पहिरोले ट्रक पुरियो, सिद्धार्थ राजमार्ग अवरुद्ध

२०७७ श्रावण ३ शनिबार ०८:१२:०० मा प्रकाशित

सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ। बिहिबार राति १०ः३० बजे गौडे पुल नजिकै पहिरो खस्दा सडक बनेको हो।

पहिरो खसेको स्थानमा फसेको लु १ क ११७५ नम्बरको ट्रक पुनः पहिरो आइ पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए। उनले पहिरो खसेको स्थानमा रहेका ट्रक बचाइ ब्याक गर्ने क्रममा नालामा फसेको अवस्थामा पुरिएको बताए।

सो क्रममा कुनै मानवीय क्षति भए नभएको यकिन भएको छैन। ट्रक पुरिएको अवस्थामा पछाडिको अलिकति भागमात्र देखिएको प्रनाउ गिरीले बताए। उनी भन्छन्, ‘सडक सुचारु गर्नको लागि दुईतर्फबाट जेसिबी लगाउने तयारीमा छौं। सडक सुचारु हुन ४÷५ घण्टा निरन्तर काम गर्दा पनि लाग्न सक्छ।’

माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खसेकाले डोजर लगाउन सडक सुचार गर्न केही समय लाग्ने भएको छ। बिहिबार पनि पहिरो सफा गरेको र यो पहिरो खस्ने क्रम नरोकिएकोले जोखिम भने कायमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनले भने, ‘दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ। पानी पर्नासाथ फेरि खस्ने जोखिम कायमै छ।’ राजमार्गको डुम्रे गौडेपुल नजिकैको भीरबाट बुधबार पनि पहिरो खसेर बिहिबार पनि सडक अवरुद्ध भै साँझमात्र सञ्चालनमा आएको थियो।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेका यात्रु इश्वर काफ्लेले जतिबेला पनि पहिरो खस्ने जोखिम कायमै रहेको र पहिरो सफा गर्न २ दिन लाग्न सक्ने देखिएकोले आफूहरू बुटवलतर्फ नै फर्किएको बताए। ‘नदेखिने गरी माथिल्लो भागबाट पहिरो खसेको छ,’ उनले भने, ‘पानी पर्ने हो भने यहाँको यात्रा कठिन हुनसक्छ।’
(नागरिक न्युजबाट)

ताजा खबर