सभापतिले महाधिवेशन प्रभावित गर्न लागे

२०७७ श्रावण १ बिहीबार ०८:४२:०० मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गतिविधी गर्न लागेको नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षको बुझाइ छ । पौडेल पक्षीय नेताहरुको बुधवार अनामनगरमा भएको भेलाले सभापति देउवा पक्षले विभिन्न पार्टीबाट आएको नाममा जथाभावि क्रियाशील सदस्यता वितरण गर्न लागि परेको आरोप लगाएका हुन् ।

असन्तुष्ट पक्षले विभाग गठन, जनसम्पर्क अमेरिका र बेल्जीयममा पनि संस्थापनले मनपरी गरेको निष्कर्ष निकालेको छ । त्यस्तै, अनुशासन समितिको नाममा अर्को पक्षलाई तर्साउने काम भइरहेको जानकारी दिंदै बैठकमा सहभागि एक नेताले भने, ‘अन्य पार्टीबाट आएको नाउमा सभापतिले धेरै जिल्लामा क्रियाशील सदस्यता दिन लागि पर्नु भएको छ । त्यसलाई रोक्नुपर्छ ।’  

पार्टी सदस्यता वितरण गर्नेसहितका विषयमा सभापति देउवाको लिखितरुपमा ध्यानाकर्षण गराउने  तयारी गरेको छ । बिहीबार बिहान नेता पौडेल, महामन्त्री शशांक कोइरालासहितका नेताहरूले ध्यानाकर्षणपत्रलाई अन्तिमरुप दिनेछन् ।‘ध्यानाकर्षणपत्रलाई बिहान बसेर नेताहरुले अन्तिमरुप दिनुहुन्छ,’ स्रोतले भन्यो, ‘सभापतिलाई भेटेर दिने वा पार्टी कार्यालयमा दर्ता गर्ने भन्ने पनि बिहान मात्र टुंगो लाग्छ ।’

भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शाशंक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अजुर्ननरसिंह केसी, मीनेन्द्र रिजाल, दीलेन्द्रप्रसाद बडु लगायतका नेताहरु सहभागि थिए ।
(नागरिक न्युजबाट)

ताजा खबर