मेलम्ची सुरुङ : सात दिन पनि टिकेन अडिटको मुख्य गेट, पुगेन प्राविधिक टोली

२०७७ श्रावण १ बिहीबार ०७:५८:०० मा प्रकाशित

इन्जिनियरको शव भेटियो, चालक अझै बेपत्ता

सिन्धुपाल्चोक — मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ मार्गभित्रको गेट फुटेको दुई दिन भइसक्दा पनि जाँचबुझका लागि मन्त्रालयको प्राविधिक टोली आइपुगेको छैन । परीक्षणको साता दिन नपुग्दै मंगलबार हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथान अडिटको मुख्य गेट (गेट नम्बर १७) फुटेको थियो ।

 

सुन्दरीजल पुग्ने मेलम्चीको सुरुङसँग जोडिएको अम्बाथान अडिट फुटेर फर्किएको बाढीले क्षतिग्रस्त बनेका हेडवर्क्सस्थल र अडिटजस्ता संरचनामा बुधबार दिनभरको वर्षाले थप क्षति पुर्‍याएको छ । आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले घटना कसरी भयो भन्नेबारे प्राविधिकले जाँचबुझ गरेपछि मात्रै भन्न सकिने बताए । ‘कसरी अम्बाथान गेट फुट्यो भन्नेबारे म पनि अनभिज्ञ छु, प्राविधिकको टोली बिहीबार आएर सबै जाँचबुझ गर्नेछन् अनि मात्रै यथार्थ कुरा आउनेछ,’ उनले भने । उनका अनुसार अम्बाथानमा जस्तै महत्त्वपूर्ण गेट ग्याल्थुम, सुन्दरीजल र सिन्धुमा पनि बनाइएका छन् ।

अब आयोजनाले सुरुङमा पानी छिराउने काम सुरुदेखि नै गर्नुपर्ने भएसँगै पानी राजधानी पुग्ने समय लम्बिएको छ ।

आयोजनाले बुधबार बिहानैबाट मुख्य सुरुङको मुख बन्द गरी बाँधस्थल खोलेर खोजी तीव्र पारेको थियो । बेपत्ता दुईमध्ये एक जनाको शव फेला परेको छ । बुधबार दिउँसो इन्द्रावती खोलाको बाहुनेपाटीमा जनकपुरका इन्जिनियर सतिश गोहितको शव फेला परेको प्रहरीले जनाएको छ । आयोजनामा कार्यरत सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापामगर भने अझै बेपत्ता छन् ।

सुरुङभित्र गेट नम्बर १७ मा पानी पठाएलगत्तै पानीको चाप र प्रेसर परीक्षण गर्न बा१झ १७६४ नम्बरको स्कोरपियो गाडी लिएर गएका दुई इन्जिनियरसहित हेल्पर र प्राविधिक बाढीले बगाएर बेपत्ता भएका थिए । ‘परीक्षण सकेर फर्किएका चारै जनालाई अडिटको मुख्य गेट फुटेर आएको बाढीले बगाएको हो,’ प्रमुख खत्रीले भने ।

इन्जिनियर गोहितको शव भेटिएको स्थान वरपर प्रहरीले मगरको पनि खोजी गरिरहेको छ । घाइते भएका साइट इन्जिनियर शेखर खनाल र सबहेल्पर पेम्बा लामाको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

पछिल्ला दिन आयोजनामा ‘रिभिनिङ पार्ट’ र गेट नम्बर १७ लाई पूर्वतयारी राख्नेदेखि अन्य संरचनालगायतका काम भइरहेको थियो । मुख्य टनेललाई फिलिङ गर्दै लगेर अन्य काम अगाडि बढिरहेको थियो । सुन्दरीजलसम्म पानी लैजानका लागि महत्त्वपूर्ण मानिने अन्य तीनवटा गेटजस्तै गेट नम्बर १७ लाई पनि बलियोसँग लगाउनका लागि तीन साता लाग्ने मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको थियो ।

आयोजनास्थलमा कार्यरत केही प्राविधिकको अनुमानअनुसार गेट नम्बर १७ मा आवश्यकताभन्दा बढी चापको पानी पठाएकाले (बालुवा थिग्य्राउने गेट) फुटेर अडिट सुरुङतर्फ नै पानी फर्किएको हो । सुरुङभित्रको गेटसम्म पुगेर वेगसँग अम्बाथान अडिटबाट फर्किएको बाढीले बाहिरको हेडवर्क्सस्थल लगायतका वरिपरिको अधिकांश संरचना ध्वस्त बनाएको छ । बाढीमा डुबेका सबै उपकरण निकालेर सुरक्षित गरिएको आयोजनाका कर्मचारीले बताएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको अम्बाथान अडिट जोड्ने गेट फुटेपछि मुहानस्थल र सुरुङको निरीक्षणमा पुगेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सुरुङको ५ सय मिटर भागमा जताततै पानी चुहिएर बाहिर निस्केको देखिएको बताए । ‘भित्री सुरुङ पनि कमजोर छ, गेट मात्रै होइन, सुरुङ नै भत्केको हो कि जस्तो देखिएको छ, यसबारे गहन अनुसन्धान होस्,’ उनले भने ।

काम छोडेर हिँडेको इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी सिमेन्तेस्टी दी रेभेना (सीएमसी) ले मापदण्डविपरीत अल्कालीको मात्रा शून्य दशमलव ६ भन्दा माथि रहेको सिमेन्ट सुरुङ निर्माणमा प्रयोग गरेको थियो । इन्जिनियरिङ स्पेसिफिकेसनअनुरूप अल्कालीको मात्रा शून्य दशमलव ६ भन्दा तल भएको सिमेन्ट मात्रै प्रयोग गर्न सकिनेछ । ‘त्यसबेला सीएमसीले मापदण्डविपरीतको सामग्री प्रयोग गरेर बनाएको थियो, त्यसैले पनि सुरुङ कमजोर बनेको हुन सक्छ,’ अध्यक्ष शेर्पाले भने ।
(कान्तिपुर अनलाइनबाट)

ताजा खबर