नेकपा विवाद : घुमीफिरी सचिवालय

२०७७ श्रावण ३ शनिबार ०८:३५:०० मा प्रकाशित

स्थायी समिति रोकियो, केन्द्रीय समिति तत्काल नबस्ने

काठमाडौं : नेकपाले शुक्रबार स्थायी समिति बैठक दुईपटक तोक्यो। असार २६ मा एक साता बैठक रोक्ने निर्णय गर्दै नयाँ मिति शुक्रबार बिहान ११ बजेका लागि तय भएको थियो। तर, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल चलिरहेको भन्दै स्थायी समिति सदस्यलाई दिउँसो ३ बजे बैठक बस्ने सन्देश पठाइएको थियो।

अध्यक्ष दाहाल बिहान साढे १० बजेतिर प्रधानमन्त्री ओलीसँग संवादका लागि बालुवाटार पुगेका थिए। दुई नेताबीच अपराह्न १ बजेसम्म कुराकानी भयो। त्यसबीच स्थायी समिति सदस्यले अर्को खबर पाए– बैठक साउन ४ गते दिउँसो ३ बजेसम्म स्थगित।

त्यसो भए अब के त ? घुमिफिरी सचिवालय बैठक। शनिबार सचिवालय बसेर आइतबार मात्रै स्थायी समिति बोलाउनेतिर ओली–दाहाल पुगेको बालुवाटार स्रोतले बतायो।

स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सहमतिकै प्रयासका लागि सचिवालय बैठक बोलाइएको पुष्टि गरे। ‘उहाँहरू (ओली–दाहाल)बीच फेरि सहमतिको एकपटक प्रयास गरौं अनि स्थायी समिति बैठकलाई पनि कसरी टुंग्याउने भन्ने विषयमा छलफल गर्न सचिवालय बसौं भन्ने भएपछि सचिवालय बैठक बोलाइएको हो’, नेता पौडेलले अन्नपूर्णसँग भने।

त्यसो त ओलीले अघिल्लो दिन दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसमक्ष आफूले कुनै पनि पद नछोड्ने, बरु पार्टी स्थायी समिति र केन्द्रीय समिति बैठक ‘फेस’ गर्न तयार रहेको बताएका थिए। ओली शुक्रबार भने विवादित विषय जस्ताको तस्तै केन्द्रीय समितिमा लैजाने विषयमा सहमत देखिएनन्।

बालुवाटार स्रोतका अनुसार ओलीले दाहालसँग सचिवालयमा मिल्ने विषय सचिवालय, स्थायी समितिमा मिल्ने विषय स्थायी समिति र केन्द्रीय समितिमा लैजाने विषय केन्द्रीय समितिमा लैजाने गरी जानुपर्ने प्रस्ताव गरे। तर, विषयलाई स्थायी समितिमा निर्णय नगरी केन्द्रीय समितिमा लैजान नसकिने अडान लिएको स्रोतले जनाएको छ।

बालुवाटारसँग अर्काे सूचना पनि थियो– दाहाल र नेपाल समूहमा रहेको भनिएका उपाध्यक्ष वामदेव गौतम तत्काल प्रधानमन्त्री हटाउने पक्षमा छैनन्। गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा पनि ४ मंसिर २०७६ कै दुई अध्यक्षको कार्यविभाजनकै व्याख्या गरेर जानुपर्ने पक्षमा छन्। यही सूचनाका आधारमा ओली स्थायी समिति र केन्द्रीय समितिभन्दा पनि एकपटक सचिवालय बैठक बोलाएर छलफल गराउन चाहन्थे। दाहालसँग ओलीले भने, ‘अहिले केन्द्रीय समितिभन्दा पनि सचिवालयतिर छलफल गरौं। स्थायी समिति बैठकलाई कसरी समाप्त गर्ने, त्यसको रोडम्याप सचिवालयमा बसेर छलफल गरौं।’

ओलीको यही प्रस्तावपछि दाहाल स्थायी समिति दुई दिन पछि सारेर सचिवालय बोलाउन तयार भएको उच्च स्रोतले जनाएको छ। दुई अध्यक्षले दुई साता लगातार नौपटकभन्दा बढी छलफल गर्दा पनि नेकपाको किचलो मिलेको छैन। नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामाका विषयमा मिलनबिन्दुको छेउटुप्पो फेला पार्न सकेका थिएनन्। जसकारण दाहाल र नेपाल पक्ष अब पार्टी बैठक रोकेरभन्दा पनि विधि र पद्धतिका आधारमा निर्णय लिनुपर्छ भन्ने निष्कर्षमा पुगेका थिए।

दाहाल र नेपालले बिहीबार ओलीसँग संयुक्त रूपमा छलफलअघि अबको कार्यनीति के बनाउने भनेर दाहाल निवासमा सचिवालयका ९ मध्ये ६ नेताको बैठक बसालेका थिए। त्यहाँ उपाध्यक्ष गौतमले ओलीलाई हटाउनै पर्छ तर अहिले सहमति खोजेर नहटाउँदा प्रत्युत्पादक हुन्छ भन्ने धारणा राखेका थिए। एक–डेढ महिना समय लिएर प्रधानमन्त्रीलाई पद छाड्न बाध्य बनाउनुपर्ने उनको धारणा थियो।

गृहमन्त्रीसमेत रहेका थापाले पनि प्रधानमन्त्रीले मान्दै नमानिरहेको बेला कसरी हटाउने भनेर प्रश्न गरेका थिए। हटाउनै सकिन्न भने अरू कुनै विकल्पमा गर्नुपर्ने प्रस्ताव उनले गरेका थिए। ुई अध्यक्षको कार्यविभाजन गरिएको मंसिर ४ को सहमतिअनुसार कार्यकारी परिभाषित गरेर जानुपर्ने उनको धारणा थियो।

अन्य नेताले भने अब सहमति नजुटे स्थायी समितिबाट केन्द्रीय समिति बैठक तोकेर जाने, केन्द्रीय समितिले छिनोफानो लगाउनुपर्ने बताएका थिए। उच्च स्रोतका अनुसार खुमलटारको त्यही निष्कर्षका साथ दाहाल र नेपाल बिहीबार दिउँसो प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। तर, दुवै पक्ष आआफ्नै अडानमा रहे, कुनै सहमति जुटेन।

त्यसपछि दाहाल र नेपालले स्थायी समितिबाट केन्द्रीय समिति बोलाउनुपर्ने प्रस्ताव गरे। ओलीले आफू अडानमा दायाँबायाँ नहुने भन्दै स्थायी समिति र केन्द्रीय समिति फेस गरेर जाने बताए। केन्द्रीय समितिमा विवाद लैजाने सहमतिपछि ओली पक्ष बालुवाटार र दाहाल–नेपाल पक्ष खुमलटारमा छलफल बसे। बिहान फरक धारणा राखेका गौतम र थापा भने खुमलटार गएनन्। बालुवाटारमा भने ओली पक्षका नेताले स्थायी समिति बैठकमा टुंगो नलगाई केन्द्रीय समितिमा विवाद लैजान नहुने धारणा राखे।

संसदीय दलका उपनेता सुवास नेम्बाङलगायत नेताले केन्द्रीय समितिमा सिधै जाने कुरा सही नहुने बताए। सचिवालय, स्थायी समितिमै सकभर विषय मिलाउनुपर्ने मत उनीहरूले राखेका थिए। ‘तत्कालीन एमालेको महाधिवशेनले निर्वाचित गरेर ल्याएको १३५ र माओवादीतर्फका पनि करिव १ सय वरिपरि ल्याएर केन्द्रीय समिति बनेको भए फरक कुरा, बहस गरौं। तर, प्राविधिक ढंगले केन्द्रीय समिति बनाएर राजनीतिक कुरालाई त्यसरी बहुमत, अल्पमत गरेर जाने कुरालाई मान्न नहुने धेरै नेताको मत थियो’, ओली पक्षका एक नेताले अन्नपूर्णसँग भने, ‘राजनीतिक विषयमा कुरा परेको छ, संगठनात्मक ढंगले कुरा गरेर मात्र मानिँदैन भन्ने
मै छलफल केन्द्रित थियो।’

त्यसपछि शुक्रबार बिहान दुई अध्यक्षबीच कुरा गर्ने योजना बन्यो। ओलीनिकट नेताको सुझावकै आधारमा बिहान दाहाललाई बालुवाटारबाट छलफलका लागि निम्तो गयो। त्यसपछि वरिष्ठ नेता नेपाललाई आफ्नै निवासमा बोलाएर छलफल गरी ओली भेट्न दाहाल बालुवाटार पुगेका थिए।

स्थायी समिति बसेर केन्द्रीय समितिको मिति तोक्नेतिर नगई सचिवालयतिर फर्किएपछि दाहालले बाटोमै वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष गौतमसँग भेट गरे। उपाध्यक्ष गौतमका छोरा हरिशको नागपोखरीस्थित कार्यालयमा दाहाल, गौतम र खनालबीच छलफल भएको थियो। त्यसपछि दाहालले वरिष्ठ नेता नेपाललाई भने कोटेश्वरमा भेट गरे। ओलीसँगको छलफल ब्रिफिङ गरे। अब शनिबार दिउँसोलाई नेकपाले सचिवालय बैठक बोलाएको छ।

तर, बैठकमा के एजेन्डामा केन्द्रित रहेर छलफल गर्ने भनेर नेताहरूलाई जानकारी दिइएको छैन। केही सदस्यले छलफलको एजेन्डा माग गरे पनि अध्यक्ष र महासचिवले कुनै एजेन्डा दिएका छैनन्। ‘सचिवालयको एजेन्डा के भन्ने अहिलेसम्म प्राप्त हुन सकेको छैन’, एक सचिवालय सदस्यले भने।

गत वैशाख १७ गते सचिवालय बैठकमा पनि नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए। तर, ओलीले गौतम र थापालाई साथ लिएर आफ्नो संकट टारेका थिए। अहिले पनि ओली गत वैशाख २० गतेको बैठकमा आफ्नो बहुमत देखाएजस्तै गौतम, थापालाई आफूतिर तान्ने, निर्णय प्रक्रियाबाट बच्ने उपायको खोजीमा लागेको देखिन्छन्।

पार्टीमा महासचिव विष्णु पौडेलले पनि दुवै पद ओलीले नछोड्ने गरी नै कुनै न कुनै भूमिकामा सहमति जुटाउन प्रयास गरिरहेका छन्। उनले शुक्रबार साँझ उपाध्यक्ष गौतमलाई भेट गरेको एक नेताले बताए। यी छलफल शनिबारको सचिवालयमा नेताहरूबीच सहमतिको प्रयासका लागि भएको बताइएको छ।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर