डुबानबारे छलफलका लागि नेपाल-भारत संयुक्त समिति बैठक बोलाउन मन्त्रीको निर्देशन

२०७७ श्रावण ३ शनिबार ०७:५६:०० मा प्रकाशित

काठमाडौँ — भारतले सीमावर्ती क्षेत्रमा निर्माण गरेका बाँधले हुने नेपाली भूमिको डुबानबारे दुई देशको संयुक्त समितिमा छलफल गर्न ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निर्देशन दिएका छन् । नेपाली भूमि डुबानबारे 'बाढी तथा डुबान व्यवस्थापन सम्बन्धी नेपाल–भारत संयुक्त समिति (जेसीआइएफएम)' को बैठक बोलाएर छलफल गर्न मन्त्री पुनले मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका हुन् । 

 

मन्त्रालयमा शुक्रबार भएको बैठकमा उनले दुई देशबीचको संयुक्त संयन्त्रको बैठक बोलाउन पहल थाल्न भनेका हुन् । 'बाढी र डुबानका कारण तराई क्षेत्रमा समस्या बढेको छ’, मन्त्री पुनले बैठकमा भने, ‘समस्या समाधानका लागि तत्काल भारतीय पक्षसँग सम्पर्क गरेर जेसीआइएफएमको बैठक बोलाएर छलफल गर्नुपर्छ ।’

दुवै देशका सहसचिव रहने समितिको नेतृत्व नेपालका तर्फबाट सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्ने मन्त्रालयले जनाएको छ । नियमित कार्यतालिकाअनुसार जेसीआइएफएमको बैठक हरेक वर्ष नोभेम्बर महिनामा बस्ने गरेको सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रथान श्रेष्ठले जानकारी दिएका थिए । ‘नियमित बैठक नोभेम्बरमा बस्ने हो’, श्रेष्ठले भने, ‘मन्त्रीबाट निर्देशन भएअनुसार हामी तत्काल वार्ताका लागि भारतीय पक्षलाई खबर गछौं ।’ भारतीय पक्षसँग अनौपचारिक तहमा भने समस्या समाधानबारे कुराकानी भइरहेको जानकारी दिएका थिए ।

यसअघि गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा भारतीय बाँधका कारण नेपालमा बर्सेनि डुबान भइरहेको बताएका थिए । संसदीय समिति बैठकमा उनले त्यसको समाधानका लागि भारतसँग छलफल गर्नुपर्ने बताएका थिए ।

भारतले नेपालसँगको सीमामा समानान्तर हुनेगरी सडक लगायतका संरचना निर्माण गर्दा तराईका अधिकांश जिल्ला डुबानमा पर्ने गरेका छन् । भारतीय बाँधका कारण रौतहट जिल्ला सबैभन्दा बढी डुबानमा पर्ने गरेको सरकारी अधिकारीले जनाएका छन् ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर