नेपालीलाई दुर्व्यवहार गर्नेमाथि भारतले कारबाही थाल्यो

२०७७ श्रावण ४ आइतबार १०:५०:०० मा प्रकाशित

काठमाडौँ । भारतको बनारसमा नेपाली नागरिकमाथि भएको दुर्व्यवहार र नेपाली मन्दिरमा टाँसिएका पोस्टरको विषयमा उत्तरप्रदेश सरकारले कारबाही अघि बढाएको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्यासँग सम्बन्धित अभिव्यक्तिसँग जोडेर त्यहाँका नेपालीमाथि भएका दुर्व्यवहार गलत भएको भन्दै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यस्तो व्यवहार गर्नेलाई कारबाही थालिएको जानकारी दिनुभएको हो । भारतस्थित नेपाली दूतावासले घटनाबारे चासो राख्दै शुक्रबार मुख्यमन्त्री आदित्यनाथसँग टेलिफोनमा चासो व्यक्त गरेको थियो ।

मुख्यमन्त्री आदित्यनाथ भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यसँगको कुराकानीका क्रममा नेपाली नागरिकमाथि भएको दुर्व्यवहारविरुद्ध कारबाही थालिएको जनाउ दिनुभएको राजदूत आचार्यले गोरखापत्रसँग बताउनुभयो ।

“नेपालीहरू उत्तरप्रदेशमा सुरक्षित रहनेछन्, कारबाही सुरु भइसकेको छ, नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ र जनस्तरको सम्बन्ध बलियो छ त्यसलाई बिथोल्न र खल्बलिन हामी दिँदैनौँ,” भनेर मुख्यमन्त्री आदित्यनाथले आश्वस्त पार्नुभएको राजदूत आचार्यले सुनाउनुभयो ।

विश्वहिन्दु सेनाका कार्यकर्ताले त्यहाँस्थित एक नेपालीलाई जबरजस्ती केसमुण्डन गरी टाउकोमा श्रीराम लेखेर प्रधानमन्त्री ओली र नेपालविरुद्ध नारा लगाउन लगाएको भिडियो सार्वजनिक गरेका थिए । साथै बनारसको ललिताघाटस्थित पशुपतिनाथको मन्दिरमा नेपाल विरोधी पोस्टरसमेत टाँसिएका थिए । यो मन्दिर नेपालका तात्कालिन राजा रणबहादुर शाहले आफू प्रवासमा रहँदा निर्माण गर्नुभएको थियो । सो घटनालाई लिएर प्रहरीले सङ्घका संस्थापक अध्यक्षविरुद्ध नै उजुरी दर्ता गरेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले नेपालमा रामसँग सम्बन्धित विषयमा थप अनुसन्धान हुनसक्ने बताउनुभएको थियो । साथै यस घटनालाई लिएर नेपालको कसैको भावनामा चोट पुर्याउने आशय नरहेकोसमेत सरकारले स्पष्ट पारेको थियो ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर