कोरोना मुक्त हुँदैछ प्रदेश–५

२०७७ श्रावण ३ शनिबार ०९:५४:०० मा प्रकाशित

बुटवल । देशभरमा कोरोना सङ्क्रमणको सबैभन्दा उच्च दर रहेको प्रदेश–५ कुनै ‘भवितव्य’ नभएमा छिट्टै कोरोना मुक्त प्रदेश बन्दैछ । उच्च जोखिममा गनिएको यो प्रदेश निको भएर घर फर्किने दर ९१ प्रतिशत छ । देशभर यस्तो दर ६६ प्रतिशत मात्रै छ ।

देशभर सङ्क्रमणको दर छ प्रतिशत हुँदा यो प्रदेशमा आठ प्रतिशत थियो तर यही प्रदेश विशेष सावधानीका कारण कोरोना मुक्त हुँदैछ । यो प्रदेशमा सङ्क्रमित चार हजार ९८ मध्ये तीन हजार ६३७ जना निको भएर घर फर्किसकेका छन् । अब निको हुन ३७७ जना मात्र बाँकी छन् ।

प्रदेश–५ सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशभर कोरोना सङ्क्रमणबाट ४० को मृत्यु भएकोमा यो प्रदेशमा मात्रै १३ को मृत्यु भएको छ । गत जेठ १० गते प्रदेश प्रमुख धर्मनाथ यादवले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आगामी साउनसम्म कोभिड सङ्क्रमण स्थिर बनाउँदै समृद्धिको यात्रा पुनः थाल्ने उल्लेख थियो । सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार विशेष सावधानीका कारण त्यो भन्दाअघि नै प्रदेशमा कोरोना निर्मूल हुने सम्भावना बढी छ । मन्त्री बरालका भनाइमा त्यसका लागि कोरोना सङ्क्रमण सम्भावित दोस्रो चरणको सामना गर्ने पूर्ण तयारी पनि भएको छ ।

खुला सीमाका कारण अति जोखिममा रहेको यो प्रदेशमा सुरुमा कुनै सङ्केत नदेखिए पनि भारतबाट अनियन्त्रित र अवैध तरिकाले छिरेका कारण वैशाख २२ गतेदेखि एकाएक सङ्क्रमण बढेको थियो । हट स्पटका रूपमा देखापरेका कपिलवस्तु, बाँकेसँगै क्रमशः सबै जिल्लामा सङ्क्रमण फैलिएको थियो ।

सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशङ्करप्रसाद चौधरीका भनाइमा पछिल्ला दिनमा कपिलवस्तु, बाँकेसँगै प्यूठान, पश्चिम नवलपरासी लगायतका जिल्लामा कुनै सङ्क्रमित थपिएका छैनन् ।

यसकारण मुक्त हुँदैछ
अन्यत्रको तुलनामा उच्च गतिमा सङ्क्रमण फैलिएको यो प्रदेशमा उच्च गतिमै निको हुनुमा विशेष कारण छन् । मन्त्री बरालका भनाइमा उच्च सतर्कता, परीक्षणको फराकिलो दायरा, उपचार संयन्त्रको तत्काल व्यवस्था, स्वास्थ्यकर्मीको साहस, सङ्क्रमितको उच्च मनोबल, सीमा व्यवस्था र लकडाउनको पालना जस्ता कारणले हट स्पटसँगै प्रदेशभर कोरोनामाथि सफलता प्राप्त भइरहेको हो ।

उहाँका भनाइमा सङ्क्रमण देखिनुअघि नै यहाँका सबै जिल्लामा ठूलो क्षमताका क्वारेन्टाइन, कोरोना विशेष अस्पताल र प्रयोगशाला बनाइएको थियो । सुरुमा परीक्षण किटको अभाव देखिए पनि तत्कालै व्यवस्था गरेर परीक्षणको दायरा विस्तार गरिएको थियो ।

त्यस्तै रोग प्रतिरोधी औषधि वितरण, नियमित र स्वस्थ खानपान, शारीरिक अभ्यास, मनोविमर्श, व्यवस्थित रेखदेखका कारण पनि धेरैले कोरोनालाई पराजित गरिरहेको उहाँले बताउनुभयो ।

प्रदेशमा सबैभन्दा चुनौतीका रूपमा खुला सीमा र लुकिछिपी प्रवेश नै रहेको थियो । पछिल्लो पटक प्रदेश सरकारले एक जिल्लामा एक मात्र नाका प्रयोग गर्ने रणनीति लिएको थियो । यो प्रदेशमा चारवटा कोरोना विशेष अस्पताल, १५० वटा आइसोलेसन सेन्टर सञ्चालनमा छन् भने एक हजार ७९६ स्थानमा ५४ हजार ६२६ बेड क्षमताका क्वारेन्टाइन छन् । ती मध्ये अधिकांश खाली भएका छन् ।

प्रदेशमा पहिलो हट स्पट देखिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले छोटो समयमै कोरोनामाथि विजय हासिल गर्नुका प्रमुख कारण क्वारेन्टाइन र आइसोलेसनको पूर्वतयारी, शीघ्र परीक्षण, सङ्क्रमितको आहारविहारमा सजग हुनु हुन् भन्नुभयो ।

प्रजिअ पौडेलका भनाइमा जिल्लामा सङ्क्रमणको कुनै सङ्केत नदेखिँदै सबै स्थानीय तहमा क्वारेन्टाइन बनिसकेका थिए । सुरुमा सङ्क्रमण देखिएकालाई बुटवल र दाङमा पहिल्यै बनेका कोरोना विशेष अस्पतालमा पठाइयो । पछि भने स्थानीय तहमै बनाइएका आइसोलेसनमा राखेर सावधानी पछि अवस्था सहज भयो ।  
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर