तीन वर्षपछि जित्यो रियलले ला लिगा उपाधि

२०७७ श्रावण २ शुक्रबार ०७:३२:०० मा प्रकाशित

म्याड्रिड — शुक्रबार बिहान भिल्लारियललाई २–१ ले हराउँदै रियल म्याड्रिडले स्पेनी ला लिगाको उपाधि जितेको छ । रियल म्याड्रिडले ३ वर्षपछि ला लिगाको उपाधि जितेको हो । लिगमा एक खेल बाँकी रहँदै रियलले उपाधि जितेको हो । योसँगै रियलले ला लिगामा ३४औं उपाधि हात पारेको छ  ।

रियलका लागि दुवै गोल करिम बेन्जेमाले गरेका थिए । रियले २९औं मिनेटमा पहिलो गोल गरेको थियो भने ७७औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए । भिल्लारियलका लागि भिसेन्ट इबोराले ८३औं मिनेटमा एक गोल फर्काएका थिए ।

रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ३ वर्षपछि ला लिगा जित्दा च्याम्पियन्स लिग जित्दाभन्दा पनि खुसी भएको प्रतिक्रिया दिएका छन् । रियलले जुनदेखि स्पेनी फुटबल सुरु भएयताका सबै १० खेल जितेको छ ।

शुक्रबार बिहानै भएको खेलमा बार्सिलोना भने ओसासुनाको हातबाट पराजित भएको छ । ओसासुलाले बार्सिलोनालाई २–१ ले हराएको छ । ओसासुनाका लागि १५औं र इन्जुरी समयमा रोबर्टो टोरेसले गोल गरेका थिए भने बार्सिलोनाका लागि लियोनल मेसीले ६२औं मिनेटमा गोल गरेका थिए ।

३७ खेलको समाप्तिमा बार्सिलोना ७९ अंकसहित दोस्रो स्थानमा छ भने रियलको ८६ अंक छ ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर