कोरोनासँग अभ्यस्त नेपाली प्रतिगमन नगर्ने मनस्थितिमा

२०७७ श्रावण २ शुक्रबार ०८:४७:०० मा प्रकाशित

जुन दिनदेखि विद्यालयमा दूर पद्धतिबाट समेत पठन–पाठन बन्द भयो, सोही दिनदेखि सार्वजनिक सवारीसाधन साझा यातायातले काठमाडौं उपत्यकामा सेवा शुरू गरेको छ । साउन १ गतेको यस सन्दर्भले कोभिड–१९ का कारण सिर्जित संक्रमणकालीन मनस्थिति र त्यससँगै सहयात्रा गर्ने तत्परता देखाउँछ ।

अन्तर्राष्ट्रिय मौद्रिक कोषले जानकारी गराएअनुसार विश्वमै कोरोना भाइरसले आर्थिक गतिविधिमा ठूलो असर पारेको छ । ३० जनवरीमा कोभिडको पहिलो बिरामी भेटिएको छिमेकी भारतले करिब दुई महिनापछि २४ मार्चदेखि बन्दाबन्दी शुरु गरेर पनि २५ हजार नागरिक गुमाइसकेको छ । बन्दाबन्दीले भन्दा सतर्कताले कोरोना संक्रमण नियन्त्रण गर्नसकिने पाठ सिकेको छिमेकीले यतिखेर ‘सतर्कता अपनाऊ व्यवसाय चलाऊ’ को नीति अख्तियार गरेको देखिन्छ ।

अधिक परिमाणमा संक्रमितहरू भारत हुँदै स्वदेश प्रवेश गरेको अनुभव सँगालेको नेपालले पनि त्यस्तै नीति अख्तियार गर्दै जोर–बिजोर नम्बरका आधारमा निजी सवारी चल्न दिइरहेको छ भने केही उद्योग–व्यवसाय पनि सतर्कताको मापदण्ड अपनाउँदै खुलेका छन् । तर, आर्थिक गतिविधिमा भने निरन्तर तीव्र गिरावट देखिएको छ ।

नेपालमा भारतमा भन्दा एक साताअघि नै कोरोना भाइरसको बिरामी देखिएका थिए । बिहीबारसम्म मृतकको संख्या ३९ रहेको र संक्रमित १७ हजार भए पनि निको भएर घर फर्किनेको परिमाण १२ हजार पुगेका कारण बढी चिन्ताको अवस्था देखिँदैन । पाँच महिनाको अवधिमा देखिएको यस संख्यालाई त्रासदीय मान्नु आवश्यक पनि छैन ।

यही साउन ७ गतेसम्मको लकडाउनपछि सरकारले लिने नीतिले काममा निस्कन तयार नागरिकको मनस्थितिलाई ख्याल गर्ने र सतर्कताका साथ दैनन्दिनीमा जुट्ने र जीवन सामान्यीकरणतिर लाने अपेक्षा गरिएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको प्रक्षेपणअनुसार राष्ट्रिय–अन्तर्राष्ट्रिय आवागमन नियन्त्रित रहेका कारण पर्यटन व्यवसाय ठप्प भएको र अन्य कारोबार पनि अवरुद्ध भएकाले आर्थिक वृद्धिदर २.३ मा सीमित हुनेछ, जबकि सामान्य अवस्थामा ७.१ को आस गरिएको थियो ।

यस पृष्ठभूमिका दूर पद्धतिको प्रयोग गर्दै कम्तीमा बालबालिका र युवालाई घरमै शिक्षा दिइरहेका विद्यालयहरू पठन–पाठन बन्द गराउन बाध्य हुनु दुर्भाग्यपूर्ण छ । अभिभावकसँग शुल्क माग्न नपाउने सरकारी निर्देशनको विराध गर्दै निजी विद्यालय सञ्चालकहरुले अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका हुन् । प्याब्सन र एनप्याब्सनले बिहीबारदेखि देशभर अनलाइन र दूरशिक्षाको पठनपाठन रोकेपछि विद्यार्थीको भविष्यमा असर पर्ने देखिएको छ ।

शिक्षक, कर्मचारीलाई समेत बेतलबी घर बिदामा राख्ने निर्णय सञ्चालकहरुको छ । सरकारले घोषणा गरेसँगै गत असार १ गतेदेखि निजी विद्यालयहरुले पनि अनलाइन, रेडियो र टेलिभिजनका माध्यमबाट वैकिल्पक कक्षा सञ्चालन गर्दै आएका थिए ।

विद्यार्थी भर्ना गरेर वैकल्पिक कक्षाको न्यूनतम शुल्क लिन पाउनुपर्ने माग उनीहरुको थियो । शिक्षा मन्त्रालयले आफ्ना मागहरुलाई बेवास्ता गरेका कारण विद्यालय बन्द गर्ने निर्णय लिनुपरेको भन्दै सञ्चालकले आफ्नो बचाउ गरेका छन् । सरकारले भौतिक उपस्थितिमा नै विद्यालय र पठनपाठन सुचारु गर्ने निर्णय गरेपछि मात्रै कक्षा सञ्चालन गरिने प्याब्सन, एनप्याब्सनले प्रस्ट पारेका छन् । साथै विद्यालय खुलेपछि मात्रै २०७७ वैशाखदेखि असारसम्मको तलब सुविधा शिक्षक कर्मचारीलाई प्रदान गरिने उनीहरुको घोषणा छ । गएको चैत ५ गतेदेखि विद्यालय बन्द भएका कारण अधिकांश निजी विद्यालयले शिक्षक–कर्मचारीलाई तलब दिएका छैनन् ।

अहिले शिक्षा मन्त्रालयले निजी विद्यालयलाई सहुलियत दिने वा शुल्क उठाउन पाउने व्यवस्था गर्ने प्रस्ताव कोरोना रोकथाम उच्चस्तरीय समिति (सीसीएमसी) मा लगेको छ । त्यसमा कम जोखिममा रहेका स्थानमा सावधानी अपनाएर सामुदायिक विद्यालयसमेत खोल्न सकिने प्रस्ताव छ । तर, सीसीएमसीले कुनै निर्णय गरेको छैन ।

यसैबीच सरकारी लगानीको साझा यातायातले उपत्यकाका धेरैजसो रुटमा २६ वटा बस सञ्चालन गरेको छ । सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गरिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले जानकारी दिनुभएको छ । बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन शुरु भएको, यात्रुले बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने र खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्ने व्यवस्था मिलाएको जनाइएको छ ।

२०१८ सालदेखि ‘सर्वसाधारण जनताको निमित्त सस्तो, सुलभ र भरपर्दो, जनप्रिय, विश्वसनीय यातायात सेवा सञ्चालन गर्ने मूल उद्देश्य’ का साथ सञ्चालित साझा यातायात सार्वजनिक सवारी सञ्चालनमा दृष्टान्त हुन सक्छ । कोरोना पूर्णतः शून्यतिर झरेपछि व्यवसाय सञ्चालनमा जाने सोच व्यावहारिक छैन, यस तथ्यलाई बैंकिङ क्षेत्रले पनि आत्मसात् गर्दै निक्षेपमा ब्याजदर घटाएर आफूलाई कोरोना सँगसँगै अघिबढाउने मनस्थिति बनाएको छ । विस्तारै परिस्थिति कोरोनासँग सहकार्य गर्ने दिशातिर अघि बढेको छ । विद्यालयलाई पनि सहकार्यका तागि तयार राख्नुको विकल्प छैन । कोरोनासँग अभ्यस्त नेपाली पछाडि फर्किने मनस्थितिमा देखिंदैनन् ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर