दाहालको दोधार

२०७७ श्रावण ५ सोमबार ०७:४५:०० मा प्रकाशित

पार्टीभित्रको विवाद समाधानका लागि दाहाल खुमलटार , बालुवाटार , कोटेश्वरका भेटघाट र दौडधुपमा व्यस्त हुन्छन् । तर ओलीसँग अलिकति सहमतिको संकेत मिल्नेबित्तिकै झस्किने नेपाल समूह र नेता नेपालको नामसमेत सुन्न नचाहने ओलीका बीचमा तालमेल मिलाउन नसक्दा कहिले यता र कहिले उता ढल्किरहेका छन् ।

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद धरापमा पर्न लागेपछि पार्टीभित्रको विवाद साम्य पार्ने सूत्रका रूपमा शनिबारको सचिवालय बैठकमा ‘मंसिरमा महाधिवेशन’ गर्ने प्रस्ताव ल्याए । झन्डै एक महिनादेखि ओलीको निःसर्त राजीनामा हुनुपर्ने अडान राख्दै आएका अध्यक्ष पुष्पकमल दाहालले त्यसलाई ठाडै अस्वीकार गर्लान् भन्ने माधव नेपाललगायतका असन्तुष्ट नेताहरूको अनुमान थियो । तर जसै ओलीले महाधिवेशनको प्रस्ताव गरे, दाहालले समर्थन गरिदिए ।

शनिबार बालुवाटारमा ओलीलाई समर्थन गरेर निस्केका दाहाल साँझ शीतल निवासबाट खुमलटार पुगिसक्दा केही बदलिए । आइतबार बिहानसम्म त उनको पोजिसन पूरै उल्टियो । उनले नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत आफ्नो समूहका स्थायी कमिटी सदस्यहरूसँग ‘केपी ओलीसँग आफूले कुनै सहमति नगरेको’ भन्दै शनिबारको सचिवालय बैठकमा आफूले प्रदर्शन गरेको भूमिकाको स्पष्टीकरण दिए । शनिबार ओलीसँग नजिक देखिएका दाहालले आइतबारसम्म आइपुग्दा नेपाललगायतको समूहमै रहेको बताएपछि उनी दोधारे मनोविज्ञानमा रहेको देखिएको छ ।

ठीक यस्तै दृश्य यसअघि वैशाख तेस्रो साता देखिएको थियो । प्रधानमन्त्री ओलीले दल विभाजनलाई सहज हुने अध्यादेश ल्याएपछि चर्किएको नेकपाको विवादमा दाहालले वरिष्ठ नेता नेपाललगायतसँग मिलेर ओलीको आलोचना गरिरहेका थिए । त्यो बेलाको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले सबै नेताहरू मिलेर जाऔं, आत्मालोचना गरौं भनेका थिए । कारण प्रस्ट थिएन, दाहालले त्यसबेला पनि अन्तिम घडीमा ओलीकै पक्ष लिए । अनि नेता नेपालले भनेका थिए, ‘दुई नेताको मात्र चोचोमोचो मिलाएर हुँदैन ।’

वैशाख २० गतेको जस्तै दृश्य शनिबार पनि देखिएपछि नेता नेपालले पुरानै कुरा दोहोर्‍याए, ‘दुई अध्यक्षको चोचोमोचो मिलाएर हुँदैन । पार्टी विधि–पद्धतिअनुसार चलाउनु मुख्य कुरा हो ।’

नेकपाभित्र अहिले ओली, दाहाल र नेपालका गरी त्रि–शक्ति केन्द्र हावी छन् । यीमध्ये दुई नेता जता हुन्छन्, पार्टीको मूल समीकरण त्यतै ढल्कन्छ । त्यसैले अन्य दुई समूहसँग कहिले यता र कहिले उता गर्नेमा सबभन्दा अगाडि दाहाल देखिन्छन् । उनी कहिले ओलीसँग मिल्छन् त कहिले नेपालसँग । यस पटक पनि उनले त्यस्तै व्यवहार प्रदर्शन गरे । आइतबार खुमलटारमा भेला भएका नेताहरूले त्यसैको आलोचना गरेका थिए । आफूलाई साथ दिने नेताहरूले समेत शंकाको दृष्टिले हेरेपछि दाहालले आइतबार बिहान भेट्न आउने सबैलाई स्पष्टीकरण दिँदै ओलीसँग कुनै सहमति नभएको दाबी गर्नुपर्‍यो ।

दाहालको निवास खुमलटारमा बिहानैदेखि भेट्न जाने नेताहरूको लर्को लागेको थियो । बिहान ७ बजे नै पुगेका उपाध्यक्ष गौतम, स्थायी कमिटी सदस्यहरू जनार्दन शर्मा र देवेन्द्र पौडेलले घरी सँगसँगै र घरी एक्लाएक्लै छलफल गरे । त्यसअघि नै महासचिव विष्णु पौडेलले परामर्श गरिसकेका थिए । उनले नेता नेपाललगायतसँग पनि आइतबार कुराकानी गरे ।

ओलीको प्रस्तावमा जनाएको सहमति र लगत्तै राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलबारे दाहाललाई आफ्नै समूहका नेताहरूले व्यापक असन्तुष्टि जनाएका थिए । त्यसैले आइतबार बिहानैदेखि उनले त्यसको प्रस्टीकरणका लागि समय छुट्याएका थिए । शनिबारको सचिवालय बैठकपछि अध्यक्षद्वयसहित महासचिव पौडेल र स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल र शर्मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका थिए । दाहालले आइतबार आफूनिकट नेताहरूलाई गरेको ब्रिफिङअनुसार उनी परिबन्दमा परेर शीतल निवास गएका हुन् । ‘महासचिवले भेट्ने भनेर एसएमएस पठाएपछि म प्रधानमन्त्री निवास गएँ, त्यहाँ प्रधानमन्त्रीलाई देखिनँ, केहीबेर कुरेपछि प्रधानमन्त्रीजीको फोन आयो, उहाँले म त शीतल निवासमै आएको छु, यतै आउनुस् भन्नुभयो,’ दाहालले आफूनिकट नेताहरूसँग ब्रिफिङ गरे, ‘पूर्वनिर्धारित कार्यक्रम थिएन तर राष्ट्रपति निवासबाटै बोलाएपछि परिबन्दमा परेर गएको हुँ, त्यहाँ मलाई अपमान गरियो ।’

स्रोतका अनुसार शीतल निवासमा पनि ओलीले विशेष महाधिवेशनकै कुरा गरेका थिए । उनले आफूले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने, मंसिरमा हुने विशेष महाधिवेशनमा दाहाललाई एक अध्यक्षका रूपमा अघि बढाउने, अरू पदाधिकारीमा आफ्ना नेताहरू हुनुपर्ने प्रस्ताव गरे । ओलीले जनताको बहुदलीय जनवादलाई नै पार्टीको आगामी कार्यक्रम बनाएर अघि बढ्नुपर्ने भन्दै त्यसलाई लिखित गरौं भनेर प्रस्ताव गरेको बयान दाहालले उनका निकट नेताहरूलाई दिएका छन् । ‘जबज (जनताको बहुदलीय जनवाद) लाई कार्यक्रम बनाउने भनेपछि म झस्किएको हुँ, महाधिवेशनको हौवा कन्फ्युजन क्रिएट गर्न फिँजाइएको हो,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रस्ताव ल्याउँदैमा सहमति भयो भनेर मेरो अपमान गरियो ।’

जबज तत्कालीन एमालेले अपनाएको वैचारिक कार्यदिशा हो, जसप्रति दाहाललगायत पूर्वमाओवादी पंक्तिको असहमति रहँदै आएको छ । दाहालले शनिबारको घटनाक्रमबारे विस्तारमा बताएपछि वरिष्ठ नेता नेपालले सचिवालय बैठकमा प्रधानमन्त्रीले राखेको प्रस्तावलाई इन्कार नगरेकाले सहमति भयो भन्ने सन्देश गएको हुनाले यस्ता विषयमा अलि स्पष्ट हुनुपर्‍यो भनेर सुझाव दिएका थिए । लगत्तै दाहालले भनेका थिए, ‘तपाईंहरूलाई छाडेर म कहाँ जान्छु र ?’ आफ्ना नेताहरूलाई आश्वस्त पारेपछि दाहाल आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे । त्यहाँ पनि उनले सहमति नभएको विषयबारे प्रचार गरेर आफूलाई विवादमा तानिएको भन्दै गुनासो गरेका थिए ।

उसो त शनिबार राति नै दाहालको सचिवालयले मंसिरमै महाधिवेशन गर्ने विषय प्रस्तावका रूपमा आएको भए पनि सहमति भने नभएको प्रस्टीकरण दिइसकेको थियो । यही पृष्ठभूमिमा असन्तुष्ट रहेका नेताहरूलाई कसरी आश्वस्त पार्ने भनेर उनले गौतम, शर्मा र पौडेलद्वयसँग परामर्श गरेको खुमलटार निकट स्रोतको भनाइ छ । ‘ओलीजीका तर्फबाट दुई अध्यक्ष मात्रै मिलेर जाऔं भन्ने कुरा छ,’ स्रोतले कान्तिपुरसँग भन्यो, ‘प्रचण्डजी नेपाल समूहलाई पनि सँगै लिएर जानुपर्छ भन्नुहुन्छ, अहिले खास कुरा अड्केको यहींनिर हो ।’

दाहालनिकट स्रोतले कान्तिपुरलाई बताएअनुसार मंसिरमा विशेष महाधिवेशन गरेर पार्टीको एकल नेतृत्व लिने विषयमा उनी सकारात्मक भए पनि अहिले भरथेग गरिरहेको नेपाल समूहलाई नचिढ्याउने पक्षमा छन् । दाहाललाई अभर पर्दा हात थाम्ने नेपाल समूह नै हो । त्यसैले यो समूहले भनिरहेको विधि र पद्धतिको कुरा छाडिहाल्न सक्ने अवस्थामा उनी छैनन् । अर्कोतिर पूर्वमाओवादी समूहकै स्थायी कमिटी सदस्यहरू पनि सबै एकै ठाउँमा नभएकाले उनलाई पार्टीभित्र बलियो समूहको नेतृत्वकर्ता नेपाल समूहकै स्थायी कमिटी सदस्यहरूले बनाएका छन् ।

एकअर्कालाई साथ पनि दिनैपर्ने र आँखा चिम्लेर विश्वास पनि गर्न नसकिने परिस्थितिका बीचमा दाहाल–नेपालले एकअर्कालाई छाड्नै चाहेका छैनन् । तर दाहालको सम्बन्ध नेपाल मात्र होइन, ओलीतर्फ पनि प्रकट हुन्छ । आफ्नो पकड कायम राखिराख्न ओली र नेपालमध्ये एकको साथ लिनैपर्ने र दुवै समूहसँगको सम्बन्ध विश्वास र शंकासहितको भएकाले दाहालको भूमिका दोधारे खालको देखिएको कतिपयको भनाइ छ ।

‘उहाँ पहिलेदेखि नै एकै पटक विभिन्न विकल्प खुल्ला राख्ने मान्छे हो,’ उनीनिकट एक नेताले भने, ‘अहिले त्यसैगरी छलफल चलाउनुभएको छ, त्यसैले कहिले यता कहिले उता भएझैं देखिन्छ ।’ दाहालको यो दोधारपन यसपालि स्थायी कमिटीलाई स्थगन गरेर सुरु भएका आन्तरिक छलफलमा निकै देखियो । त्यसले नेपालपक्षीय नेताहरूमा शंका थप्यो । के साँच्चै दाहालले भनेझैं विशेष महाधिवेशनको प्रस्तावमा उनको कुनै सहमति थिएन त ? दाहालनिकट एउटा खेमा र ओली पक्षधर नेताहरू उनको यो दाबीमा सत्यता नरहेको बताउँछन् । यसबारे गहिरोसँग बुझ्न असार २१ यताको घटनाक्रम ससर्ती हेर्नुपर्ने हुन्छ ।

जारी स्थायी कमिटी बैठक स्थगन गरेर ओली र दाहाल एक्लाएक्लै छलफलमा जुट्न थालेका थिए । अघिल्ला दिनहरूमा भएका कुराकानी सकारात्मक दिशामा अघि नबढेपछि दाहाल र ओलीबीच भएको २१ गतेको छलफलमा महासचिव पौडेल तथा स्थायी कमिटी सदस्यहरू पोखरेल, शर्मा र वर्षमान पुन पनि सहभागी थिए । उक्त छलफलले सहमतिको खाका बनाउने जिम्मा पौडेल, पोखरेल, शर्मा र पुनलाई दिएको थियो । तर चुलिएको असन्तुष्टि सम्याउन दाहाल र ओली पक्षीय नेताहरूलाई ‘कार्यदल’ नै बनाएर जिम्मेवारी सुम्पिएको भन्दै नेपाल पक्षीय नेताहरूले असन्तुष्टि जनाएपछि दाहालको सचिवालयले त्यस्तो कुनै कार्यदल नबनेको प्रस्टीकरणसहितको सूचना नै निकालेको थियो ।

कार्यदल छैन भनिए पनि चार नेताहरूले भित्रभित्रै ०७५ जेठ २ र गत वर्ष मंसिर ४ मा भएको सहमतिबाहेक पनि बीचको बिन्दुबाट केही उपाय निकाल्न सकिन्छ कि भनेर कसरत गरिरहेका थिए । ‘खास काम त यी नेताहरूबाट भइरहेको थियो,’ नेकपा उच्च स्रोतको दाबी छ, ‘बालुवाटारमा अध्यक्षद्वयका बीचमा भएका कुराकानीबाट खास पार लाग्दैन भन्नेमा उनीहरू निश्चितजस्तै थिए ।’ सुरुमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिएर निकास खोलिदिनुपर्छ भन्ने लाइनमा रहेका शर्मा पनि पछिल्लो समय अध्यक्षद्वयको मिल्तीबिना अरू अघि बढ्न सम्भव छैन भन्नेमा पुगिसकेका थिए । नेकपाको पूर्वमाओवादीका विशेषगरी शर्मा, पुन, स्थायी कमिटी सदस्यहरू देवेन्द्र पौडेलले यो खेमाको प्रतिनिधित्व गर्छन् । त्यसैले उनीहरूले बीचको बाटो खोजिरहेका थिए, उता ओली–दाहाल संवाद पनि जारी थियो । असार २३ गते ओलीले दाहालसमक्ष नयाँ प्रस्ताव प्रस्तुत गरे, ‘मंसिरमा पार्टीको विशेष महाधिवेशन गरौं, तपाईं त्यसपछि नेकपाको एकल अध्यक्ष बन्नुस् ।’ दाहालले ओलीको यो प्रस्तावलाई तत्काल स्वीकार गर्न सकेनन् । उता दोस्रो पुस्ताका नेताहरू सहमतिका विभिन्न विकल्पबारे परामर्शमै थिए । ओली, दाहाल र नेपालसँग उनीहरूको बारम्बार भेट र कुराकानी भइरहन्थ्यो, तर सहमतिको ठ्याक्कै आकार आइसकेको थिएन । त्यसैले असार २६ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक एक साता पर सारेर नेताहरूले छलफललाई निरन्तरता दिए । त्यतिखेर सहमतिको सूत्र खोज्न लागिपरेका नेताहरू पोखरेल र शर्माले पार्टीभित्र केही सकारात्मक परिणाम आइरहेको आशयको स्टाटस फेसबुकमा लेखेका थिए । अध्यक्ष दाहाल दुई दिनका लागि चितवन गए ।

चितवन पुगेर उनले एकता भाँड्न आफू र ओली दुवैलाई उचाल्नेहरू सक्रिय रहेको अभिव्यक्ति दिएपछि अध्यक्षद्वयका बीचमा कुनै गोप्य सहमति भएको हो कि भनेर आशंका गर्नेहरू झस्किए । झस्किनेमा धेरै त नेपालपक्षीय नेताहरू नै थिए । आफ्नै समूहका नेताहरूले ओली र दाहालबीच कुनै गोप्य लेनदेन भएको हो भनेर बारम्बार सोधेपछि वरिष्ठ नेता नेपालले चितवनमै रहेका दाहालसँग संवाद गरेका थिए भने उनी फर्किनेबित्तिकै पार्टीको आन्तरिक जीवनबारेको परामर्श नेपाल र दाहालबीच नै भएको थियो । त्यतिखेर नेपालले निकटस्थहरूसँग भनेका थिए, ‘प्रचण्डजीले अहिलेसम्म हाम्रो साथ त छाड्नुभएको छैन तर विचार नगरी बोल्ने बानीका कारण साथीहरूबीच आशंका उत्पन्न भइरहन्छ ।’

यही आशंका दूर होस् भनेर अध्यक्षद्वय र नेपालबीच साउन १ गते बालुवाटारमा करिब चार घण्टा वार्ता भयो तर उक्त वार्ता झन् भाँडियो । बरु जारी समस्यालाई पार्टीको केन्द्रीय कमिटीमा लैजानुपर्ने भन्दै तीन नेताबीच केन्द्रीय कमिटी बैठक आह्वान गर्ने सहमति जुट्यो । त्यही दिन दाहाल र नेपाल खुमलटारको भेलामा लागे, ओलीले आफ्ना निकटस्थहरूलाई बालुवाटार बोलाए । बालुवाटारमा केन्द्रीय कमिटी बैठकमा जाँदा समस्या झन् बल्झिने भएकाले त्यसो गर्न नहुने विषयमै नेताहरूले ओलीलाई सुझाव दिएपछि शुक्रबार फेरि ओली र दाहाल छलफलमा जुटे, उनीहरूसँगै उपाध्यक्ष गौतम र महासचिव पौडेल पनि थिए । शुक्रबार दाहाल र ओलीबीचको संवाद केही सकारात्मक रूपमा अघि बढेपछि शनिबारका लागि सचिवालय बैठक डाकियो । त्यस दिन पनि विशेष महाधिवेशनबारे नै दुई अध्यक्षबीच संवाद भएको स्रोतहरूको भनाइ छ ।

शनिबार फेरि सचिवालय बैठक सुरु हुनुअघि ओलीले महाधिवेशनकै विषय निकाले । बरु मंसिरसम्म पार्टीका सबै काम दाहालले नै गर्ने, मन्त्रिपरिषद् हेरफेर, प्रदेश सरकारहरू परिवर्तन गर्ने र त्यहाँ नेपाल समूहका नेताहरूलाई व्यवस्थापन गर्नेलगायत विषयमा उनीहरूबीच सहमति जुटेपछि दाहालले नै ‘अर्ली’ महाधिवेशनको कुरा राख्न ओलीलाई प्रस्ताव गरेको बालुवाटार स्रोतको दाबी छ । यता दाहालनिकट नेताहरू पनि त्यही प्रस्ताव राख्नकै लागि भए पनि ओलीलाई बैठकमा ल्याउन सफल भएको दाबी गर्छन् । तर ओलीले मात्रै गरेको महाधिवेशनको प्रस्ताव दाहालले स्विकार्ने कुरै थिएन । यसका लागि कि त पार्टी कमिटीले पारित गर्नुपर्थ्यो, या भरपर्दो अरू कोही साक्षी हुन जरुरी थियो ।

ओलीले सचिवालयमा औपचारिक रूपमा प्रस्ताव पेस गरे त्यसलाई कमिटीमा छलफलको विषय बनाएर निर्णय गराउने सोचमा दाहाल थिए । त्यसैले शनिबार ओलीले महाधिवेशनको प्रस्ताव गर्दा दाहालले समर्थन गरे, उनीनिकटका अरू नेताहरूले दाहालमाथि फेरि अविश्वास गरे । सचिवालयमा करिब ४ घण्टा महाधिवेशन वरिपरिकै छलफल भएपछि सदस्यहरूले त्यसबारे लिखित प्रस्ताव ल्याउन अध्यक्षद्वयलाई आग्रह गरेसँगै बैठक सकियो ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर