युभेन्टस बराबरीमा

२०७७ श्रावण ३ शनिबार ०९:३१:०० मा प्रकाशित

रोम । दुई गोलको अग्रता लिएर पनि जोगाउन नसक्दा युभेन्टस इटालियन सिरी ‘ए’मा ससुलोसँग बराबरीमा रोकिएको छ । एलेक्स सान्द्रोले गोल गरेपछि युभेन्टस सस्सुलोसँग ३–३ गोलको बराबरीमा रोकिएको हो । ससुलोको मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसका लागि डानिलो, गोन्जालो हिगुआइन र एलेक्स सान्द्रोले गोल गरे । घरेलु टोलीका फिलिप, डोमिनिको बेरारडी र फ्रान्सिस्को कापुटोले गोल गरे ।

रोमाञ्चक बनेको खेलको दोस्रो मिनेटमा नै मिरालेम प्यानिचको पासमा डानिलोको गोलबाट युभेन्टसले सुरुवाती अग्रता बनाएको थियो । १२औं मिनेटमा प्यानिचकै पासमा हिगुआइनले गोल गरेपछि युभेन्टसले खेलमा २–० को अग्रता लिन सफल भयो । २९औं मिनेटमा घरेलु टोलीका फिलिप डिजुरिसिसले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अवस्थामा ल्याए । ५१औं मिनेटमा डोमेनिकोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि नै फ्रान्सिस्कोले गोल गरेपछि युभेन्टस खेलमा पछि परेको थियो ।

६४औं मिनेटमा युभेन्टसका एलेक्स सान्द्रोले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । ससुलोविरुद्ध गोल गर्न नसक्दा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो लगातार सातांै खेलमा गोल गर्न असफल रहे । यसअघि रोनाल्डोले लगातार ६ खेलमा गोल गरेका थिए । बराबरीसँगै युभेन्टसले शीर्षस्थानमा एटलान्टालाई ७ अंकले पछि पारेको छ ।

युभेन्टसको ७७ तथा एटलान्टाको ७० अंक छ । सस्सुलो ४७ अंक जोडेर सातांै स्थानमा रहेको छ । यस्तै, अर्काे खेलमा एसी मिलानले पार्मामाथि ३–१ को सहज जित हात पारेको छ । रोमाले हेलास भेरोनामाथि २–१ को जित निकाल्दा नपोली बोलोग्नासँग १–१ गोलको बराबरीमा तथा लाजियोले उडिनेसीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर