गुटको राजनीति त्यागेर सिंगो कांग्रेस बलियो बनाउनुस् : पौडेल

२०७७ श्रावण ४ आइतबार ०९:५६:०० मा प्रकाशित

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र गुटको राजनीति त्यागेर सिंगो कांग्रेस बलियो बनाउनेतर्फ लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।  शनिबार काठमाडौंमा ३१ सगरमाथा आरोहीहरुलाई पार्टी प्रवेश गराउने क्रममा वरिष्ठ नेता पौडेलले कुनै एक नेतालाई समातेर कांग्रेस बलियो हुन नसक्ने बताएका हुन्।  

‘१४ औं महाधिवेशनमा स्वच्छ लोकतान्त्रिक अभ्यास गरौं।  यो तेरो र यो मेरो नभनौं।  मेची महाकाली जाँदा मैले भनेको छु कि तपाईहरु देउवालाई पनि नसमात्नूस्, पौडेललाई पनि नसमात्नुस, कांग्रेसलाई समात्नुस्।  रुखलाई समात्नूस्,’ उनले भने, 'पार्टी र राष्ट्रप्रति इमान्दार हुनुस्।  लोकतन्त्रप्रति इमान्दार हुनुस्।  व्यक्तिका पछाडि तपाई नलाग्नुस्। ’
उनले पार्टीका बारेमा जनतामा गलत अपवाह फैलिएको बताए।  ‘कांग्रेसका बारेमा जनतामा गलत अपवाह प्रवाह भएको छ,’ उनले भने, ‘कांग्रेसमा निष्ठावान् सच्चा इमेज भएका मान्छेहरु हुँदाहुँदै पनि कांग्रेसको इमेज जनताका बीचमा राम्रो भएन।  त्योबाट कांग्रेसलाई जोगाउनुछ। ’

कार्यक्रममा पूर्व उद्योगमन्त्री नविन्द्र राज जोशीले कांग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्ने दावी गर्दै लोकतन्त्रका लागि पार्टी बलियो हुनु आवश्यक रहेको बताए।  पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले कोभिड १९ का कारण सिंगो मुलुकको अर्थतन्त्र धराशयी भइरहेका बेला सरकार र सत्तारुढ दल नेकपा भने संवेदनशील नभएको आरोप लगाए।  ‘कोभिड १९ बाट सिंगो अर्थतन्त्र धरासयी छ।  सरकार अर्थतन्त्रलाई कसरी चलायमान बनाउने र नागरिकको जीवन रक्षा कसरी गर्ने भन्दा पनि पार्टीको आन्तरिक द्वन्द्ध र भ्रष्टाचारमा लिप्त छ,’ उनले भने, 'सरकारको यो असंवेदनशीलताले मुलुक ठूलो आर्थिक संकटमा फस्ने चिन्ता उत्पन्न हुन थालेको छ। ’
(अन्नपूर्ण पोष्ट)

ताजा खबर