सरु गुरागाईंको आवाजमा भानुभक्त रामायण (भिडियो)

२०७७ श्रावण ४ आइतबार १०:४७:०० मा प्रकाशित

कर्णप्रिय स्वरमा छन्द कविता वाचन गरेर युट्युबमा लोकप्रियता कमाएकी सरु गुरागाईंले श्रीमान मुरारी गुरागाईंसँगको सहकार्यमा आदिकवि भानुभक्त आचार्यको सम्पूर्ण रामायणलाई छन्दमा वाचन गरी युट्युब भिडियो बनाउन सुरु गरेकी छन्। भानु जयन्तिको अवसर पारेर रामायणको पहिलो काण्ड ‘बालकाण्ड’ युट्युबमा हालिएको छ। आठै काण्डको रेकर्ड गर्ने काम सकिएकोले अब क्रमसः सबै खण्डहरु युट्युबमा प्रशारण गर्दै जाने उनीहरुले बताएका छन्।

अमेरिकाको केन्टकी निवासी यो जोडी सामाजिक संजाल र युट्युबका नेपाली दर्शकमा खुब रुचाइएका छन्। फेसबुक लाइभमा दर्शक श्रोतासँग प्रत्यक्ष ‘भर्च्युअल’ अन्तरक्रिया गर्दै विभिन्न नेपाली गीत, संगीत गायन गर्ने र छन्दमा मीठामीठा समसामयिक महत्वका कविता वाचन गरेर आफ्नो कला प्रस्तुत गर्ने यो जोडीलाई अब धेरैले चिन्ने मात्र होइन यो गीत गाइदिनु पर्यो, यो कविता वाचन गरिदिनु पर्यो भने आग्रह र फर्माइसको ओइरो नि लाग्न थालेको छ। व्यस्त अमेरिकी जीवनमा दर्शक श्रोताको माग धान्न गाह्रो भइसकेको छ अब उनीहरुलाई।

सरु गुरागाईं नेपाली छन्द कविता लेख्ने र वाचन गर्ने मनमोहक स्वर र कलाकी धनी हुन्। उनले घरमै साहित्यिक वातावरण पाएकी हुन्। सरुका बुबा जीवन हरि शर्मा इलामका एक कुशल कवि हुन्। कोरोना भाइरस आएर विज्ञान निरिह बनेको ‘थिम’मा बुबाको छन्द कविता ‘विज्ञानको दुर्दिन’ सरु पोख्रेलले वाचन  गरेर युट्युबमा हालेपछि भाइरल भइसकेको छ।

नेपाली भाषा साहित्यमा रुचि भएकोले शौखको रुपमा रामायणजस्तो बृहत् काव्य यसरी आधुनिक प्रविधिमार्फत सबैका हातहातमा पुर्याउने भगिरथ मेहनत गर्न उनीहरुलाई प्रेरणा जागेको हो। रामायणलाई यसरी छन्दोबद्ध वाचन गरेर सबैका लागि सर्वसुलभ बनाउनमा सरु र मुरारीको जोडीलाई प्राध्यापक डा. जयराज आचार्यको सहयोग र दिग्दर्शन मिलेको उनीहरुले जनाएका छन्।

सुन्नुहोस् सरु गुरागाईंको वाचन र मुरारी गुरागाईंको वाद्यवादनमा भानुभक्त रामायणको पहिलो खण्ड भानुभक्त आचार्यको रामायण (श्रीबालकाण्ड) वाचन सरू गुरागाईं। 

 

ताजा खबर