टोटनह्यामका लागि केनको २ सय गोल

२०७७ श्रावण १ बिहीबार १०:१४:०० मा प्रकाशित

काठमाडौं । इग्लिस प्रिमियर लिगमा टोटनह्याम हट्सपरले न्युक्यास युनाईटेडलाई ३–१ ले पराजित गर्दा ह्यारी केनले दुई सय गोलको आकडा पार गरेका छन् । केनले टोलीका लागि अलिहेसम्म २ सय १ गोल गरिसकेका छन् । अंक तालिकाको सातौं स्थानमा रहेको टोटनह्यामका लागि केनले २ तथा सन हिउङ मिनले १ गोल गरे ।

गएराति नै भएको खेलमा लिग विजेता लिभरपुललाई आर्सनलले पराजित गरेको छ । आर्सनलको मैदानमा २–१ ले पराजित भएसँगै च्याम्पियन लिभरपुलको यो सिजनमा सय अंक जोडेर कीर्तिमान बनाउने लक्ष्य टुटेको छ ।

आर्सनललाई विजयी गराउन फ्रेन्च स्ट्राईकर अलेक्जेण्डर लाकाजेट् र रेइस नेल्सनले एक एक गोल गरे । खेलमा सादियो मानेले एक गोल गर्दै लिरभपुललाई सुरुवाती अग्रता दिलाएपनि टोलीलाई जिताउन भने सकेनन् ।

गएराति भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई २–१ ले हरायो । सिटीका लागि डेभिड सिल्भा र ग्याब्रियल जिससले एक एक गोल गरे । बर्नमाउथका डेभिड ब्रुक्सले एक गोल फर्काए ।

प्रिमियर लिगमा गएरातिका खेलहरुपछि च्याम्पियन लिभरपुलले ३६ खेलबाट ९३ अंक जोडेको छ । समान खेलबाट ७५ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको चेल्सीको ६३ अंक छ । एक खेल कम खेलेका लेष्टर सिटी र म्यान्चेस्टर युनाइटेडको भने ५९ अंक रहेको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर