अम्बिकाको राष्ट्रिय गीतमा १६ गायक गायिका

२०७७ श्रावण ३ शनिबार ०९:२३:०० मा प्रकाशित

काठमाडौं । गीतकार अम्बिका शर्माले यसपटक १६ जना चलेका गायक गायिकालाई आफ्नो गीतमा समेटेर भिडियोमा ल्याएकी छन् । कोरोना संक्रमणका कारण सरकारले १५ जनाभन्दा बढीलाई भेला हुन रोक लगाएको छ । तर, यी गीतकारले १६ जना कलाकारलाई फरकफरक समयमा स्टुडियो र सुटिङ स्थलमा बोलाएर गीत तयार गरेकी हुन् ।

मुलुकमा विदेशी हस्तक्षेप बढिरहेका बेला यी गीतकारले राष्ट्रिय भावनाले ओतप्रोत गीत मेरो देश नेपाल…मा १६ जना गायक गायिका समेटेकी हुन् । उनले यो गीतको भिडियोलाई बु्धबार बेलुका रिलिज गरेकी छन् ।

यसअघि थुप्रै आधुनिक, लोक, पप गीत ल्याएकी अम्बिकाले यसपटक राष्ट्रिय भावनाले ओतप्रोत यो गीत ल्याएकी हुन् । गीतमा अर्जुन पोखरेलको संगीत छ । हरेक नेपालीमा देश र मातृभूमिका माया बढाउने उनले यो गीत अहिलेको अवस्थामा ल्याएको बताएकी छन् ।

गीतमा अहिले चर्चामा रहेका गायक गायिका राजेशपायल राई, प्रमोद खरेल, अर्जुन पोखरेल, राजु परियार, मेलिना राई, कृष्ण काफ्ले, अनिता चलाउने, बुद्ध लामा, निशान भट्टराई, राज सिग्देल, किरण भुजेल, अस्मिता अधिकारी, प्रविन बेडवाल, समीक्षा अधिकारीलगायत छन् ।

नेपालीको दैनिकी र यसको सेरोफेरो रहेको गीतको भिडियोमार्फत देश र राष्ट्रको माया जगाएको छ । गीतको सुरुमा सञ्चारकर्मी भूषण दाहालको आवाजमा नेपालीहरूको गौरवगाथाको कथा प्रस्तुत गरिएको छ ।

यो गीत भिडियोको हिसाबले पनि त्यत्तिकै आकर्षक बनेको छ । गीतको भिडियोमा निर्देशक विधान कार्कीले हिमालदेखि तराईसम्मको माटो र संस्कृतिलाई समेटेका छन् । गीतजस्तै भिडियोलाई पनि विविधतामा एकताका रूपमा परिणत गरिएको छ । यो गीतको भिडियोमा रुविना अधिकारीसँगै गायक गायिकालाई प्रस्तुत गरिएको छ । यो राष्ट्रिय भावयुक्तसँगै आशावादी गीत बनेको छ ।

भिडियोको प्रस्तुतकर्तामा गायिका अनिता चलाउने छिन् । डिभाइन म्युजिकबाट यो भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई उत्सव दाहालले छायांकन र विकास दाहालले सम्पादन गरेका हुन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर