राजनीति ‘पोस्ट–बीपी’ र ‘पोस्ट–पीएल’ भएकै छैन

२०७७ श्रावण ४ आइतबार ०७:४१:०० मा प्रकाशित

बीपी र पुष्पलालको नाम नलिए कांग्रेस र कम्युनिस्ट दुवैमा वैचारिक अस्तित्व र वैधताको संकट उत्पन्न हुन्छ, नेताको छाक टर्दैन ।

काठमाडौँ — यो साता आधुनिक नेपाली राजनीतिका दुई शिखर प्रतिनिधि पात्र विश्वेश्वरप्रसाद (बीपी) कोइराला (१९७१–२०३९) र पुष्पलाल (पीएल) श्रेष्ठ (१९८१–२०३५) को सम्झनामा सञ्चारमाध्यमहरू तरंगित हुनेछन् । राजनीतिको औपचारिक संरचना लोकतन्त्रको संसदीय सिद्धान्त र मान्यतामा बनेको छ, जसको वैचारिक श्रेय बीपीलाई जान्छ ।

राज्यसत्तामा कम्युनिस्ट पार्टी (नेकपा) छ, जसको प्रारम्भ पुष्पलालले गरेका थिए । सात दशकभन्दा लामो समयदेखि नेपालको प्रमुख राजनीतिक शक्तिका रूपमा हावी रहँदै आएका कांग्रेस र कम्युनिस्ट ब्रान्डको स्रोत यिनै दुई ऐतिहासिक व्यक्तित्व हुन् । यी नेताको नाम नलिए कांग्रेस र कम्युनिस्ट दुवैमा वैचारिक अस्तित्व र वैधताको संकट उत्पन्न हुन्छ, नेताको छाक टर्दैन । वर्तमान सत्ता संरचनामा यी दुई नेताको सादृश्यता प्रत्यक्ष देखिन्छ, तर राजनीतिको अभिमुख भने नितान्त उल्टो गतिमा छ । यी दुवै राजनीतिक महारथीको जीवन सिद्धान्तनिष्ठा, संघर्ष, त्याग र सादगीले सुसंस्कृत थियो । तर, यिनका अनुयायी दाबी गर्ने आजका कांग्रेस र कम्युनिस्टको राजनीति राज्यको ढुकुटी हजम गर्नेतर्फ अभिमुख छ ।

समय–सन्दर्भ मिलेकाले यहाँ यी दुई नेताको चर्चा गरे पनि मेरो आशय उनीहरूको तुलना गर्नु होइन । तर, संक्षिप्त चर्चा अपेक्षित हुन्छ । नेपालको राजनीतिमा दुवैको मौलिक योगदान छ र विशिष्ट स्थान । मलाई पुष्पलालबारे राजनीतिको एउटा सामान्य पाठकको भन्दा बढी थाहा छैन । तर, नेपालको राजनीतिबारे थोरै जानकारी राख्नेका लागि पनि पीएल अपरिचित नाम होइन । कलिलै उमेरदेखि राणाशाहीविरुद्ध संघर्षमा उत्रिएका र उमेरले एक दशक कान्छा भए पनि बीपीसरहकै पुस्ताका पात्र हुन् उनी । जसरी बीपीले नेपालमा नेपाली कांग्रेसको स्थापना गरेर लोकतान्त्रिक राजनीतिको प्रारम्भ गरे, त्यसरी नै कम्युनिस्ट पार्टीको स्थापना गरेर पीएलले नेपालमा कम्युनिस्ट राजनीति शिलान्यास गरेका हुन् । कम्युनिस्ट साहित्य, सिद्धान्त लेखनदेखि संगठन र संघर्षले भरिएको छ उनको जीवन । पछि जति चिरामा विभक्त भए पनि त्यही जगमा खडा भएका हुन् नेपालका कम्युनिस्ट घटकहरू र विभिन्न धारका कम्युनिस्ट आन्दोलन । कम्युनिस्ट पार्टीको राजनीति र इतिहासमा एउटा खुला पुस्तक भएर रहेको छ उनको जीवन पनि । त्यही खुलापनले पीएलविरुद्धका लाञ्छनाहरू निस्तेज भए र उनी नेपाली राजनीतिमा एउटा कञ्चन व्यक्तित्वका रूपमा स्थापित भएका छन् ।

बीपी र पीएल दुवैको राजनीतिक प्रारम्भ समान उद्देश्य–निर्देशित थियो— राणाशासनको समाप्ति र लोकतान्त्रिक समाजको निर्माण । यद्यपि राणाशासन समाप्तिपछि राजनीति र लोकतन्त्रको बाटोका बारेमा दुवैमा मौलिक भिन्नता थिए । बीपी उदारवादी लोकतन्त्रको राजनीतिक संरचनामा समाजवादी आर्थिक–सामाजिक नीतिका पक्षमा थिए भने पीएल साम्यवादी राजनीतिक एवं आर्थिक संरचनाका पक्षमा । सिद्धान्ततः दुवै मार्क्सवादी विचारबाट प्रभावित तर राजनीतिक र पार्टीगत बाटो भिन्न थियो । झट्ट हेर्दा कहिल्यै नमिल्ने समानान्तर र शत्रुगत (एडभर्सरी) जस्तो पनि लाग्छ । त्यस बेला कांग्रेस–कम्युनिस्ट द्वन्द्व तीव्र सैद्धान्तिक प्रतिद्वन्द्विता र तत्कालीन विश्वराजनीतिको स्वाभाविक प्रभाव थियो । तर निर्दलीय पञ्चायतको प्रभाव र दरबार–निर्देशित कांग्रेस–विरोधबाट मुक्त थियो उनको राजनीति । त्यसैले राजाको निरंकुशताविरुद्धको आन्दोलनमा बीपी र पीएलबीच कुनै सैद्धान्तिक वा पार्टीगत मतभिन्नता थिएन ।

तर विश्वराजनीतिमा मार्क्सवाद जडसूत्रवादी भयो, सत्ताको अस्त्र बन्यो कम्युनिस्ट पार्टीका नाममा । इतिहासको गतिलाई कम्युनिस्ट पार्टीभित्रको शासकहरूको एउटा गुटले कब्जा गर्‍यो । मार्क्सको नाममा जुन राजनीति र ‘वाद’ को प्रयोग भएको छ, त्यो धेरै विवादित र विभाजित छ, विश्वभर नै । एउटा अनौठो विरोधाभास छ बीपीमा पनि, मार्क्सवादबाट प्रभावित तर मार्क्सवादी अर्थात् कम्युनिस्ट राजनीतिसँग घोर असहमत । समाजवादको कुरा गर्दा पछिसम्म बीपीले आफूलाई ‘मार्क्सवादी’ नै भनेका छन् । त्यसकारण पुष्पलालले कोरेको आर्थिक–सामाजिक नीति र कार्यक्रममा सहमतिको हस्ताक्षर गर्न उनलाई कुनै आपत्ति थिएन । दुवै बनारसमा छँदा सार्वजनिक रूपमै सुनिएको कुरा हो यो । तसर्थ लोकतन्त्र, समाजवाद र आधुनिक राजनीतिको कुरा गर्दा बीपी र पीएलको सन्दर्भ न कहिल्यै पुरानो हुन्छ, न कहिल्यै उत्तरकालीन, अर्थात् राजनीति ‘पोस्ट–बीपी’ वा ‘पोस्ट–पीएल’ भएको छैन ।

बीपी कोइरालाका चेतना बहुआयामिक छन् । यसको कारण राजनीति मात्र होइन, उनमा निहित विलक्षण प्रबुद्धता (इनलाइटेन्मेन्ट) हो । नेपालको सार्वजनिक जीवनमा यति प्रबुद्ध (इनलाइटेन्ड) व्यक्तित्व अहिलेसम्म अर्को देखिएको छैन । त्यो चेत राजनीतिको घेरामा सीमित छैन, समग्र समाज र जीवन–साहित्य, कला, संस्कृति, सभ्यता, इतिहास, दर्शन सबैतिर फैलिएको देख्न पाइन्छ, उनका अभिव्यक्ति, लेखन र साहित्यहरूमा । राजनीति झिकिदिने हो भने पनि समसामयिक नेपाली साहित्यमा उनको व्यक्तित्व मौलिक र अग्लो छ । साहित्य र राजनीति दुवै झिकिदिँदा पनि उनको चेतना तत्त्व र प्रबुद्धतामा कुनै कमी आउँदैन । प्रबौद्धिकताले उनको क्रियाशीलतालाई ओज दिन्थ्यो र मानिसलाई बौद्धिक–भावनात्मक स्पर्श, जसको अभावमा अधिकांश नेताका विचार र कामहरू यान्त्रिक हुने गर्छन् । जेलमा होस् वा बाहिर, स्वतन्त्र रूपमा स्वदेशमा बस्ता होस् वा विदेशमा निर्वासित भएर रहेको अवस्था, जहाँ रह्यो त्यहीँ राजनीतिक मञ्च बन्थ्यो । त्यसले राजनीतिक स्पन्दन दिन्थ्यो । साहित्य सिर्जना गर्थ्यो । विचार र चिन्तन प्रवाह गर्थ्यो ।

बीपीले जेलमा बन्दी अवस्थामै दिएका हुन् अदालतमा बयान, जुन स्वतन्त्रताको एउटा क्रान्तिकारी दस्तावेज भएर बाहिर निस्क्यो । अदालतमा दिइने सनातनी बयानजस्तो ‘हो’ र ‘होइन’ को प्रतिरक्षाभावबाट मुक्त थियो त्यो । त्यसलाई विश्वमै नागरिक स्वतन्त्रता र लोकतन्त्रका पक्षमा एउटा श्रेष्ठतम क्रान्तिकारी अपिल मान्न सकिन्छ । त्यो कानुनी प्रतिरक्षाभन्दा पनि आफूले आह्वान गरेको सशस्त्र क्रान्तिको औचित्य पुष्टि र आफ्नो राजनीतिक मिसनको खुला दस्तावेज साबित भएको छ । त्यो कुनै सुरक्षित ठाउँ वा बन्दकोठामा बसेर लेखिएको राजनीतिक भाषण थिएन, फाँसीको सजाय माग गरेर निरंकुश राजतन्त्रले अभियोग लगाएर उसैले खडा गरेको अदालतको कठघरामा उभिएर क्रान्तिको पक्षमा गरिएको घोषणा थियो । जेलमा लेखेका डायरीहरू जुन उनको निधनपछि प्रकाशित भए, आफैंमा चहलपहल ल्याउने लेखन साबित भएका छन् । त्यसपछि जीवनभरि बीपीको विरोध गर्नेहरू, चाहे ती कम्युनिस्ट विचारका होऊन् वा राजावादी, सबैको उनीप्रतिको दृष्टिकोण बदलिएको छ ।

बीपी बितेको ३८ वर्ष र पीएल बितेको ४२ वर्ष भइसक्यो । दुवैलाई कहिल्यै नदेखेका नयाँ पुस्ताका धेरै मानिस राजनीतिमा आइसकेका छन् । तर राजनीतिका मूलपाठ, आधारभूत संरचना, प्रक्रिया र मान्यता उही छन् । अर्थात्, जेका लागि उनीहरूले आजीवन संघर्ष गरे, जेका लागि आज मानिसहरू उनीहरूको सम्झना गर्छन्, राजनीति त्यसैका वरिपरि छ ।

बीपीका सन्दर्भमा भन्नुपर्दा, अझ धेरै ठूला परिवर्तन भए । राजसंस्था फ्याँकियो, गणतन्त्र आयो, जननिर्वाचित संविधानसभाले संविधान बनायो, मुलुक संघीयतामा गयो । उनीसँग पार्टीगत रूपमा असहमत हुनेहरू, कम्युनिस्ट र राजावादीहरू पनि आए बहुदलीय सत्तामा । अहिले कम्युनिस्ट पार्टी २०१६–१७ सालको कांग्रेस जसरी नै ठूलो बहुमतसहित सत्तामा छ । राजा रहनु या नरहनु, संघीयता हुनु या नहुनु संरचनाका कुरा हुन्- समावेशिता, समानुपातिक कोटा संवैधानिक वा कानुनी प्रावधान र नीतिगत कुरा हुन् । समयक्रममा तिनको स्वरूप परिवर्तन हुन्छ, सारतत्त्व यथावत् रहन्छन् । कैयौं कांग्रेसजनको गुनासो सुनिन्छ, कांग्रेस पार्टीले बीपीको नीति छाड्यो भनेर । गणतन्त्रमा जानु, संघीयता अपनाउनु, पहिचान र समावेशिताको कुरा गर्नु, कम्युनिस्टसँग आन्दोलनमा सहकार्य गर्नुमा म बीपीको सिद्धान्त, नीति र मान्यताको प्रतिकूलता देख्दिनँ । सनातनी कांग्रेसीका लागि त ‘लोकतन्त्र’ शब्द पनि बीपीइतर मानिन्छ । बीपीको चेतना र चिन्तन समयको कुनै आवधिकतामा बाँधिएको थिएन, त्यो प्रगतिशील थियो । त्यसैले अहिले पनि त्यसको औचित्य र सान्दर्भिकता उत्तिकै छ ।

राजनीतिको विडम्बना बेग्लै छ । गत साता दुई कुराले नेपालको राजनीति र शासकीय व्यवहार चर्चित भए । एउटा, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन, र अर्को, ‘ग्लोबलवाच अनालिसिस’ भन्ने संस्थाको वेबसाइटमा आएको प्रधानमन्त्री केपी ओलीको भ्रष्टाचार एवम् अवैध सम्पत्ति कनेक्सन । वेबसाइटका कुरा कति सत्य हुन्, प्रश्न गर्न सकिन्छ । त्यो सजिलै पुष्टि गर्न सकिन्न होला । तर, हाम्रो राजनीति र शासकीय व्यवहार जसरी अवैध सम्पत्ति जोड्न अभिमुख छ, त्यसले त्यो वेबसाइटको टिप्पणीलाई जति खण्डन गरे पनि मानिसको मनबाट सत्ताधारीहरू चोखिँदैनन् । राज्यसत्तामा भ्रष्ट र कमजोर मानिसमाथि, नेपाली राजनीतिमा विकास–निर्माणका ठेक्का कारोबारीहरूको कस्तो रजगज छ भनी बुझ्न बेलाबेलाका नेताहरूको आवास, बैठक, भोजभतेर र ‘मार्सीभात’ का चर्चा छँदै छन् । अब त त्यो नेपालमा अवस्थित कूटनीतिक कारोबारको मुख्य अंश बनेर अन्तर्राष्ट्रिय तहमा समेत चर्चित हुन पुगेको छ ।

महालेखाको प्रतिवेदन त औपचारिक दस्तावेज नै भयो । यो प्रतिवेदन मुलुकको आर्थिक कारोबारको नियमितता–अनियमितता छुट्याउने एउटा औपचारिक आधार हो । वित्तीय कारोबारमा बेरुजुका प्राविधिक पनि कारण होलान् । तर यहाँ चिन्ताको कुरा राज्यको ढुकुटीबाट सोझै आफ्नो निजी सुख, सुविधा र भरणपोषणको जुन होड राजनीतिमा छ, त्यसले राज्य, शासनसत्ता र राजनीति सबैको अनुहार विरूप हुने गरी चिथोरेको मात्र छैन, औचित्यमै प्रश्न खडा गरेको छ । राजनीति र राजनीतिकर्मी दुवै समाजको सर्वाधिक भ्रष्ट पहिचान बन्न पुगेका छन् । यो यसरी जनमानसमा गढेर बसेको छ, कहिल्यै पद र सुविधामा नपुगेका वा नबिटुलिएका एकाध अपवाद हुनु–नहुनुको कुनै अर्थ बाँकी छैन । राजनीतिका सबै पात्र सपरिवार सत्ताका अनुजीवी भएका छन् । अहिले राजनीति र राजनीतिकर्मीका बारेमा समाजमा व्याप्त जनधारणा यही हो । यस्तो राजनीतिका अनुचरहरूले बीपी र पीएलको सम्झना एवं श्रद्धा गर्ने कति नैतिक हैसियत बाँकी राखेका छन् र ?

महालेखाको प्रतिवेदन नै चाहिँदैन नेपालमा सुविधाखोर राजनीति अत्यधिक छ भनेर जान्नलाई । त्यसबाहेक अरू दुई कुराका कारण थप आश्चर्य लाग्यो— बजेट पढेबापत गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले लाखौं रुपैयाँ खल्तीमा हालेछन् । यसले प्रस्ट देखाउँछ हाम्रो राजनीतिको भ्रष्ट अभिमुखीकरण । अर्को, गृहमन्त्री र गृहसचिवको सुराकी खर्च । के परिवर्तन गरेछौं हामीले पटक–पटक आन्दोलन गरेर ? आखिर संस्कार त पञ्चायतकै निरन्तरता दिइरहेका छौं । पञ्चायत निरंकुशतन्त्र थियो, वैधताको संकट थियो ! सुराकी खर्च कांग्रेस–कम्युनिस्टको चियोचर्चो गर्नका लागि थियो, पञ्चायतको समर्थन आकर्षण गर्ने पकेट खर्च पनि । अहिले किन चाहियो त्यो ? मैले राज्यलाई सुराकी खर्च चाहिँदैन भन्न खोजेको होइन । त्यसलाई मन्त्री र सचिव वा यस्तै अन्य कुनै पदाधिकारीको निजी तजबिज होइन, संस्थागत गर्न सरकार किन चाहँदैन भन्ने प्रश्न हो ।

तर के गर्ने ? जति विद्रूप, जति फोहोरी, भ्रष्ट र अवाञ्छित भने पनि हामी राजनीतिको चक्र/दुश्चक्रबाट मुक्त छैनौं । यसबाट भाग्न सकिन्न, भागेर छुट पनि पाइन्न । राजनीति गर्नेले बिगारे भनेर राजनीतिबाहिरका नागरिक पन्छिने कुरा हुँदैन । राजनीतिलाई स्वच्छ र सर्वहितकारी ट्र्याकमा राख्न प्रयत्न जारी रहनुपर्छ । त्यसमाथि राजनीतिलाई सधैं आदर्श, मान्यता र सच्चरित्रले अभिप्रेरित गर्ने व्यक्तिहरू नभएको मुलुक पनि होइन । बीपी र पुष्पलाल मात्र होइनन्, अरू पनि छन्- नयाँ पुस्तामा स्वच्छ राजनीतिको चाहना राख्नेहरू छन् । तर कांग्रेस र कम्युनिस्ट राजनीतिको अहिलेका धारबाट तिनीहरू पार्टीमै किनारीकृत छन्, कित्ताकाटमा परेका छन् । साँढेझैं गजधम्म बसेका कांग्रेस र कम्युनिस्टका कारण बाहिरको राजनीतिमा पनि विकल्पहरूले आकारै लिन नसक्ने भएको छ । सतहमा देखिएका विकल्पहरू विश्वसनीय बन्न सकेका छैनन्, त्यहाँ चिन्तनको स्रोत नै देखिन्न । नेतृत्व लघु परियोजनाकारको तहमा सीमित छन् ।

यो साता बीपी र पुष्पलालको सम्झना गर्नु हामी कांग्रेस र कम्युनिस्ट वृत्तबाट मुक्त भएर उनीहरूका विचार, व्यवहार र जीवनबाट केही सिक्न सक्छौं कि भन्ने एउटा कामना हो । बीपीका बारेमा त अध्ययन गरेर कहिल्यै नसकिने आयाम छन्, नयाँ पुस्ताका लागि पनि । अहिले सत्तारूढ कम्युनिस्टहरूका लागि पीएलको एउटा वाक्य ‘राजनीति जालझेल होइन, सिद्धान्त, संगठन र संघर्षले निर्देशित यात्रा हो’ भन्ने नै पर्याप्त लाग्छ, यदि चेतना भए ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर