा पर्ने भएकाले स्थानीयवासी त्रासमै बस्ने गरेका हुन्। गण्डक नहरमा निर्माण गरिएका बाँध र साइफन हरेक वर्ष भारतीय पक्षले सफा र मर्मत गरे पनि गुणस्तरीय नहुँदा हरेक वर्ष त्यस क्षेत्रमा डुबान र कटानको समस्यामा पर्दै आएको हो।

भारतीय पक्षले बाँध र साइफन मर्मतका नाममा हरेक वर्ष करोडौं रुपैयाँ खर्चिने गरेको छ। नहरमा काम गर्दा नेपाली पक्षलाई लागत स्टिमेट र कामको प्रकृतिबारे जानकारी दिनुपर्ने भए पनि त्यसबारे नेपाली पक्षलाई जानकारी दिने नगरिएको गण्डक सिँचाइ व्यवस्थापन डिभिजन समेरीका प्रमुख मदन मोहन झा बताउँछन्। ‘भारतीय पक्षले काम गर्छन् तर कस्तो काम गरेको भनेर कुनै जानकारी दिँदैनन्’, झा भन्छन्।

नहर र साइफन मर्मत नगरेका कारण नहरको पानीले खेतियोग्य जमिन कटानमा परेको र बस्ती नै जोखिममा परेको भन्दै दुई वर्षअघि सुस्ता गाउँपालिका–२ गुदरियाका स्थानीयले नहर फुटाइदिएका थिए।

अहिले पनि गण्डक नहरमा पानीको बहाव बढ्दो छ। जसका कारण स्थानीय फेरि त्रासमा छन्। शुक्रबार पानीको बहाव बढेर खतरा नजिक पुगेपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले त्यस क्षेत्रका स्थानीयलाई सजग हुन आग्रह गरेको छ। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा रहेको मापन मिटरमा पानीको बहाव बढ्दै गएको देखाएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए। गण्डक ब्यारेजमा सबै ढोका बन्द रहेकाले पानीको बहाव बढेदै गए नेपालतर्फ जोखिम बढ्ने भएकाले स्थानीयलाई सचेत हुन आग्रह गरिएको प्रजिअ पाठकले बताए। ब्यारेजको ढोका खोल्ने र बन्द गर्ने भारतीय पक्षले गर्दै आएको छ।

यता, पश्चिम नवलपरासीको सरावल र पाल्हीनन्दन गाउँपालिकाका ४ गाउँका ३० घर परिवार डुबानमा परेका छन्। ६ घर परिवार विस्थापित भएका छन्। १५ सय बढी बिघामा लगाईएको धानबाली डुबानमा परेको छ। स्थानीय झरही र धनेवा खोलामा आएको बाढीका कारण सरावल–६ का खडौना, मधौलिया, नौडिहवा र पाल्हीनन्दन–१ को शंकरपुर गाउँ डुबानमा परेको स्थानीय उमेश विकले बताए। डुवानमा परेका घर परिवारहरू छिमेकीका घरमा आश्रय लिएको र विस्थापित ६ घर परिवारलाई वडा कार्यालयमा खाना तथा बसोवासको व्यवस्था मिलाईएको सरावल गाउंपालिका अध्यक्ष राधेश्याम चा‌ैधरीले बताए।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर