पिण्डेश्‍वर धाममा यसवर्ष बोलबम धार्मिक मेला नलाग्‍ने

२०७७ श्रावण १ बिहीबार ०८:०९:०० मा प्रकाशित

सुनसरी — कोरोना महामारीका कारण धरानको विजयपुरस्थित पिण्डेश्‍वर बाबाधाममा यसवर्ष बोलबम धार्मिक मेला नलाग्‍ने भएको छ ।

मठमन्दिरमा बोलबम भक्तजनको भिडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले इतिहासमै पहिलो पटक पिण्डेश्‍वर बाबाधाम बन्द गरिएको हो ।

पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले कोरोना महामारीपछि सरकारले मठमन्दिर नखोलेको र आफूहरुले पनि बोलबम धार्मिक मेलामा सहभागी हुन कसैलाई नबोलाएको बताए । उनले भने, ‘धरानमा रहेको पिण्डेश्वर बाबाधाममा साउन महिनाभरी जल चढाउने भक्तजनहरुले गर्दा पुरै सहर गेरु बस्त्रधाधारीले भरिएको हुन्थ्यो । धार्मिक पर्यटनमा टेवा पुगेको थियो । तर यसपटक मन्दिर बन्द गर्ने अवस्थामा छौं ।’

पिण्डेश्वर बाबाधामलाई पशुपतिनाथ मन्दिर भन्दा पुरानो मानिन्छ । मन्दिरको शिवलिंगमा बराहक्षेत्रस्थित कोका नदी र सप्तकोशीको संगमस्थलको पानी चढाएमा आफ्नो मनोकांक्षा पूरा हुने विश्वास भक्तजनहरुले गर्दै आएका छन् ।

उनले पञ्चाङ्ग पात्रोको तिथि अनुसार असार २२ गतेदेखि साउन लागि सकेकाले मन्दिरको गर्भगृहमा रहेको शिव लिङ्गमा जल चढाउने भक्तजनहरु फाट्टफुट्ट आउने गरेपनि मन्दिरको ढोका बन्द गरिएकाले दर्शन गर्न नपाएपछि बाहिरैबाट नमस्कार गरेर फर्कने गरेको बताए ।

२०३९ साल साउनदेखि नियमित रुपमा बोलबम धार्मिक मेला लाग्दै आएको थियो । पाल्पा, पोखरा, वीरगन्ज, बाग्लुङ, स्याङ्जादेखि छिमेकी मुलुक भारत, भुटानका विभिन्न प्रान्तका भक्तजनहरु पनि जल चढाउन आउने गरेका थिए । धरानबाहिरबाट आएका भक्तजनहरुले स्थानीय पसलहरुबाट गेरु बस्त्र र रुद्राक्षको माला किनेर लैजादा लाखौंको आर्थिक कारोबार हुने गरेको थियो ।

सरकारले साउन ९ गते सम्म लकडाउन घोषणा गरेको छ । सरकारले ९ गते पछि लकडाउन खोल्यो भने पुर्नविचार गरेर खोल्न सक्ने सम्भावना भने रहेको बनेपालीले बताए । उनले सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि धरानको पिण्डेश्वर बाबाधामसहित बुढासुब्बा, दन्तकालीलगायत प्रमुख मठमन्दिरहरुमा नियमित पूजा अर्चना बन्द गरिएको छ ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर