१०४ वर्षीया वृद्धाले अस्पताल नगइकनै जितिन् कोरोना

२०७७ श्रावण २ शुक्रबार ०८:३७:०० मा प्रकाशित

लण्डन : म्यानमार मूलकी १ सय ४ वर्षीया बेलायती महिला कोरोना संक्रमणबाट चमत्कारिक रुपमा ‘रिकभर’ भएकी छन् ।

बेलायतको केन्टमा बस्ने ती वृद्धाले अस्पताल समेत नगइ घरमै बसेर कोरोनालाई जितेकी हुन् । घरमा आफू बसेको क्षेत्रमा कोरोना संक्रमणले व्यापक रुप लिएपछि उनी सावधानी अपनाउँदै घरमै बसेर उपचार गरेकी थिइन् ।

परिवारका सदस्यहरुका अनुसार उनी ओछ्यानबाट उठ्न समेत सकेकी थिइनन् । साथै स्वास फेर्न गाह्रो भएको बताइएको छ । तर अहिले पूर्ण रुपमा उनलाई निको भइसकेको बताइएको छ । साथै नियमित व्यायाम गर्ने गरेको उनी बताउँछिन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार ग्रेस ग्रिनउड नाम गरेकी ती महिला पहिले नर्स पेशामा थिइन् । त्यसबेला उनले भारतमा समेत रहेर काम गरेकी थिइन् । १९४६ मा बेलायत पुगेकी हुन् । उपचारपछि उनको साथमा उनकी नातिनीले स्वास्थ्य निगरानी गरिरहेकी छन् ।

नातिनीका अनुसार ग्रेस साहसी महिला भएकाले उनले कोरोना संक्रमणलाई जित्न सफल भएकी हुन् । कोरोना भइसकेपछि पनि उनले आफूलाई सामान्इ रुपमा प्रस्तुत गरेको नातिनीले बताएकी छन् ।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर