२४ घन्टामा थपिए १०१ जना कोरोना संक्रमित, २८५ डिस्चार्ज

२०७७ श्रावण ३ शनिबार ०७:५०:०० मा प्रकाशित

काठमाडौँ — मुलुकमा थप १०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

 

उनका अनुसार सोही अवधिमा २८५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ११ हजार ५३४ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । यो ६६ दशमलब १२ प्रतिशत हो ।

नेपालमा संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काेराेनाबाट थप एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीको राजविराज नगरपालिकाका ७३ वर्षीय वृद्ध भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । याेसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

जिल्लागत तथ्यांकअनुसार संक्रमित हुनेमा सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका १, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, बाराका २, मकवानपुरका १, नवलपरासी पूर्वका ३, रौटहटका ८, सिन्धुलीका १, काभ्रेपलाञ्चोकका १, काठमाडौं १, पाल्पाका १, लमजुङका २२, तनहुँका ७, बर्दियाका १०, दाङका ५, रोल्पाका १३ ,रुपन्देहीका १, सल्यानका १, रुकुम पश्चिमका १, डडेलधुराका १, बझाङका १ र डोटीका १ जना रहेका छन् ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ९८ हजार ८२९ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ४ हजार ६ सय ८८ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार ७५६ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ८७१ जना रहेको छ ।

हालसम्ममा आरटी पीसीआर विधिबाट ३ लाख ८ हजार ४९८ परीक्षण गरिएको छ ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर