कांग्रेसले भन्‍यो : प्रधानमन्त्री पद कसैको सनकको कैदी बन्‍न मिल्दैन

२०७७ श्रावण १ बिहीबार ०९:२२:०० मा प्रकाशित

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिबारे प्रश्न उठाएको छ। बुधबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले गम्भीर प्रश्न उठाएको जनाएको छ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनैतिक आधार उहाँले गुमाएको थप पुष्टि हुन्छ’ जारी विज्ञप्तिमा भनिएको छ ‘पछिल्लो समय देशमा देखिएको विविध परिदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरुले केही गम्भीर प्रश्न सृजना गरेका छन्। प्रतिपक्षी दलका तर्फबाट सार्वजनिक प्रश्न गर्नु हाम्रो कर्तब्य भएको छ-देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरुले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी?’

प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर ब्यक्तिगत सनकको कैदी बन्न नमिल्ने कांग्रेसले जनाएको छ। संस्थागत जिम्मेवारीभन्दा अलग निर्दलिय आधिपत्य प्रधानमन्त्री पदमा संविधानले परिकल्पना नगरेको कांग्रेसले उल्लेख गरेको छ। 'अतः प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र व्यवहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्रीनै बदल्ने, उहाँकै दल नेकपाको बिषय हो' जारी विज्ञप्तिमा भनिएको छ 'तर दुई प्रश्न, देशको प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो/होइन? संस्थागत प्रस्टीकरण अनिवार्यसँग आवश्यक भएको छ।'

आजको परिस्थितिमा प्रधानमन्त्रीको दायित्व एकातर्फ, व्यवहार अर्कातर्फ हुनु देशका लागि दुर्भाग्य भएको कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ।

कांग्रेसले विज्ञप्तिमाफत सोधेको चार प्रश्न यस्ता छन्
- बाढी-पहिरोमा कयौंको मृत्यु भएको बेला देशको प्रधानमन्त्रीको दायित्व के हुन्छ र के हुनुपर्दछ? केवल समवेदनाको एक वक्तव्य?
- कोरोना महामारीका बेला देशको प्रधानमन्त्रीको दायित्व के हुन्छ कयौंको मृत्यु र हजारौं संक्रमित भएको विवरण बहिखातामा सारेर बस्ने तर समय सदुपयोग गरेर युद्धस्तरमा तयारी नगर्ने? 
- सर्वसम्मतिले देशको नयाँ नक्सा संसदबाट जारी भएपछि प्रधानमन्त्रीको दायित्व के हुन्छ? गम्भीर कुटनैतिक पहलकदमी गर्ने कि नक्सालाई सत्ता राजनीतिको व्यक्तिगत हतियारका रूपमा   उपयोग गर्ने?
- नक्सा अनुरुपको जमिनमा हक स्थापित गर्न गम्भीर कुटनैतिक पहलकदमी भन्दा अयोध्याबारे विवादास्पद मत व्यक्त गर्नुको अर्थ बिषयको गम्भीरताप्रति प्रधानमन्त्री गम्भीर हुनुहुन्न् भन्ने पुष्टि  त भएको छ नै अपरिपक्व टिप्पणीमार्फत उहाँले संवेदनशील बिषयमा असंवेदनशील ब्यवहार प्रस्तुत गर्नु भएको छ।
(अन्नपूर्ण पोष्टबाट)

ताजा खबर