पुरोहितको सभापतित्वमा अनौठो श्राध्द !

२०७७ श्रावण ४ आइतबार १०:१७:०० मा प्रकाशित

२०६० सालको दशैँको अष्टमी तिथिमा हामीले आमाको वार्षिक श्राद्ध परम्परागत विधिबाटै सम्पन्न गर्यौं तर किनकिन मलाई यो श्राद्धको परम्परागत विधि मन परिरहेको थिएन । ‘त्यो श्राद्ध के हो ? किन गरिन्छ ? त्यसका लागि पाठ गरिने संस्कृतका श्लोकहरूले के भन्छन् ?’ भन्ने म केही बुझ्दिनथेँ । त्यसो त बुबाको श्राद्ध पनि मैले त्यसअगि कहिल्यै गरेको थिइनँ । मैले बुबाको श्राद्ध नगरेकैले आमाले भाइलाई लिएर निरन्तर तीन वर्ष पुसे औँसीमा कोकामा गएर बुबाको श्राद्ध गराउनुभएको थियो ।

 त्यसैदिन मैले परिवारका सबैलाई भनेँ— “अब अर्को वर्षदेखि हाम्रोमा श्राद्ध अर्कै किसिमले हुन्छ है ।” त्यो अर्को किसिम के हो भन्नेचाहिँ मलाई थाहा थिएन । 

 नभन्दै २०६१ सालको अष्टमी तिथिलाई भने अर्कै किसिमको बनाउन भाइसँग सल्लाह गरेँ, उसले मानिहाल्यो । सीताजीले पनि अनुमति दिनुभयो ।


 दिदीबहिनी, भिनाजुज्वाइँ, भान्जाभान्जी आदि परिवारका सबैलाई अनिवार्य उपस्थित गराइयो । केही पत्रकार साथीहरू केशव आचार्य, रश्मिशेखर, शिरो सान्दाइ, लेखनाथ भट्टराई, विष्णुकुमार भट्टराई आदि पनि थिए । पुरोहित विष्णुप्रसाद काफ्ले उपस्थित हुनुभयो । ‘आज कसरी श्राद्ध हुन्छ’ भन्ने कसैलाई केही भनिएको थिएन । 

 बिहानदेखि महिलाहरू खिर, पकवानमा लागिसकेका थिए । पुरोहितले आएर श्राद्धका लागि आवश्यक सामग्रीको खोजी गर्न लाग्नुभयो । मैले ‘एकछिन गुरुजी’ भन्दै टार्दै गएँ । जब मैले बोलाएका साथीभाइहरू भेला भइसके अनि कार्यक्रम सुरु गरियो । 

 मेरो पुस्तकालय कोठामा कार्यक्रमको तयारी गरिएको थियो । आमा र बुबाका ठूला साइजका तर हातले बनाइएका फोटाहरू टेबलमा सजाइएको थियो । फोटाअगि दियो बालियो, धुप सल्काइयो ।  मालाले फोटाहरू सजाइयो । कार्यक्रमको सञ्चालक म आफैं भएँ । सबैभन्दा पहिला कार्यक्रमको सभापतिका लागि पुरोहितलाई आसनग्रहण गराइयो । पुरोहितलाई माला लगाइयो, टोपी पहिराइयो र एउटा खाम गोजीमा लगाइयो । सभापति वरण गरिसकेपछि मैले आज गरिने श्राद्धबारे जानकारी गराउँदै भनेँ— “उपस्थित सबै गण्यमान्यहरूमा नमस्कार ! आज हामी हाम्रा पुज्य मातापिताको सामूहिक श्राद्ध कार्यमा उपस्थित भएका छौँ । परम्परागत रूपमा कर्मकाण्डीय पद्धतिबाट गरिने श्राद्धविधिभन्दा फरक तरिकाले आज यहाँ हामी उहाँहरूलाई सम्झिरहेका छौँ । २०३३ साल कात्तिक २ गते दिवङ्गत हुनुभएका पिताजीको यत्रो वर्षसम्म कर्मकाण्डीय शैलीले श्राद्ध नै गरिएन । अब आमा पनि बितिसकेपछि हामी उहाँहरू दुवैको ‘पितृस्मृति समारोह’ आयोजना गर्न लागेका छौँ । यो कार्य आज यसरी गरिँदैछ भन्ने कुरा आदरणीय पुरोहित विष्णु काफ्लेज्यूलाई पनि भनिएको थिएन ।

 मलाई लाग्छ आफ्नो मातापिताको श्राद्ध कसरी गर्ने भन्ने कुरा तिनका सन्तानहरूको इच्छाअनुसार हुनुपर्ने हो । वैदिक सनातन परम्पराले विकसित गरेको कर्मकाण्डको रूढ परम्पराबाट अलि पर हटेर हामी यहाँ आइपुगेका छौँ ।

 जीवन भनेको भौतिक कुरा हो । यसलाई देख्ने, बुझ्ने र चिन्नेहरूका बीचमा मात्र यसको औचित्य रहन्छ । सम्झनेहरू नै नभए सम्झिइने वस्तुको मूल्य छैन । त्यसैले बाबुआमालाई सन्तानले तार्छन् भनिएको होला । यस संसारमा जन्मेर, यहीँको परम्पराअनुसार भूमिका निर्वाह गरी हामी बित्छौँ । यही भोगिएका वस्तुहरूको प्रभाव यहीँको समाजमा छोडिएको हुन्छ, त्यसैले मलाई लाग्छ, मानिसको मृत्युपछि कल्पना गरिएका सबै तिलस्मी र रहस्यमय महाआख्यानहरू महान् कल्पनाका प्राप्ति हुन् । तिनैलाई विश्वास गरेर जीवनशैली बनिसकेको हाम्रो परम्परालाई हामीले भिन्न प्रकारले सोच्नु अन्याय होलाझैँ लाग्दैन । 

 आत्मसम्बन्धी हाम्रै धार्मिक मान्यताहरूले आफैं त्यसलाई भत्काएका छन् । एक ठाउँमा बनाई अर्को ठाउँमा भत्काइएको विश्वासबाट हामीलाई सोच्ने स्वतन्त्रताका लागि प्रशस्त ठाउँ छोडिएको म देख्छु । शरीर र आत्माको असम्पृक्तताबारे उपनिषद्हरूमा भनिएको व्याख्या नै हामीलाई बुझ्न सजिलो छ—
 ‘आत्मा अजर, अमर छ । यो सम्पूर्ण चराचरमा व्याप्त छ । यसलाई कस्तै शक्तिले पनि नाश गर्न सक्दैन । यसलाई कसैले मर्छ वा मार्छु भन्ने ठान्नु नै मूर्खता हो । न यसले कसैलाई मार्छ न यो कसैद्वारा मारिन्छ । न यो कहिल्यै जन्मन्छ न मर्छ । यो एक पल्ट भएर फेरि सदासदाका लागि नहुने पनि होइन । यो त अजर छ, नित्य छ, अव्यय छ । पार्थिव देहलाई मार्दा यो मर्छ वा मारिन्छ ठान्नु अबुझपन हो । बरु यसले त शरीरले लुगा फेरेझैँ शरीर फेरी हिँड्छ । एउटा शरीर त्यागेर अर्को शरीर ग्रहण गर्छ । पुरानो र कमजोर शरीर त्याग्छ र नयाँमा प्रवेश गर्छ । 

 यसलाई न हतियारले काट्छ न आगाले डढ्छ, न पानीले भिज्छ न हावाले उडाउँछ । यो सदाकालदेखि अविनाशी छ । यो सृष्टिलाई गतिमान् बनाउने तत्त्व नै यही आत्मा हो ।

 यस प्रकारले आत्माको बारेमा उपनिषद् तथा गीताहरूमा व्याख्या गरिएको छ । यसै व्याख्यालाई हरेक धार्मिक सत्सङ्गहरूमा व्याख्याविश्लेषण गरिने गर्छ । आत्माको असम्पृक्तताबारेको यति ठूलो महाआख्यान हुँदाहुँदै पनि त्यसैलाई फेरि कर्मकाण्डले साह्रै सङ्कुचित बनाई यही लोकको पापपुण्यको फलभोक्तामा परिणत गरिदिएको छ । दार्शनिकतालाई कर्मकाण्डीयताले काटेर हरिबिजोग गरिदिएको छ । त्यसो त म उपनिषद्हरूको ‘आत्मवादी चिन्तनमा पनि विश्वास गर्दिनँ तैपनि हाम्रो परम्पराले बोकी ल्याएको यो युगौँ पुरानो सांस्कृतिक भारीलाई एकैचोटि फ्याँक्न पनि मन लाग्दैन । त्यसैले यसलाई आधुनिक र सजिलो बनाउने कोसिस गरेको हुँ ।”

 उपस्थित परिवारजन, लेखक तथा पत्रकार साथीहरूले मेरो एकोहोरो प्रवचन सुनिरहेका थिए । सदा साहित्यका सिद्धान्तहरूमा बोलिरहने म आज अध्यात्मबारे बोलिरहेको थिएँ । म भन्दै गएँ— “उपनिषद्हरूले आत्मा र शरीरको सम्बन्धलाई एकदमै फरक पाराले हेरेका छन् । आत्माको तुलनामा शरीरलाई ज्यादै अवमूल्यन गरिएको छ । मानौँ, ‘शरीर भनेको एक किसिमको भार हो, नचाहिने वस्तु । आत्माका अगि शरीर बेकारको घिन लाग्दो मांसपिण्ड हो’ झैँ गरिएको छ । आत्माको खुसी र मुक्तिका लागि शरीरलाई जति नै दुःख र दण्ड दिए पनि हुने जस्तो गरिएको छ । हुन पनि तापसीहरूले शरीरलाई ज्यादै कष्ट दिएका कैयौँ उदाहरणहरू पाइन्छन् । सदा अजरअमर रहनेलाई भुली यो नश्वर शरीरको बसमा परेर इन्द्रियहरूको भोगमा अलमलिनु मूर्खता हो भन्दै शारीरिक आकाङ्क्षाहरूबाट पृथक् रहन प्रेरित गरिन्छ ।

 तर यसै दृष्टान्तसँग पनि कुराहरू बाझिएका छन् । जब सम्पूर्ण कुराको जसअपजसको भारी आत्माले लिने भए शरीरले त्यसको दण्ड भोग्नुपर्ने किन ? त्यही आत्माले खोजीखोजी शरीरमा बास बस्न आउनुपर्ने किन ? शरीरको माध्यमबाट सबैखाले सुखभोग गर्ने अनि त्यही शरीरको यत्रो अपमान किन ? के उपनिषद्हरूले भनेझैँ नै शरीरको मूल्य हुन्न ? त्यसो भए भगवान्हरूले बारम्बार यिनै शरीरका रूपमा अवतार किन लिएका ? शरीरबाट छुटिसकेपछि आत्मा स्वतः निर्मल हुन्छ भने फेरि त्यसले शरीरको मृत्युपछि किन भड्किनुपर्ने ? त्यसको पुनःसंस्कार किन गरिनुपर्ने ? एउटा शरीरबाट त्यो निस्केर जानासाथ त्यसले सारा सांसारिक बन्धन त्याग गरिसकेपछि फेरि सांसारिक कर्मबन्धनका विधिहरूले त्यसलाई बाँध्न किन खोज्नु ? के त्यो बाँधिएला त ? जब त्यसको रूप, आकार, रङ, ध्वनि, गन्ध, स्वरूप, लिङ्ग केही हुन्न भने त्यसका नाममा अनेकौँ सांसारिकता किन आरोपित गर्नु ?

 मलाई लाग्छ, हामीले दिवङ्गत आफन्तहरूको आत्मालाई सम्बोधित गर्दै गरिने यो कर्मकाण्ड बेकारको नाटक मात्र हो । मेरी आमाको शरीरमा रहेको आत्माको लिङ्ग के स्त्री हो ? मेरी आमा सिवाकोटीकी छोरी, भट्टराईकी बुहारी, उहाँको आत्माको थर के हो ? आमाको निधन हुनासाथ शरीरको दाहसंस्कार गरियो । उहाँको शरीरमा वास गरेको आत्मा के अहिले पनि ‘अम्बिकादेवी भट्टराई नामको शरीरकै बन्धनमा भड्किरहेको होला त ? त्यसो भए उपनिषद्हरूले व्याख्या गरेको आत्माचाहिँ कुन हो ?

 पुनर्जन्ममा विश्वास गर्नेहरू भन्छन्, ‘शरीरलाई पुराना कपडा फेरेझैँ आत्माले फेरिरहन्छ । त्यो विभिन्न कालमा विभिन्न जीवको शरीरमा प्रवेश गर्दै जन्मिरहन्छ ।’ त्यसो भए पनि त आमाको शरीरमा कुनै समय रहेको आत्माले अहिलेसम्म कति पल्ट कति शरीरको चक्कर मारिसक्यो होला ? कति जीवमा, कति गोत्रमा, कति लिङ्गमा पुगिसक्यो होला ? के हाम्री आमाको आत्मा कतै चुपचाप हामीले वर्षैपिच्छे लडाउने पिण्डको प्रतीक्षामा बसिरहेको होला ?

 त्यसैले यो प्रेतकल्पीय कर्मकाण्डबाट अलग रहेर दिवङ्गत आफन्तहरूको स्मृति गर्नुपर्छ भन्ने मलाई लाग्छ । हाम्रो यही शरीर नै सबैभन्दा ठूलो कुरा हो । यसैको माध्यमबाट हामी जीवनका सबै कर्महरू गर्छौं । वैज्ञानिकतापूर्ण तथ्यहरूले भरिएको यस शारीरिक संरचनालाई बिर्सेर पराकाल्पनिक अन्धविश्वासहरूमा अलमलिनु पर्दैन भन्ने लाग्छ । 

 आजको यस कार्यक्रमलाई हामी पितृस्मृति सभाका रूपमा मनाउँछौँ । पितृहरूको योगदानको मूल्याङ्कन गर्छौं । हाम्रा सांस्कृतिक मान्यताहरूमाथि विमर्श गर्छौं । ज्ञानयोगको रूपमा यो श्राद्ध कर्म पूरा गर्छौं ।”

 मेरो लामो प्रवचन सुनेपछि सबैजना अलमल्ल परे ।

(मदन पुरस्कार विजेता साहित्यकार धरावासीको ‘आधाबाटो’ पहिलो भाग निकै लोकप्रिय भएको थियो । उनका कविता, निवन्ध र कथा सहितका दर्जनौं कृति उत्तिकै रुचाईएका छन् । यो सामग्री आधाबाटो कृतिको भाग–२,एक अंश हो– सं)

ताजा खबर