गाईजात्रालाई शिवशंकरको लकडाउन

२०७७ श्रावण ४ आइतबार १०:१६:०० मा प्रकाशित

हास्यकलाकार शिवशंकरप्रसाद रिजाल (जोगिन्दर पानवाला) हरेक वर्ष गाईजात्रालाई लक्षित गर्दै गाईजात्रे प्रहसन सार्वजनिक गर्ने गर्छन्। टेलिभिजन कार्यक्रममार्फत जोगिन्दर पानवालाका नामले समेत चर्चित रिजालले यो वर्षको गाईजात्राका लागि पनि प्रहसन तयार पारेका छन्।

उनको यो वर्षको प्रहसनलाई शिवशंकरप्रसाद रिजाल (जोगिन्दर पानवाला)को लकडान हास्यव्यंग्य गाईजात्रा २०७७ नाम दिइएको छ। उनको प्रहसनलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। ५ दिनअगाडि सार्वजनिक गरिएको यो प्रहसन युट्युबमा ७५ हजार बढीले हेरेका छन्।

शिवशंकरले यस वर्षको आफ्नो गाईजात्रे प्रहसनलाई लकडाउन नाम दिए पनि उनले यसमा केबल लकडाउनका विषयमात्र समावेश गरेका छैनन्। लकडाउन अवधिको सेरोफेरोसँगै देशमा भएका राजनीतिक, आर्थिक एवं सामाजिक विकृति र विसंगतिविरुद्ध चोटिलो प्रहार गरेका छन्। राजनीतिक विकृति र विसंगतिसँगै भारतले अतिक्रमण गरेको नेपाली भूमि, पश्चिम रुकुममा भएको छुवाछुतजस्ता मुद्दालाई पनि शिवशंकरले आफ्नो प्रहसन र व्यंग्यको विषय बनाएका छन्।

उनको प्रहसनसँगै राजनीतिक र सामाजिक विषयमै चोटिलो तर रमाइलो प्यारोडी गीत पनि हेर्न पाइन्छ। गोजीमा दाम छैन जनताको मर्म नबुझ्ने नेता केही पनि काम छैन बोलको प्यारोडीले दर्शक स्रोतालाई भरपूर मनोरञ्जन प्रदान गर्दछ। शिवशंकरले आफ्नो प्रस्तुतिअन्तर्गत एकल प्रहसन प्रस्तुत गरेका छन् भने अन्य प्रस्तुतिमा अरू कलाकारहरुलाई पनि हेर्न पाइन्छ।

लकडाउनभित्र शिवशंकरजस्तै अभिनेत्री रोशनी केसी, गायिका राधिका हमाल, शशी थापा, कुमार गजुरेल, शिवराम कार्की, धीरेन्द्र सिंह, शंकर कार्कीलगायतले अभिनय गरेका छन्। शिवशंकरको यो १७औं एकल गाईजात्रे प्रस्तुति हो।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर